राजनीति


तीन मन्त्रीको शपथ आज

तीन मन्त्रीको शपथ आज

नेपालखबर
भदौ ३०, २०८२ सोमबार ८:५१, काठमाडौँ

नवनियुक्त तीन मन्त्रीलाई आज (सोमबार, ३० भदौ) शपथ खुवाइने भएको छ। 

राष्ट्रपतिको कार्यालयले दिएको जानकारीअनुसार नवनियुक्त मन्त्रीत्रय ओमप्रकाश अर्याल रामेश्वर खनाल र कुलमान घिसिङलाई अहिले बिहान ११:३० बजे शपथ खुवाइने भएको हो। 

पदभार ग्रहण गरेकै दिन आइतबार प्रधानमन्त्री सुशीला कार्कीले अधिवक्ता एवं अधिकारकर्मी ओमप्रकाश अर्याललाई गृहका साथै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालय र कुलमान घिसिङलाई तीनवटा मन्त्रालय- भौतिक पूर्वाधार तथा निर्माण मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र सहकारी विकास मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेकी हुन्।

यी नाम उनले आइतबारै राति राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिसकेकी छन्। 

जेनजी आन्दोलनका कारण एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश कार्की अन्तरिम सरकार प्रमुख (प्रधानमन्त्री) बनेकी हुन्। 

तत्कालीन ओली नेतृत्वको सरकारले दर्ता नगरिएको भन्दै फेसबुक, एक्स, युट्युबलगायत २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय (भदौ १९ गते) गरेको ३ दिनपछि भदौ २३ गते जेनजी (नवयुवा पुस्ता) ले काठमाडौँसहित देशका विभिन्न सरहरमा प्रदर्शन गरेको थियो।

त्यस क्रममा सरकारले दमन गर्दा प्रहरीको गोली लागेर काठमाडौँको बानेश्वरमा १७ जना र विराटनगरमा २ जना आन्दोलनकारी मारिएका थिए भने सयौँ घाइते भएका थिए।

त्यसपछि भोलिपल्ट भदौ २४ गते उग्र बनेका प्रदर्शनकारीले नेताका घर, सार्वजनिक संस्था, व्यापारिक प्रतिष्ठान मात्र होइन, संसद् भवन, सिंहदरबार र सर्वाेच्च अदालतसमेत जलाइदिए। घरभित्रै पसेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दम्पती नै कुटिएपछि बाध्य भएर ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। 

जेनजी आन्दोलनले यति भयानक रूप लिएको थियो कि प्रधानमन्त्रीसहित शीर्ष नेताहरूलाई नेपाली सेनाले सुरक्षित स्थानमा लगेर राख्नुपरेको थियो।  

जेनजी आन्दोलनमा ७२ जनाको मृत्यु भएको अन्तरिम सरकारले जनाएको छ। अझै कैयौँ घाइते अस्पतालको शय्यामा छन्।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad