धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।
उनले असोज ७ गते नै आयोगमा दल दर्ताका लागि निवेदन दिएका स्रोतले नेपालखबरलाई जानकारी दिएको छ।
‘उहाँले दल दर्ताका लागि निवेदन दिनु भएको छ। पार्टीको नाम श्रम संस्कृति पार्टी र अध्यक्ष उहाँ आफैँ रहने गरी निवेदन प्राप्त भएको छ’ स्रोतले भन्यो।
आयोग स्रोतले दल दर्ताका लागि निवेदन प्राप्त भइसकेको र अध्ययनकै क्रममा रहेको जानकारी दियो।
‘दल दर्ताका लागि निवेदन आए पनि अध्ययनकै क्रममा छ, दसैँ बिदालगत्तै उक्त निवेदनबारे अध्ययन गरेर दर्ता प्रक्रिया अघि बढाइनेछ’ स्रोतले भन्यो।
धरानको खानेपानी मुद्दामा संघर्ष गरेका साम्पाङ सोही मुद्दाका कारण स्वतन्त्र रुपमा मेयर पद जितेका थिए।
मेयर भएपछि उनले धरानमा श्रमदान गरी पानीको व्यवस्थापन गरेका छन्।
उनी जेनजी आन्दोलनपछि देशकै नेतृत्व लिन भन्दै काठमाडौं आएका थिए। तर, उनको नाममा सहमति जुट्न सकेन।
साम्पाङले मन्त्री बन्न भारतीय दूतावास जानुपर्ने रैछ भन्दै आफू त्यसको लागि तयार नरहेको सामाजिक सञ्जालमा उल्लेख गरेका थिए।
Shares

प्रतिक्रिया