प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक ५ मिनेट बसेर सकिएको छ।
समिति बस्नका लागि आवश्यक गणपूरक संख्या पुग्न करिव डेढ घण्टा पर्खिनुपर्यो। डेढ घण्टासम्म कुरेर पनि बैठक अघि बढ्न सकेन। जम्मा ५ मिनेट बैठक बसेपछि समिति सभापति कुसुमदेवी थापाले समिति सदस्यहरुलाई भूमि सम्बन्धी सरकारले परिमार्जनहित प्रस्तुत गरेको प्रतिवेदन अध्ययन गर्न निर्देशन दिइन्।
साथै बैठक पनि समापन भएको घोषणा गरिन्। भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको परिमार्जित प्रतिवेदनको मस्यौदामा सांसदहरुले बिरोध जनाएपछि भूमि मन्त्रालयले परिमार्जन गरेर अर्को मस्यौदा तयार पारी प्रस्तुत गरेको हो। जसमा सांसदहरुले अध्ययनको समय नपुगेकाले थप समय मागेपछि बैठक स्थगित गर्नुपरेको बताइन्।
उनले भनिन्, ‘ड्राफ्ट तयार भएको थियो, त्यसमा माननीयज्युहरुले अध्ययन पुगेन, केही समय चाहियो भन्नुभयो। त्यसैले आजका लागि बैठक स्थगित गरेका हौँ।’
समितिको बैठक स्थगित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेस सांसद प्रतिमा गौतमले संशोधन कर्ताहरुसँग थप छलफल गर्नुपर्ने भएकाले पनि बैठक स्थगित गर्नुपरेको बताइन्। हिन्दुकुष सम्मेलनका कारण पनि त्यसमा ध्यान दिनुपर्दा अध्ययन गर्न समय नपुगेकाले समय मागिएको उनको भनाइ छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले भूमि विधेयक भूमिहीन दलित र भूमिहीन सुकुम्वासीको लागि भए सरकार, मन्त्रालय गम्भीर हुनुपर्ने बताए। उनीहरुलाई देखाएर प्रपञ्च रचिएको उनको आरोप छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीकै विमति हुनु र सत्ता पक्षका सांसदहरुले गोप्य बैठक बसेर बैठक स्थगित गरिएको आरोप लगाए।
समिति बैठक भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रारम्भिक प्रतिवेदनलाई अन्तिम रुप दिने सम्बन्धमा छलफलका लागि बोलाइएको थियो।
Shares

प्रतिक्रिया