राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा ठूलो संख्यामा जेनजी अगुवा, आन्दोलनका घाइतेलगायतले पार्टीको केन्द्रीय सदस्य बन्ने आकांक्षा देखाएका छन्। उनीहरूमध्ये थुप्रैले चुनावबाटै निर्वाचित हुने भन्दै उम्मेदवारी दिने बताएका छन्।
जेनजी आकांक्षीहरूलाई गृहमन्त्री सुधन गुरुङको बलियो साथ छ। सभापतिले मनोनयन गर्ने ५१ जना केन्द्रीय सदस्यमध्ये आधा जेनजी हुनुपर्ने उनको अडान छ। मन्त्री गुरुङको यस्तो सहयोगले जेनजी आकांक्षीहरू उत्साहित छन्।
जेनजी आन्दोलनबाट रास्वपामा आएका जेनजीमध्ये एक हुन्– टासी ल्हाजोम। उनी केन्द्रीय सदस्यको आकांक्षी हुन्। उनले सोमबार नै कर्णाली प्रदेश भूगोल क्लस्टरबाट उम्मेदवारी दिने घोषणा गरिसकेकी छन्।
उनी जेनजी आन्दोलनपछि अन्तरिम सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बन्न खोजेकी थिइन्। तर, स्वतन्त्र तिब्बत अभियानमा संलग्न भएको आरोप लागेपछि उनी मन्त्री बन्न पाइनन्। सोही कारण रास्वपाको समानुपातिक सूचीबाट समेत नाम फिर्ता लिन उनी बाध्य भएकी थिइन्।
प्रत्यक्ष तर्फबाट चुनाव लड्दा उनी पराजित भइन्। यसपटक केन्द्रीय सदस्य भने जित्नेमा उनी आशावादी छिन्।
यस्तै जेनजी आन्दोलनमा घाइते भएका प्रकाश बोहोरा पनि केन्द्रीय सदस्यको आकांक्षी रहेको रास्वपाका प्रतिनिधि योगेन्द्र भण्डारीले बताए। घाइते बोहोराको आन्दोलनमा रगतले लतपत्तिएको जुत्ताको फोटो जेनजी आन्दोलनको ‘आइकन’ बनेको थियो।
आन्दोलनको क्रममा उनलाई खुट्टामा गोली लागेको थियो। रास्वपाको समानुपातिक सूचीमा पनि प्रकाशको नाम थियो। तर, खस आर्य पुरुषतर्फको चौथो नम्बरमा रहेकाले उनी सांसद भने हुन सकेनन्।
काउन्सिल अफ जेनजीको बागमती प्रदेश संयोजक तथा सांसद अफ्साना बानुले आफू पनि केन्द्रीय सदस्यको आकांक्षी रहेको बताइन्। गृहमन्त्री सुधन गुरुङले आफूलाई सघाइरहेको उनको भनाइ छ।
‘सुधन दाइले पनि बहिनीलाई जिताउनु पर्छ भनेर सपोर्ट गर्नुभएको छ,’ उनले भनिन्।
जेनजी आन्दोलनपछि गुरुङको समूहमा रहेकी उनी प्रतिनिधि सभा निर्वाचनमा रास्वपाको मुस्लिम महिला क्लस्टरबाट सांसद बनेकी हुन्। बानु केन्द्रीय सदस्यका लागि पनि मुस्लिम महिला क्लस्टरबाट उम्मेदवारी दिने तयारीमा छिन्।
सांसद पुरुषोत्तम यादव पनि रास्वपाको केन्द्रीय सदस्यको आकांक्षी छन्। उनले आइतबार नै सामाजिक सञ्जालमार्फत पार्टीको केन्द्रीय सदस्य पदका लागि आफूले उम्मेदवारी दिने घोषणा गरेका थिए। यादवले भदौ २३ मा भएको जेनजी आन्दोलनमा काठमाडौँ सीडीओ कार्यालयमा गएर अनुमति लिएका थिए। पछि प्रतिनिधि सभा निर्वाचनका लागि रास्वपाको समानुपातिक सूचीमा मधेसी क्लस्टरतर्फबाट उनी सांसद बने।
त्यस्तै, सांसद शिवशंकर यादव, जेनजी घाइते अंकित यादवलगायत धेरै जेनजीहरू रास्वपाको केन्द्रीय सदस्यका लागि आकांक्षी छन्।
भदौ २३ को आन्दोलनबाट आएका ७ जना जेनजीहरू पहिले नै पार्टीको केन्द्रीय सदस्य पदमा छन्। जसमध्ये शिवशंकर यादव भने सांसद छन्। सांसद पद नभएका केन्द्रीय सदस्य भने स्वतः मनोनीत हुने सम्भावना रहेको पार्टीका केन्द्रीय सदस्य तथा जेनजी अगुवा खेमराज साउदले बताए।
उनले भने, ‘सम्भवतः हामी यथावत नै रहन्छौँ होला।’
यदि मनोनीतमा नपरे उनीहरू पनि चुनाव लड्ने तयारीमा छन्।
मंगलबार अपराह्नमा बन्दसत्र सुरु भएकाले हालसम्म उम्मेदवारी दर्ताको काम भएको छैन। सोमबार नै सुरु हुनुपर्ने बन्दसत्र प्रतिनिधि विवादले स्थगित भएको थियो।
Shares

प्रतिक्रिया