राजनीति


उमेर पुगेपछि कार्यकारी भूमिकामा रहनु हुँदैन, युवालाई पदाधिकारीमा ल्याउनुपर्छ : कार्की

उमेर पुगेपछि कार्यकारी भूमिकामा रहनु हुँदैन,  युवालाई पदाधिकारीमा ल्याउनुपर्छ : कार्की

नेपालखबर
भदौ १, २०८२ आइतबार ११:५८, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्कीले अबको समाजवादी राजनीति मजदुर, किसान र श्रमजीवी जनताको नेतृत्वमा स्थापित हुने दाबी गरेका छन्।

पूँजीपति वर्गले समाजको नेतृत्व गरिरहेको भए पनि त्यसको विकल्पमा समाजवादी व्यवस्था आउने र त्यसको नेतृत्व किसान-श्रमजीवी वर्गले गर्ने उनको भनाइ छ।  

‘प्रजातन्त्रको वाहक भनेका राजनीतिक दल हुन्, तर, मजदुर किसानको प्रतिनिधि भनी आएका दलहरूले आफ्नो औचित्य प्रमाणित गर्न नसके नयाँ शक्तिको उदय हुन्छ,’ कार्कीले भने, ‘तर, केवल हावा कुरा गरेर, रणनिति बेगरका गतिविधि गरेर वा स्टन्टबाजी गरेर आउनेहरुले चाहिँ हामीलाई प्रतिस्थापन गर्न सक्दैनन्।’

उनले पार्टीले २०६३/६४ पछि मजदुर-किसानको राजनीतिक वर्चश्व कायम गर्ने नयाँ कार्यदिशा विकास गर्न नसकेको स्वीकार गरे। उनका अनुसार माओवादी सतही बहसमा अल्झिएको कारण जनतामा पुरानै संसदीय पार्टीसरहको भान परेको हो।

शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा परिवर्तन गर्न नसकेको कमजोरी उल्लेख गर्दै कार्कीले नेपालको शिक्षा र स्वास्थ्यलाई व्यापारिक बनाइएका कारण समाजवादको आधार नै कमजोर भएको आरोप लगाए। एमालेसहितका पार्टीहरू शिक्षा र स्वास्थ्य व्यवसायमा लागेको दाबी गर्दै उनले भित्रैबाटै ठूलो प्रतिरोध हुने भएकाले शिक्षा प्रणाली परिवर्तन गर्न सजिलो नभएको बताए।

त्यस्तै, कार्कीले पार्टीलाई आवधिक रूपमा विघटन गरेर नयाँ कार्यदिशा दिने प्रक्रियामा लैजानुपर्नेमा जोड दिए। उनले पार्टी, सत्ता वा कुनै संस्थाको पनि निश्चित आयु हुने भएकाले समयानुकूल पुनर्गठन आवश्यक हुने धारणा राखे।

कार्कीले भने, ‘महाधिवेशन केवल कर्मकाण्डी समारोह नबनोस्। पार्टी विघटन गरेर पुनर्गठन गर्न सके मात्रै नयाँ बाटो खुल्छ, नत्र महाधिवेशन, सम्मेलन चण्डी वा सत्यनारायण पूजा जस्तै मात्र हुन्छ।’

युवा पुस्तालाई नेतृत्व दिनुपर्ने आवश्यकता औंल्याउँदै उनले केवल पार्टी अध्यक्ष फेरेर केही नहुने, बरु कार्यदिशा, रणनिति र संगठनात्मक संरचना नै फेरबदल गर्नुपर्नेमा जोड दिए।

‘खास उमेर पुगेपछि कार्यकारी भूमिकामा रहिरहनु उपयुक्त हुँदैन,’ कार्कीले भने, ‘नयाँ उत्साह भएका युवालाई पदाधिकारी ल्याउनुपर्छ। पुराना नेताले अनुभव र विचारमार्फत मार्गदर्शन गर्न सक्छन्, तर कार्यकारी पदमा बसिरहनुपर्ने छैन।’

कार्कीले पार्टीलाई पारदर्शी, क्रान्तिकारी र जनमुखी बनाउनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad