नेकपा एकीकृत समाजवादी पार्टीले तत्काल नेकपा माओवादी केन्द्रसँग मात्र एकता गर्न नहुने निष्कर्ष निकालेको छ। यो निर्णयसँगै अब कम्तीमा भदौ २५ सम्म एकताबारे निर्णय हुने छैन।
शुक्रबार बसेको सचिवालय बैठकमा माओवादी केन्द्रसँग एकताका विषयमा भइरहेको छलफलबारे नेताहरूले कुरा उठाएका थिए। एकता गर्दा झन् क्षति हुने उनीहरूको भनाइ थियो।
जसकारण अध्यक्ष माधवकुमार नेपाल माओवादीसँग मात्र एकता गर्ने तयारीबाट पछि हटेको नेताहरू बताउँछन्।
एकताकै लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष नेपालबीच पटकपटक छलफल भइसकेको थियो। नेताहरूका भनाइ अनुसार प्रदेश संरचनाको नेतृत्वको विषय समेत लगभग टुंगो लागिसकेको थियो।
असोजकै आसपास एकता गर्नेगरी तयारी भइरहेको चर्चा चलिरहेका बेला समाजवादीको शुक्रबार बसेको सचिवालय बैठकले हतार गर्न नहुने निर्णय गरेको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए।
‘माओवादीसँग एकता गर्न अहिलेको अवस्थामा सम्भव नै छैन,’ खनालले नेपालखबरसँग भने, ‘हामी आफ्नै खुट्टामा उभिइसकेका छैनौँ। महाधिवेशनका दस्तावेज नै राम्रोसँग प्रकाशित भइसकेका छैनन्। यस्तो अवस्थामा हामीले अहिले एकताको कुरा होइन, कार्यगत एकतासम्म हुनसक्छ। तर, पार्टी एकता अहिले कसैसँग पनि हुँदैन।’
बैठकमा बोल्दै उपाध्यक्ष जगन्नाथ खतिवडाले पनि माओवादीसँग एकता गर्न नहुनेमा जोड दिएका थिए।
‘माओवादीसँगको एकता गर्दा हामी झन् माइनस हुन्छौँ, अन्तरविरोधले ग्रस्त भएको पार्टीसँग एकता गरेर हामी शक्ति प्राप्त गर्न सक्दैनौँ,’ बैठकमा खतिवडाले राखेको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘निर्णय कार्यकर्ताको मनोभावना अनुसार हुनुपर्छ भन्ने हो, अहिले गर्ने माओवादीसँगको एकता फलदायी हुँदैन।’
त्यसपछि बोलेका नेताहरूले उनकै जस्तो धारणा राखेको अर्का पदाधिकारीले बताए।
‘माओवादीसँग मिल्दा प्लस भन्दा माइनस धेरै हुन्छ भन्ने साथीहरूको भनाइ थियो,’ ती पदाधिकारीले भने, ‘आफ्नै पार्टी बनाउन सकिन्छ, बनाऊँ, तपाईंहरू एकापसमा नलड्नुस त, पार्टी बन्छ भन्ने उहाँहरूको भनाइ छ।’
शुक्रबारको सचिवालय बैठकमा वरिष्ठ नेता घनेन्द्र बस्नेत सचिव सावित्रा भुसाल र अर्का सचिव चन्द्रबहादुर शाही पनि बोलेका थिए।
शाहीले आन्तरिक रुपमा अन्तरसंघर्ष भएको पार्टी कसरी बन्छ भन्दै प्रश्न गरेका थिए।
वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपमहासचिव राजेन्द्र राई लगायतका केही नेता भने उपस्थित थिएनन्।
प्रवक्ता समेत रहेका उपाध्यक्ष प्रकाश ज्वालाले पनि बैठकमा अधिकांशले एकतामा हतार गर्न नहुने बताएको जानकारी दिए।
