समाज


७६ वर्षीय खनालका विम्बविहीन रङको बेजोड प्रस्तुति

७६ वर्षीय खनालका विम्बविहीन रङको बेजोड प्रस्तुति

नेपालखबर
भदौ ११, २०८२ बुधबार १५:३३, काठमाडौँ

उमेरले ७६ पुगेका कला सर्जक तथा समीक्षक रमेशनाथ खनालको पर्याय हो, विम्बविहीन सिर्जनामा रङ र रेखाको बेजोड प्रस्तुति भर्नु। रुपविहीनअर्थात् आकृति नभएको कलाकृति उनको पहिचान हो। उनका चित्रकलामा युवा जोश भेटिन्छ। 

यसपालि रातो नीलो, पहेँलो, हरियो, सेतो, कालो, सिन्दूरे र बैजनी रङलाई खुबै खेलाएर कला सर्जक खनालले लाजीम्पाटमा ‘३५औँ एकल चित्रकला प्रदर्शनी’ गरिरहेका छन्। खनालको ब्राण्ड हो ‘अरुपण कला’। विम्बविहीन छन्। दृष्टिकोण निर्माणमा कला पारखीलाई स्वतन्त्र छाडिदिएका छन्।

कुनै प्रदर्शनीमा उनको सिर्जना राखिएको छ भने नाम हेरिरहनुपर्दैन कलापारखीले चिनिहाल्छन् चित्र सर्जक खनालका हुन्। कलालाई बेजोड र सुन्दर बनाउन उन टेक्चरसँग बढी खेल्नुहुन्छ। जसले सिर्जनालाई जीवन्त बनाइदिन्छ।

उनले भने, ‘यी चित्रहरू पहिलेभन्दा फरक ह्याजिङलाई टेक्चरका रूपमा प्रयोग गरेको छु, तीन पृष्टभूमिमा रङ बगेको छ, छुट्टै देखिन्छ तर छुट्टै होइन।’ नेपाली चित्रकलामा छुट्टै छाप बनाएका कलाकार खनाल साहित्यक स्रष्टा, कवि, प्राज्ञ र कला शिक्षक पनि हुन्। उनका थुप्रै कृति बजारमा छन्। 

यसपटक काठमाडौँको लाजीम्पाटमा रहेको अरुपण आर्ट ग्यालरीमा पछिल्लो चार वर्षमा बनाइएका १७ वटा कृति राखिएको प्रदर्शनीमा क्यान्भासमा रङ र रेखाको बेजोड प्रस्तुति देखिन्छ। उमेरले ७६ वर्ष पुगेका खनालका कलामा जवानी भरिएको छ। उनले भने, ‘कला र रङ मेरो जीवन हो र सकुञ्जेल गरिरहन्छु।’

सन् २०१८ मा अमेरिकामा ३२औँ एकल कला प्रदर्शनी गरेका खनालले कलापारखीमाझ अरुपणअर्थात् रुप नभएको कला प्रस्तुत गरिरहनुभएको छ। उन यो विश्वमै नौलो कला भएको दाबी गर्छन्। उनका विम्बविहीन चित्रमा अनौठा आकर्षण र सुन्दरता भरिएको हुन्छ। त्यही प्रस्तुति जारी प्रदर्शनीमा छ। 

खनालले थपे, ‘यी चित्र पढ्न र सुन्नका लागि होइन हेर्न, बुझ्न र महसुस गरेर अनेक दृष्टिकोण निर्माण गर्न हो।’ उनको भनाइमा सत्यता त्यसले महसुस गर्छ जो चित्र अवलोकन गर्न पुग्छ।

चित्र अवलोकनपछि वरिष्ठ सङ्गीतकार बुलु मुकारुङले भने, ‘अरुपण आर्ट ग्यालरीमा कला साधक, कवि तथा प्राज्ञ रमेश खनालका ३५औँ एकल चित्रकला प्रदर्शनीमा राखिएका चित्रहरूसँग म करिब एक घण्टा वाचाल भएँ। एकल चित्र प्रदर्शनी आफैँमा एउटा इतिहास हो। यो कलापारखी, कलाकर्मी र कलाजगतका साधक तथा अनुयायीहरूले कलाभित्रको सम्मोहन आफ्नै आँखाले स्पर्श गर्न पाउने मौका पनि हो।’

