पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दलहरूले राजनीतिक दलसम्बन्धी कानूनको कार्यान्वयन गर्न नसकेको टिप्पणी गरेका छन्।
बुधबार काठमाडौँमा आयोजित ‘संविधान कार्यान्वयनको दश वर्षको समीक्षा: उपलब्धि, समस्या तथा चुनौती र सुझाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
राजनीतिक दलहरू ऐनविपरीत लुकामारी खेलेजसरी चलिरहेको उनको आरोप छ। उहाँले राजनीतिक दलका केन्द्रीय पदाधिकारीले आफू निर्वाचित भएको ६० दिनभित्र आफ्नो सम्पती विवरण राजनीतिक दलको कार्यालयमा बुझाउनुपर्ने ऐनमा व्यवस्था भए पनि कुनै पनि दलले त्यसको कार्यान्वयन नगरेको उल्लेख गरे।
उनले आयोगलाई दलको कार्यालय छिर्ने अधिकार नभएकोले ऐन कार्यान्वयन गरे नगरेको अनुगमन गर्न पनि समस्या हुने गरेको बताए।
‘राजनीतिक दलका केन्द्रीय पदाधिकारीले आफू निर्वाचित भएको ६० दिनभित्र आफ्नो राजनीतिक दलको कार्यालयमा बुझाउनुपर्छ भन्ने व्यवस्था गरिएको छ,' उनले भने, 'कसैले पनि बुझाएको छैन। निर्वाचन आयोगले माग्दा सबैले बुझाएको छ भनेर पत्र लेख्छन्। त्यो कार्यालयमा छिर्ने अधिकार आयोगलाई हुँदैन। यसरी राजनीतिक दलहरु लुकामारी खेले जसरी चलिरहेका छन्।'
राजनीतिक दलहरू नै ऐनविपरीत चल्दा मुलुको विकास, सुशानस र संस्थागत उन्नतिका विषयमा गम्भीर असर परेको उनको भनाइ छ।
'अब कहाँको सुशासन, कहाँको समृद्धि, कहाँको विकास र कहाँको संस्थागत उन्नति? विनम्रतापूर्वक म अहिले पनि के अनुरोध गर्छु भने हामीले यी सबै कुराहरु समावेश गरेर कानून बनाएका छौँ, ' उनले भने, 'त्यो ऐनको ड्राफ्ट पठाउन भनेर पहल गर्नको लागि अनुरोध गर्छु। त्यो कानून पारित गर्न सक्यौँ भने फेरी पनि यस्तमा विषयमा यो खाले छलफल गरिरहनु पर्दैन। बरु कार्यान्वयनका विषयमा छलफल गर्न सकिन्छ।’
Shares

प्रतिक्रिया