‘एकता गर्दा हतारमा गर्न हुँदैन। राम्रोसँग छलफल गरेर सैद्धान्तिक, वैचारिक कार्यदिशा र संगठनात्मक सवालजस्ता एजेन्डामा प्रस्ट भएर गर्नुपर्छ भन्ने कुरा बैठकमा उठ्यो,’ ज्वालाले भने, ‘माओवादीसँग मात्र होइन, एकता गर्न हतार गरेर पछि पछुताउनुभन्दा समाजवादी मोर्चामा रहेका सबै दलहरूसँग वार्ता गर्ने र एकता गर्दा अलि परिपक्व तरिकाले गर्र्नुपर्छ, टिक्ने तालले एकता गर्नुपर्छ। एउटा पार्टीसँग मात्र होइन, सकेसम्म धेरै पार्टीसँग फराकिलो वामपन्थी एकता गर्ने कुरामा ध्यान दिनुपर्छ।’
पार्टी अध्यक्ष नेपाल र सम्मानित नेता खनालबीचको खटपटबारे उपाध्यक्ष खतिवडासहितका केही नेताले कुरा उठाए।
‘तपाईंहरू एकापसमा लड्नु भयो भने पार्टी बिग्रिन्छ। अर्काको सहारा लिनुपर्छ। तपाईंहरू एकताबद्ध भएर लाग्नुस्, यो पार्टी बन्छ, बनाउन सकिन्छ भन्ने साथीहरूको भनाइ छ,’ बैठकमा उपाध्यक्ष खतिवडाले भने, ‘एकताको हल्लाले कार्यकर्ता निराश भएका छन्। थोरै संख्या उत्साहित होला, अर्काे पार्टीले खेल्ने मौका पाएको छ। माओवादीसँग मिल्ने भनेर कोही मानिस एमालेमा फर्कने परिस्थिति बन्ला।’
पदाधिकारीको धारणा सुनेपछि अध्यक्ष नेपालले एकताको लागि नभई कार्यगत एकताकै बारेमा प्रचण्डसँग भेटवार्ता भएको जवाफ दिए।
‘अहिले तत्काल एकताभन्दा पनि कार्यगत एकताको कुरा भइराखेको हो, प्रचण्डजीसँग पनि कुरा भइराखेकै छ,’ नेपालले बैठकमा भने, ‘अहिले हामीले मोर्चाभित्र रहेका दलहरूबीचमा कुनै समस्या छन् भने त्यसलाई हल गर्ने, एकआपसमा विश्वासको वातावरण बनाउन र सहकार्यलाई बलियो बनाउनका लागि यो बीचमा छलफल भइरहेको हो।’
उनले सबै कुरा मिलाएर मात्र एकता प्रक्रिया अघि बढ्ने बताए।
‘सबै कुरा टुंगो लागेपछि मात्र हुन्छ, त्यसकारण हामी विचार सिद्धान्त, कार्यक्रम र एजेन्डाका आधारमा मात्र एकता गर्ने हो। छलफल गर्दै गर्ने हो भन्नुभयो,’ उपाध्यक्ष ज्वालाले भने।
‘एकताको विषय आजदेखि डाइल्युट भयो। हामीले यस्तो छलफल अरु पार्टीसँग पनि गर्दै जान्छौँ, सम्मानित नेता खनालले भने, ‘अब माओवादीसँग जस्तै वार्ता विप्लवसँग, महिन्द्रराय यादव लगायत दलसँग पनि गर्ने भन्ने भयो।’
त्यसपछि बैठकले समाजवादी मोर्चामा रहेका दलहरू सबैसँग छलफल गर्ने, त्यसभन्दा बाहिर रहेका कम्युनिस्ट पार्टीसँग पनि कुरा गर्ने एकताको निम्ति पहल गर्नुपर्ने निष्कर्ष निकालेको छ।
‘त्यो एकता टिकाउ हुन्छ भन्ने हाम्रो निचोड हो,’ ज्वालाले भने।
यद्यपि यसका लागि अब भदौ २५ गते बस्ने केन्द्रीय समितिले थप निर्णय गर्न सक्नेछ। समाजवादीका सचिव सोमनाथ पाण्डेले एकताको च्याप्टर क्लोज पनि नभएको र टुंगो पनि लागि नसकेको बताए।
‘अब हामी अरु पनि वामपन्थीलाई एक बनाएर लैजानुपर्छ र नेपालको कम्युनिस्ट आन्दोलनलाई बचाउनुपर्छ भन्नेमा छौँ,’ पाण्डेले भने, ‘महाधिवेशनले यो कुरा पास गरिसकेको छ। हाम्रो केन्द्रीय कमिटीको बैठक भदौ २५ मा छ, त्यतिबेला पुग्दासम्म सबै तयारी गर्ने भन्ने हो।’
Shares

प्रतिक्रिया