सुरुमा उनी प्रतिकात्मक कला बनाउँथे। रवीन्द्रनाथ टेगुर, महाकवि देवकोटा, माधव घिमिरेलगायत विश्वप्रसिद्ध कलाकारका कविता पढेर उनले त्यसलाई चित्रमा ढाल्थे। केही प्रदर्शनी पनि भयो तर पहिचान भएन भने हराइन्छ भन्ने उनलाई लाग्यो। कला प्रदर्शनी थाल्दा आयामेली कवि ईश्वर बल्लभसँग भेटे। उनले दिएको सुझावले नै उनले अरुपण कला सुरु गरेको सुनाए।

एउटा धार नबोकी कलामा पहिचान बनाउन नसकिने बुझेरै खनालले अरुपण चित्रलाई आफ्नो धार बनाए। झट्ट हेर्दा अमूर्त कला लाग्ने सिर्जनालाई खनालले भने अमूर्त नभएको दाबी गरे। उनले भने, ‘अमूर्त कलामा कल्पना हुन्छ। लैनसिंह वाङ्देल, लक्ष्मण श्रेष्ठले कल्पनामा चित्र बनाउनुभएको थियो। तर यो पेन्टिङ कल्पनारहित हो, यसमा कलात्मक सजावट गर्नुपर्ने हुन्छ।’ 

उनका कला हेरेर मानिसले आआफ्नै दृष्टिकोण दिन सक्छन्। बीस जना मान्छे आए भने चित्रकलाको बीसथरिका दृष्टिकोण बन्छन्। यस्ता चित्रकलामा रङको संयोजक निक्कै चुनौतीपूर्ण हुन्छ। मिठास दिन नसके कला मूल्यहीन बनिदिन्छ। कतिपयका त्यसै रङ फ्याँकेपछि बनाउन सकिन्छ भन्ने धारणा पनि नभएको होइन तर रङको संयोजनले आनन्द दिएन भने मान्छेले किन्दैनन्। कविताको भावले जसरी मानिसलाई छुन्छ चित्रको भावले पनि त्यसैगरी छोएन भने सिर्जना सिर्जना हुँदैन। 

यस्ता कला मनोवैज्ञानिक दृष्टिकोणले पनि हेर्न सकिन्छ। कुनै चित्रहरू विचलित मनबाट बनेका हुन् कि जस्तो लाग्छ, कुनै सिर्जनामा मानिसका आकृति भेटिन सक्छन्, कुनै आकृतिमा मानिसको मिलन भइरहेकोजस्तो महसुस पनि हुन्छ। कुनै सिर्जना केही बोलिरहेका झैँ लाग्छन्। यही हो भनेर ठम्याउन नसकिने तर धेरै कुराहरू उब्जाइदिन सफल छन् कलाकार खनालका यहाँ प्रदर्शित सिर्जना। दुई वटा कोलाज भरिएका सिर्जना छन्। रङको सन्तुलन र सौन्दर्यलाई उनले केन्द्रमा राखेर अरुपण कला तयार पारेका छन्।

चित्रहरू कलाकारको सोचाइमा पनि भर पर्छ। कलाकार कस्तो अवस्थामा हुन्छ, उसले त्यस्तै अभिव्यक्त गर्छ सिर्जनामा। उनका कला कुनै आधारबाट उठाइएका कला छन् त कुनै उडिरहेका झैँ देखिन्छन्। सन् २०२२ देखि बनाइएका १७ वटा अरुपण कला यहाँ प्रदर्शनमा छन्। एउटा चित्रमा बालुवा छरेर त्यसमाथि रङ खेलाएर तयार पारिएको छ। जसले प्रदर्शनीमा छुट्टै आकर्षण थपिदिएको छ।

भनिन्छ चित्रले मानिसको दिमाग क्रियाशील बनाउन सक्यो भने सफल मानिन्छन्। उनका चित्रमा पारखीहरू केहीबेर घोरिन्छन्, मन उद्देलीत बनाउन सफल छन् कलाकार खनाल। कहिलेकाहीँ चित्र कोर्दाकोर्दै, रङ खेलाउँदा खेलाउँदै समस्या पर्‍यो भने उन प्रकृतिलाई नियाल्न थाल्छन्। उनले भने, ‘त्यहाँबाट प्राप्त आकार, हरियाली, फूल र प्रकृतिका रङले नयाँ योजना दिन्छ र फेरि भर्न थाल्छु।’ उनले आफ्नैपन बोकेको नेपाली कलाको देन अरुपण कला रहेको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad