राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ का लागि तय भएको निर्वाचनले मुलुकलाई दिशानिर्देश गर्नेमा विश्वस्त रहेको बताएको छ। कार्यवहाक सभापति डीपी अर्यालले भिडिओ सन्देश जारी गर्दै तत्कालीन संसद् र त्यहाँ प्रतिनिधित्व गर्ने दलहरूले मुलुकलाई निकास दिन नसक्ने निचोडसहित शीघ्र निर्वाचनको माग गरेको स्मरण गरेका छन्।
'तत्कालिन संसद र त्यहाँ प्रतिनिधित्व गर्ने दलहरूले मुलुकलाई निकास दिन सक्दैनन् भन्ने निचोडका साथ हामीले शीघ्र निर्वाचनको माग गरेका थियौँ,' उनले भने, 'पछिल्लो राजनीतिक बद्लावलाई अन्तरिम सरकारले गराउने निर्वाचनमार्फत संस्थागत गर्ने गरी मुलुक अगाडि बढेकाले फागुन २१ गतेका लागि घोषित निर्वाचनले संक्रमणकालको अन्त्यसँगै पछिल्लो जेनजी विद्रोहको म्यान्डेट र जनचाहना सम्बोधन गर्ने गरी मुलुकलाई स्पष्ट दिशानिर्देश गर्नेमा हामी विश्वस्त छौँ।'
अर्यालले अन्तरिम सरकार निर्माणसँगै मुलुक फेरि राजनीतिक संक्रमणको दिशातर्फ धकेलिएको उल्लेख गरेका छन्।
'अन्तरिम सरकार निर्माणसँगै मुलुक फेरि एकपटक राजनीतिक संक्रमणको दिशातर्फ धकेलिएको छ। र, देश एकपटक फेरि यो संक्रमणकाललाई सकेसम्म छोटो बनाएर राजनीतिक निकास दिनुपर्ने चुनौतीपूर्ण मोडमा आइपुगेको छ' उनले भनेका छन्।
अर्यालले जेनजीको आन्दोलनको क्रममा क्षतिग्रस्त भएका संरचनाको संरक्षण, मर्मत र पुनर्निर्माण गर्न, सरसफाइमा जुट्न पनर्टीका नेता कार्यकर्तालाई आह्वान पनि गरेका छन्।
सर्वप्रथम भाद्र २३ र २४ गते भएको जेन जी समूहको प्रदर्शनमा शहादत प्राप्त गर्ने शहिदहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना तथा आन्दोलनको क्रममा घाइते हुनुभएकाहरूमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।
शान्तिपूर्ण विरोध, प्रतिरोध र प्रदर्शनको मौलिक अधिकारलाई हामी अत्यन्तै सम्मान गर्दछौं। तर, त्यस दौरान हुने जुनसुकै मानवताविरुद्धका घटना र हिंसात्मक गतिविधिको निष्पक्ष छानबिन हुनुपर्छ भन्नेमा पनि हामी प्रष्ट छौं।
सार्वजनिक तथा साझा सम्पत्तिको संरक्षण, मर्मतसम्भार र पुनर्निमाण गर्नु हामी सबैको दायित्व हो। स्थानीय सरकारसँग समन्वय गरी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका सरकारी एवं सार्वजनिक संरचनाको सरसफाइमा जुट्न तथा पुनर्निर्माणमा समेत सक्दो सहयोग गर्न रास्वपाका सम्पूर्ण पार्टी सदस्यहरूलाई आह्वान गर्दछौं।
अन्तरिम सरकार निर्माणसँगै मुलुक फेरि एकपटक राजनीतिक संक्रमणको दिशातर्फ धकेलिएको छ। र, देश एकपटक फेरि यो संक्रमणकाललाई सकेसम्म छोटो बनाएर राजनीतिक निकास दिनुपर्ने चुनौतीपूर्ण मोडमा आइपुगेको छ।
लोकतन्त्रमा दलीय भूमिका सधैं सर्वोपरी हुन्छ भन्नेमा हामी पूर्ण विश्वस्त छौं। अहिलेको जटिल परिस्थितिलाई चिर्दै रास्वपालाई जनताका पक्षमा, सुशासनको पक्षमा तथा लोकतन्त्रका पक्षमा थप सबल, सक्षम र सशक्त बनाएर आगामी जनादेशमा अब्बल सावित गर्नुपर्ने चुनौती हामीसँग छ। त्यसैले, सत्कर्मका साथ आम नागरिकको विश्वास जित्दै राष्ट्र निर्माणको महाअभियानमा जुट्न आवश्यक छ। सोहीअनुसार योजनाबद्ध तयारी गर्नुहुन पार्टी पंक्तिलाई आह्वान गर्दछौं।
तत्कालिन संसद र त्यहाँ प्रतिनिधित्व गर्ने दलहरूले मुलुकलाई निकास दिन सक्दैनन् भन्ने निचोडका साथ हामीले शीघ्र निर्वाचनको माग गरेका थियौं। पछिल्लो राजनीतिक बद्लावलाई अन्तरिम सरकारले गराउने निर्वाचनमार्फत संस्थागत गर्ने गरी मुलुक अगाडि बढेकाले फागुन २१ गतेका लागि घोषित निर्वाचनले संक्रमणकालको अन्त्यसँगै पछिल्लो जेनजी विद्रोहको म्याण्डेट र जनचाहना सम्बोधन गर्ने गरी मुलुकलाई स्पष्ट दिशानिर्देश गर्नेमा हामी विश्वस्त छौं।
विशेष परिस्थितिमा हुन लागेको निर्वाचनलाई सफल बनाउने गरी रचनात्मक सहयोग गरिदिन सम्पूर्ण राजनीतिक दलसहित अन्य सरोकारवाला सबै पक्षलाई अपिल गर्दछौं। घोषित मितिमै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
अन्त्यमा, समाजिक सदभाव, राष्ट्रिय एकता र समृद्धिको अभियानमा एकजुट भएर दृढताका साथ अगाडि बढ्न देश विदेशमा रहेका आम नेपाली समुदायमा आह्वान गर्दछौं। धन्यवाद।
Shares

प्रतिक्रिया