राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले ठूला राजनीतिक दलका शीर्ष नेताहरूकै कारण लोकतन्त्र असफल भएकाले उनीहरूले राजीनामा दिनुपर्ने बताएका छन्।
ठूला राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) को नेतृत्व गरिरहेकै नेताहरू असफल भएको प्रमाण आन्दोलनबाट पुष्टि भइसकेको बताएका छन्।
उनले नेता र नेतृत्वविरुद्धमा जनता सडकमा निस्किनु भनेको उनीहरू असफल भएको प्रमाण रहेको जिकिर गरे। कांग्रेस र एमाले र माओवादीको नेतृत्व गर्नेहरूले सरकारको पतनसँगै आफ्नो पार्टीमा राजीनामा बुझाउनुपर्नेमा त्यो हुन नसकेको बताए। आन्दोलनमा टेकेर भएको अपराध, तोडफोड, हत्याले शीर्ष नेताहरू राजकाज चलाउन असफल भएको स्पष्ट हुने बताए।
‘उनीहरूको नेतृत्वमा डेमोक्रेसी असफल भएको छ। उनीहरूको विरुद्धमा जनता सडकमा निस्किएका छन्। जसको सरकार हुँदा गोली चलेको छ। एकातिर कांग्रेस र एमालेले त सरकारको पतनसँगै राजीनामा पनि आफ्नो पार्टीमा सँगसँगै बुझाउनुपर्ने हो,' उनले भने, 'आन्दोलनमा टेकेर यत्रो अपराध भएको छ, तोडफोड भएको छ, हत्या भएको छ। उनीहरू राजकाज चलाउन पूर्ण रुपमा फेल भए। जेसुकै कारणले होस्। आम जनतको लागि यो सरकार पूर्ण रुपमा फेल भयो र जे जस्तो घटना भयो, त्यो उनीहरूको असफलतामा टेकेर भएको हो।'
जेनजी आन्दोलन शीर्ष नेताहरूको नेतृत्वको असफलतामै टेकेर भएको बताए। पार्टी दुब्लाएर हात्तीबाट मुसा भइसक्दा समेत माओवादीको नेतृत्वबाट पुष्पकमल दाहालले छोड्न नसकेको उनको टिप्पणी छ।
'सत्ता बाहिर रहेको माओवादी पार्टीका नेताले त उहिल्यै झन राजीनामा दिनुपर्ने हो। किनभने दुब्लाएर हात्तीबाट मुसा भइसक्यो तर पनि पार्टीको नेताले नेतृत्व छोडेका छैनन्। यि तीनजना नेताहरूले आफ्नो ढंगले जति हामीले गर्यौँ, अब हामीलाई बिदाबारी दिनुस् भनेर गइसक्नुपर्ने हो। कार्यकर्ताको चेत खुल्ने हो भने त्यो गर्ने हो। होइन भने दासत्व स्वीकार गरेर बस्ने।’
उनले सबै दलका कार्यकर्ताहरूले सचेततापूर्वक शीर्ष नेताहरूलाई पार्टीबाट अब बिदाइ गर्नुपर्ने बताए।
Shares

प्रतिक्रिया