राजनीति


नागरिकता विधेयकः राष्ट्रिय सभाबाट पठाएको संशोधन प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत

नागरिकता विधेयकः राष्ट्रिय सभाबाट पठाएको संशोधन प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत

नेपालखबर
भदौ १८, २०८२ बुधबार २०:११, काठमाडौँ

नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि राष्ट्रिय सभाबाट आएको संशोधन प्रतिनिधि सभाबाट बहुमतले स्वीकृत गरेको छ।

सभाको बुधबारको बैठकले राष्ट्रिय सभाबाट आएको संशोधनलाई बहुमतले स्वीकृत गरेको हो। यसअघि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। 

छलफल सहभागी हुँदै सांसदहरूले विधेयक पास भएपछि नागरिकता प्राप्तिका क्रममा नागरिकले भोग्नुपरेका विद्यमान समस्याहरु हटेर जाने विश्वास व्यक्त गरे।

आमाको नामबाट नागरिकता पाउने व्यवस्थाले पहिचान नभएका तथा बाबुले असहयोग गरेका सन्तानलाई राहत मिल्ने उनीहरूको विश्वास छ। नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विधेयकलाई महिलाको सम्मानसँग जोड्दै यसको समर्थन गरे।

उनले यो विधेयकले नागरिकतासम्बन्धी नागरिकले भोग्दै आएका सबै प्रकारका कानूनी अप्ठ्याराहरू अन्त्य गर्ने विश्वास व्यक्त गरे। 

उनले भने, ‘यो विधेयकले राष्ट्रका धेरै समस्याहरूलाई समाधान गर्दैछ। यसका लागि सरकार र मन्त्रीलाई धन्यवाद दिन चाहन्छु। नागरिकता प्राप्तिको अधिकार हुँदाहुँदै पनि त्यो अधिकारबाट वञ्चित नागरिकले यो विधेयक पास भएपछि सहजता महशुस गर्नेछ। आामा र बुबा दुवै नामबाट नागरिकता पाउने विश्वव्यापी मान्यता जुन नेपाल सरकारले पनि अपनाउन सुरु गरेको छ।’

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले पनि विधेयकको समर्थन गरे। उनले विधेयकले महिलाको सम्मान गरेको बताए।

उनले संविधानमा व्यवस्था भएपनि व्यवहारमा लागू नभएका कारण नागरिकले भोग्नुपरेको दुःखको यस विधेयकले अन्त्य गर्ने विश्वस व्यक्त गरे। बालबालिकालाई परिचयपत्र दिने व्यवस्था पनि विधेयकको महत्वपूर्ण विषय भएको उनको भनाइ छ। 

उनले भने, ‘यो विधेयकको सबैभन्दा महत्वपूर्ण विषय भनेको महिलाको सम्मान हो। हाम्रो समाजमा रहेको ठूलो समस्याको समाधान यस विधेयकले गरेको छ। यसअघि संविधानमा व्यवस्था भएपनि कानुनमा नलेखिएको भन्दै नागरिकले जुन दुःख पाउने गर्नुभएको थियो। त्यो समस्याको समाधान यो विधेयकले गरेको छ।’

सरकारले आमाको नामबाट नागरिकता दिने व्यवस्था गर्न नागरिकता ऐन संशोधन गर्नको लागि विधेयक ल्याएको हो। विधेयक पास भइसकेपछि बाबुले असहयोग गरेका तथा पहचिान नै नभएका नागरिकले समेत आमाको नामबाट मात्रै पनि नागरिकता पाउनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad