राजनीति


माओवादीसँगको एकताबारे नेकपाले केन्द्रीय समितिबाट जवाफ दिने, भदौ २२ गते बोलाइयो बैठक

नेकपाको ठहर : प्रचण्ड–जनार्दन संघर्ष प्राविधिक र आन्तरिक विषय
माओवादीसँगको एकताबारे नेकपाले केन्द्रीय समितिबाट जवाफ दिने, भदौ २२ गते बोलाइयो बैठक

नेकपाको सोमबार साँझपख बसेको स्थायी समितिको अनौपचारिक बैठक। तस्बिरः खड्गबहादुर विश्वकर्मा


नेपालखबर
साउन २०, २०८२ मंगलबार १५:१६, काठमाडौँ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी एकताबारे माओवादीले गरेको निर्णयको जवाफ केन्द्रीय समितिबाट दिने भएको छ।  

नेकपा (माओवादी केन्द्र)चार दिनसम्म चलेर सोमबार सकिएको स्थायी समिति बैठकले नेकपासँग एकता गर्ने र त्यसका लागि वार्ता समिति बनाउने निर्णय गरेको थियो। 
 
माओवादीको निर्णय लगत्तै यसबारे छलफल गर्न विप्लव निवास ललितपुरको हरिसिद्धिमा सोमबार साँझपख नेकपाको स्थायी समितिको अनौपचारिक बैठक बसेको थियो। 

बैठकमा माओवादीले गरेको निर्णयमा सामान्य छलफल भएको र केन्द्रीय समितिबाट नै यसलाई टुंग्याउनुपर्ने भएकाले केन्द्रीय समितिको बैठक बोलाइएको स्थायी समिति सदस्य कर्णजित बुढाथोकीले नेपालखबरलाई जानकारी दिए। 

‘उहाँहरुले त्यो प्रकारको निर्णय गरेपछि हामीले सकरात्मक रुपमा नै लिएका छौँ,’ उनले भने, ‘बाँकी हाम्रो केन्द्रीय समिति बैठक बस्छ। त्यही बैठकमा छलफल भएर निर्णय हुन्छ।’

नेकपाको बैठक भदौ २२ गतेदेखि बस्नेछ। नेकपाको १३५ जनाको केन्द्रीय समिति, ७ जनाको स्थायी समिति र २९ जनाको पोलिटब्युरो रहेको छ। 

माओवादीले पहिलो पटक आफ्नो पार्टीको नामै लिएर एकता गर्ने भन्दै निणर्य गरेकाले यसबारे केन्द्रीय समितिबाटै धारणा तय गर्न आवश्यक ठानिएको बुढाथोकीले बताए। 

‘उहाँहरुले यसअघि संस्थागत निर्णय गर्नुभएको थिएन र त्यति धेरै छलफल भएन,’ उनले भने, ‘उहाँहरुले औपचारिक निर्णय गरिसकेपछि त हामीले संस्थागत निर्णय दिनुपर्‍यो। त्यो निर्णय व्यक्तिले दिएर भएन, बैठकबाट दिनुपर्‍यो।’

प्रचण्ड–जनार्दन संघर्ष आन्तरिक र प्राविधिक
स्थायी समितिको अनौपचारिक बैठकमा नेकपाका महासचिव विप्लवले समसामयिक राजनीतिक विषयमा ‘ब्रिफिङ’ गरेका थिए।

उनले कम्युनिष्ट पार्टीहरूसँग एकता र ध्रुविकरणको प्रयास जारी रहेको, समाजवादी मोर्चामार्फत एकतालाई सुदृढ गर्ने प्रयास भएको बताएका थिए। ‘राजनीतिक भेटघाटहरू भएको छ, सम्बन्ध सुदृढ भएको छ,’ विप्लवले भनेका थिए। 

बुढाथोकीका अनुसार माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीच चलेको अन्तरसंघर्षबारे पनि छलफल भएको थियो। 

उनीहरुबीचको संघर्ष आन्तरिक र प्राविधिक भएको र त्यसमा आफूहरुले समय खेर फाल्न नहुने निष्कर्ष स्थायी समिति बैठकले निकालेको थियो। 

बैठकको सार सुनाउँदै बुढाथोकीले भने– ‘अरु पार्टीको अन्तरसंघर्षबारे हामीले धेरै समय खेर फाल्न जरुरी छैन। प्रचण्ड र प्रभाकरको अन्तरसंघर्ष पनि उहाँहरुको आन्तरिक कुरा हो। उहाँहरू आज विवाद गर्नुहुन्छ, भोलि मिलिहाल्नुहुन्छ। यो राजनीतिक भन्दा पनि प्राविधिक विषयमा बहस भएकाले त्यो चलिराख्ने नै हो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad