तोकिएको समयसीमाभित्र दर्ता हुन नमानेका फेसबुकलगायत सामाजिक सञ्जाल सरकारले देशमा निष्क्रिय (बन्द) बनाएपछि सत्तारुढ दलकै नेताले विरोध गरिरहेका बेला नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीले भने समर्थन गरेकी छन्।
पूर्वमन्त्रीसमेत रहेकी झाँक्रीले सामाजिक सञ्जाललाई नियमन गर्नु अभिव्यक्ति स्वतन्त्रमा रोक लगाएको मान्न नहुने तर्क गरेकी हुन्। साथै उनले यस क्रममा सामाजिक सञ्जालबाट हुने गरेका आलोचना रोक्नका निम्ति यसो गरिएको आशय पनि व्यक्त गरेकी छन्।
‘सोसल मिडिया र भर्चुअल प्लाटफर्मलाई नियमित र नियमन गर्नु भनेको वाक स्वतन्त्रतालाई बन्देज गर्नु होइन। हामी नागरिकले आफ्नो अधिकार र दायित्वलाई सँगसँगै लिनु गर्नुपर्छ’, उनले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘मानौँ, पशुपतिनाथको दर्शन गर्न पाउनु नागरीकको अधिकार हो। तर हजारौँ मान्छेलाई दर्शन गर्न सहजताको लागि कानुनबमोजिम पशुपति विकास कोष र त्यहाँ क्रियाशील संस्थाहरूले बनाएको नियम मान्नु सबै दर्शनार्थीको कर्तव्य हुन्छ। बनाएको लाइनममा बसेर तोकिएको गेटबाट मात्र दर्शन गर्नुपर्छ। त्यस्तै हो यो पनि। वाक स्वतन्त्रता छ तर गालीबेज्जती गर्न पाइन्न। नियमन हुनुपर्छ।’
सरकारको निर्णयबमोजिम नेपाल टेलिकमले बिहीबार राति सूचना जारी गरी नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल प्लाटफर्म बन्द गरिएको जानकारी दिइसकेको छ।

Shares

प्रतिक्रिया