राजनीति


सांसदहरू भन्छन्– सरकारले मुलुकको शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनायो

सांसदहरू भन्छन्– सरकारले मुलुकको शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनायो

नेपालखबर
असार ९, २०८३ मंगलबार १६:४१, काठमाडौँ

राष्ट्रिय सभाका सांसदहरुले सरकारले शिक्षा क्षेत्रलाई पनि बेहाल बनाएको टिप्पणी गरेका छन्। 

मंगलबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभामा रहेको विपक्ष दलहरु नेपाली कांग्रेसका सांसद जगत तिमिल्सिना, नेकपा (एमाले)की सांसद सम्झना देवकोटा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद घनश्याम रिजालले शिक्षा क्षेत्रलाई समेत अस्तव्यस्त बनाउने गरी सरकारले अध्यादेश ल्याएको भन्दै आपत्ति जनाका हुन्।

नेपाली कांग्रेसका सांसद तिमिल्सिनाले सरकारका हरेक गतिविधिले मुलुकलाई नै ध्वस्त बनाउने अवस्था आएको आरोप लगाए। उनले सरकारका गतिविधि भदौ २४ गते सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत जलाउने जस्तो भएको दाबी गरे।

सरकारले नीति तथा कार्यक्रम ल्याउने बेलामा विश्वविद्यालयहरूको पदाधिकारी हटाउने काम गरेर गम्भीर गल्ती गरेको सांसद तिमिल्सिनाको भनाई थियो।

उनले भने,‘यस्तो बेहाल र लथालिंग बनाइएको छ कि शिक्षा क्षेत्रलाई। यो वास्तवमा भन्ने हो भने अहिले शिक्षा क्षेत्रलाई कस्तो गरिएको छ भने जसरी भदौ २४ गते सिंहदरवार, संसद, शीतल निवास, सर्वोच्चमा आगो लगाइयो। त्यो भन्दा कम छैन यो। शिक्षा क्षेत्रलाई त्यस्तो बनाइएको छ। कस्तो बेलामा पदमुक्त गराइएको छ भने विश्वविद्यालयले आफनो वर्षभरीको बजेट बनाउने बेलामा पदाधिकारीलाई पदमुक्त गरिएको छ। त्यसपछि यो बेला भनेको अब नयाँ प्रोग्रामहरू के गर्ने भनेर प्राज्ञिक परिषद्को मिटिङ गराउने बेलामा यो इनटेनसनली नै यो देशलाई ध्वस्त बनाउन नै गरिएको हो।’

नेकपा (एमाले)की सांसद सम्झना देवकोटाले स्वदेशमा नै उच्च शिक्षा हासिल गर्ने वातावरण बनाउन सरकारसँग माग गरिन्। उनले नेपाल जस्तो उपयुक्त वातारण भएको मुलुकमा बाह्य मुलुकलाई विद्यार्थीलाई पनि सरकारले उच्च शिक्षा अध्ययनका लागि आकर्षित गर्ने खालको कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याइन्।

सांसद देवकोटाले भनिन्,‘मुख्यकुरा नेपालमा नै उच्च शिक्षा दिने वातावरण हाम्रा विद्यार्थीहरूलाई बनाउनु पर्‍यो। हाम्रो जस्तो पर्यटकीय, हाम्रो जस्तो वातावरण, हावापानी, आतिथ्यता, हाम्रो जस्तो विदेशीलाई माया गर्ने संस्कारमा बाहिरका विद्यार्थीहरुलाई नेपालमा ल्याएर पढाउने व्यवस्था कसरी बनाउन सकिन्छ, यसका लागि के गर्न सकिन्छ? यसका लागि शिक्षा मन्त्रालयको कार्यक्रमहरु के छ? म यसका लागि जानकारी लिन चाहन्छु।’

नेपाली कम्युनिष्ट पार्टीका सांसद घनश्याम रिजालले सरकारले ल्याएको विश्वविद्यालयसम्बन्धी अध्यादेशले मुलुकका शिक्षा क्षेत्रमा ठूलो समस्या खडा गरेको बताए। उनले विश्वविद्यालयहरुको पदाधिकारी तत्काल नियुक्त गरी त्यहाँ देखिएका समस्या समाधान गराउनका लागि पनि सरकारलाई सचेत गराए।

सांसद रिजालले भने,‘हाम्रो चिन्ता विश्वविद्यालय ठिकठाक ढंगले अघि बढोस्। हामी जसरी चलाउँछौँ विश्व विद्यालय, विद्यार्थीहरू बाह्य मुलुकमा जानुपर्ने अवस्था छ। यस्तो बेलामा पदाधिकारी नियुक्तिको विषयले थप समस्या नआओस् भन्ने हाम्रो चिन्ता हो।’

सांसद रिजालले सरकारले ठिक ढंगले काम गरोस् भन्ने आफूहरूले चाहेको पनि उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad