राजनीति


घरमा जलेको भनिएको पैसाबारे जवाफ देउवाले नै दिनुपर्छ: विश्वप्रकाश शर्मा

घरमा जलेको भनिएको पैसाबारे जवाफ देउवाले नै दिनुपर्छ: विश्वप्रकाश शर्मा

फाइल तस्बिर


नेपालखबर
असोज ६, २०८२ सोमबार १९:५३, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी आन्दोलनको क्रममा भदौ २४ गते पार्टी सभापति शेरबहादुर देउवाको घरमा जलेको भनिएको पैसाको जवाफ घर वालाले नै दिनुपर्ने बताएका छन्।  

जेनजी आन्दोलनकारीको आक्रमणबाट ध्वस्त विराटनगरको कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले सभापति देउवालगायतको घरमा जलेको भनिएको पैसाबारे राज्यले अनुसन्धान गर्नुपर्ने बताएका हुन्। 

'यसलाई स्पष्ट गर्ने दायित्व घरवालाकै हो, स्पष्ट गर्ने कुरा उहाँहरूले गर्नुपर्छ। मैले ध्यानाकर्षण पनि गराइसकेको छु। यसलाई राज्यले अनुसन्धान गरेर हेर्ने हो, आशंका मात्रै हुन सक्छ,' उनले भने, 'सत्य हुन सक्छ भन्ने कुरा त हामीले अनुमानका भरमा भन्ने कुरो भएन। यसलाई बस्तुगत हेर्ने दायित्व राज्यको हो।'

आफूले टेलिफोन सम्पर्क गरेर सभापतिलाई यो विषयमा ध्यानाकर्षण गराएको उनको भनाइ छ। 

जेनजी आन्दोलनको क्रममा बूढानीलकण्ठ निवासमा आगजनी र तोडफोड भएको थियो। देउवा र उनकी श्रीमती आरजु देउवा राणामाथि निर्घात कुटपिटसमेत भएको थियो। 

देउवा निवास जल्दा नेपाली र विदेशी रुपैयाँहरू जलेको भिडिओहरू सार्वजनिक भएका थिए।  

देउवाको घरमा जलेको भनिएको पैसाबारे कांग्रेस जिल्ला सभापतिहरूको बैठकमा पनि प्रश्न उठेको थियो। 

देउवासँगै र कांग्रेस नेता दीपक खड्काको घरमा पैसा जल्दै गरेको भिडिओ सार्वजनिक भएको थियो। अहिले यसबारे सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान सुरु गरिसकेको छ। यता देउवाको सचिवालयले भने सार्वजनिक भिडिओ र पैसा जलेको भन्ने विषयको खण्डन गर्दै सत्य नभएको भनिसकेको छ। 
  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad