नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नदिने निर्णय पुनर्विचार गर्न माग गरेका छन्।
बिहीबार दिउँसोदेखि पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा तीनै नेताले भण्डारीलाई सदस्यता दिनुपर्ने प्रस्ताव राखेका थिए। तर, अध्यक्ष केपी शर्मा ओलीले निर्णय पुनर्विचार नहुने अडान लिएका छन्।
‘ईश्वर पोखरेल, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता रोक्नु हुँदैन, यसमा पुर्नविचार गर्नुपर्ने कुरा उठाउनुभयो,’ एक पदाधिकारीले नेपालखबरसँग भने, ‘केन्द्रीय समितिले जे निर्णय गरेको छ, त्यो विधिसम्ममत छ, यो निर्णय हेरफेर हुँदैन, सच्चिँदैन भनेर अध्यक्षले जवाफ दिनुभयो।’
साउन ६ गते केन्द्रीय कमिटी बैठकले भण्डारीको सदस्यता नवीकरण नगरी होल्ड गर्ने निर्णय गरेको थियो। ‘केन्द्रीय कमिटीको निर्णय जे छ, त्यहीँ हो, त्यसैलाई लागू गरेर जाने भनेर अध्यक्षले जोड दिनुभयो,’ ती पदाधिकारीले थपे।
तर, अध्यक्ष ओलीको जवाफमा तीनै नेताले चित्त बुझाएका छैनन्। उनीहरूले भिन्न मत लैजाने भएका छन्। पोखरेलले छुट्टै प्रतिवेदन समेत तयार पारिसकेका छन्, जसलाई ललितपुरको गोदावरीमा शुक्रबारदेखि हुने विधान महाधिवेशनमा पेस गर्ने तयारी छ।
बिहीबार नै स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले अध्यक्ष ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलले ल्याएको विधान संशोधन र महासचिव शंकर पोखरेले ल्याएको सांगठनिक प्रतिवेदनविरुद्ध २७ पृष्ठको फरक दस्तावेज विधान महाधिवेशनमा पेस गर्नेगरी पार्टी कार्यालयमा दर्ता गराएका छन्।
Shares

प्रतिक्रिया