राजनीति


महाधिवेशनबारे टुंगोमा पुग्न नसकेपछि कांग्रेस केन्द्रीय समिति बैठक २ दिन पछि सारियो

महाधिवेशनबारे टुंगोमा पुग्न नसकेपछि कांग्रेस केन्द्रीय समिति बैठक २ दिन पछि सारियो

नेपालखबर
असोज २५, २०८२ शनिबार १८:४३, काठमाडौँ

पदाधिकारी र पूर्व पदाधिकारीको बैठक महाधिवेशनबारे टुंगोमा पुग्न नसकेपछि नेपाली कांग्रेसले भोलिदेखि बस्ने भनिएको केन्द्रीय कार्य समितिको बैठक २ दिन पछि सारेको छ। 

प्रवक्ता प्रकाशशरण महतका अनुसार अब केन्द्रीय समितिको बैठक असोज २८ गते बस्ने छ। त्यसअघि महाधिवेशनबारे छलफल गरेर निष्कर्षमा पुग्न कोसिस गरिनेछ।

‘अधिवेशन कहिले गर्न सक्छौँ भन्ने विषयमा पनि वृहत्तर छलफल भयो,’ बैठक सकिएपछि महतले भने, ‘हामीलाई अधिवेशन पनि गर्नुछ। तर, त्यो अधिवेशन विधिसम्मत, प्रक्रियासम्मत सबैको सहभागीता, युवाहरुको पनि सहभागीतामा गर्नु छ। हामी सबै चाहान्छौँ छोटो भन्दा छोटो समयमा होस् भन्ने हामी पनि चाहान्छौँ। तर, व्यवहारिक समय के हुन सक्दछ भन्ने कुरामा हामी अझै निष्कर्षमा पुग्न सकेका छैनौँ।’

‘त्यसो हुनाले कार्यसम्पादन समितिको सिफारिस अनुसार हामीले भोलिको केन्द्रीय समितिको पूर्ण बैठक रोखका थियौँ। त्यसलाई २ दिन पछाडि २८ गतेलाई लाने सबै एजेन्डामा चाँडै केन्द्रीय समितिमा छलफल गरेर निष्कर्षमा पुग्न सकियोस् र हामी बैठक चाँडै समापन गरेर पार्टीलाई एकजुट बनाएर सम्पूर्णरुपमा परिचालन गर्ने ठाउँमा पुग्न पनि सकौँ,’ उनले थपे। 

जेनजी आन्दोलनपछि पहिलो पटक नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बिहीबारदेखि सुरु भएको थियो। बैठकमा महाधिवेशनबारे छलफल भएको थियो।

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंसिरभित्रै नियमित महाधिवेशन गर्नुुपर्ने र त्यो गर्न नसकिए विशेष महाधिवेशन गर्नुपर्ने मौखिक प्रस्ताव राखेका थिए।

कतिपयले त्यसमा समर्थन जनाए पनि त्यसमा कांग्रेसका सबै नेताहरू निचोडमा पुुग्न सकेका थिएनन्। ठोस प्रस्तावबिना केन्द्रीय समितिमा जाँदा त्यहाँबाट झन् निष्कर्षमा पुग्न गाह्रो हुने भन्दै नेताहरु बैठक केही दिन सारेर भए पनि त्यसमा छलफल गर्न तयार भएका हुन्।

ललितपुरको सानेपास्थित आगजनीग्रस्त केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा भने उपस्थित भएनन्। बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad