राजनीति


भदौ २३ को घटनाका दोषीमाथि छानबिन गर्न एमालेको माग, २४ गतेको घटनालाई भन्यो- सुनियोजित

भदौ २३ को घटनाका दोषीमाथि छानबिन गर्न एमालेको माग, २४ गतेको घटनालाई भन्यो- सुनियोजित

नेपालखबर
असोज २९, २०८२ बुधबार १४:३३, काठमाडौँ

नेकपा एमालेको भदौ २३ र २४ गते भएको घटनाका दोषीमाथि छानबिन गरेर दोषीमाथि कारबाही गर्न माग गरेको छ। बुधबार सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदन पेस गर्दै यस्तो माग गरेका हुन्।

‘संसद् भवनमाथि आक्रमण, गोलीप्रहार र हत्या भदौ २३ गते माइतीघर मण्डलाबाट नयाँ बानेश्वर पुगेको शान्तिपूर्ण आन्दोलनमा विभिन्न अपरिचित, शंकास्पद र हिंस्रक समूहहरू घुसपैठ गरेर निषेधित क्षेत्र तोड्न, जेन जी युवाहरूलाई घेरेर संसद भवन घेर्न, पर्खाल भत्काउन, भित्र पस्न र मुठभेडको स्थिति सिर्जना गरिएको स्थानमा पुऱ्याइएको र त्यसो गर्न भड्काइएको यथार्थ विभिन्न तथ्यहरू मार्फत् बाहिर आइसकेको थियो,’ प्रतिवेदनमा भनिएको छ, ‘ त्यस्तो स्थिति कसरी सिर्जना भयो? सम्भाव्य घुसपैठको आंकलन गरेर आवश्यक सुरक्षा सतर्कता किन अपनाइएन र किन गोली चल्ने परिस्थिति निर्माण भयो? यो सुरक्षा त्रुटि मात्रै थियो कि त्यसमा अरू स्वार्थहरू पनि अन्तरनिहित थिए? त्यति ठुलो सङ्ख्यामा विद्यार्थी र युवाहरूको हत्या किन र कसरी भयो? यस घटनाको यथार्थ छानबिन गर्नु र दोषीलाई कानुन दण्डित गर्नु जरुरी छ।’

त्यस्तै भदौ २४ गतेको घटनालाई एमालले लामो तयारी सहितको र सुनियोजित भएको भनेको छ। ‘भदौ २४ गते देशव्यापी रूपमा जुन स्वरूपको तोडफोड, आगजनी र लुटपाटको आतंक सिर्जना भयो, त्यो कुनै स्वतःस्फूर्त, अघिल्लो दिनको घटनाको आक्रोशको परिणाम या सामान्य घटना थिएन,’ प्रतिवेदनमा भनिएको छ, ‘यो त लामो तयारी सहितको, सुनियोजित र राष्ट्र, जनता, लोकतन्त्र र संविधान विरुद्धको भयानक षडयन्त्र र आक्रमण थियो। वास्तवमा यो घटना विभिन्न शक्ति राष्ट्रहरूले शीतयुद्धपछि विभिन्न मुलुकमा गर्दै आएको तथाकथित ‘कलर रिभोल्युसन’ कै अभ्यासको निरन्तरता थियो।’

प्रतिवेदनमा अगाडि भनिएको छ, ‘यसको उद्देश्य सरकार परिवर्तन गर्ने मात्र थिएन, मुलुकको राष्ट्रियता, लोकतन्त्र र संविधानलाई नै समाप्त पारेर मुलुकलाई भूराजनीतिक भुँवरीमा फसाउने, मुलुकको अर्थतन्त्रको मेरुदण्ड भाँच्ने र देशलाई अस्थिरता र अराजकतातिर धकेल्ने थियो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad