राजनीति


पार्टीमा केके भयो कुरा गरी साध्य छैन, विद्या भण्डारीलाई बोलाऊँ: एमाले नेता पौडेल

पार्टीमा केके भयो कुरा गरी साध्य छैन, विद्या भण्डारीलाई बोलाऊँ: एमाले नेता पौडेल

नेपालखबर
असोज ३१, २०८२ शुक्रबार १५:२, काठमाडौँ

नेकपा एमालेका पाेलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले पार्टीमा केके भयो कुरा गरिसाध्य नभएको बताएका छन्। जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले पार्टी विधी हिनताको अवस्थामा पुगेको बताएका हुन्।  

'पार्टीमा त के के भयो के के? कुरा गरी साध्य छैन। चरम विधी हिनता चल्यो। हेरी साध्यको गुटबन्दी भएन। पार्टी काम गरे पनि हुने नगरे पनि हुने भयो। मौका मौकामा आएर कान फुके पुग्ने भयो,' उनले भने, 'काखा र पाखा गर्ने क्रम पनि खुबै चल्यो। अहिले सबै साथीहरूलाई पार्टीमा बोलाइएको छ। विद्या भण्डारीलाई पनि वोलाउने काम गर्दा राम्रो हुन्छ।'
 

यस्तो छ उनको भनाइ
 
हाम्रो पार्टीमा आउने सबै लिखतहरू राम्रै हुन्छन । राम्रो छ , सुन्दर छ भन्ने चलन छँदै छ । अन्तमा जे आयो , सबै पास हुन्छ । 

१, मलाइ लागेको कुरा राख्न चहान्छु : २१ गते सबै ठिक ठाक थियो । २२ गते सम्म इतिहासकै शक्तिशाली सरकार थियो। तोप हाने पनि नढल्ने सरकारमा हामी नै थियौँ। सीचीनफीङ र पुटिनसँग भेटेर आएकै थियौँ। अमेरिका पनि पुगेर आइसकेका थियौँ। भारतसंग सम्वन्ध सुध्रेको थियो। फेरि जाने मिति तय थियो। २३ गते एउटा भूकम्प आयो। २४ गते त्रासदी र सरकार ढल्यो । यो कसरी वाहिरी र भूराजनिती मात्र हुन सक्छ। शासकिय कमजोरी र आन्तरिक असन्तुष्टी कति थिए। कुनैपनि घट्नाको लागी आन्तरिक कारण प्रमुख हुन्छ भन्छन्। यसमा अझ गहिरो विश्लेषण आवश्यक छ। 

२,पार्टीमा त के के भयो के के? 
कुरा गरी साध्य छैन। चरम विधी हिनता चल्यो। हेरी साध्यको गुटबन्दी भएन। पार्टी काम गरे पनि हुने नगरे पनि हुने भयो। मौका मौकामा आएर कान फुके पुग्ने भयो। काखा र पाखा गर्ने क्रम पनि खुवै चल्यो। अहिले सबै साथीहरूलाई पार्टीमा बोलाइएको छ। बहुत राम्रो कुरा हो ।
विद्या भण्डारीलाई पनि बोलाउने काम गर्दा राम्रो हुन्छ।

३, जनताको मन जित्ने की चुनाव जित्ने !घेराबन्दीको गफ गर्ने की घेरा तोड्ने । नितीको रक्षा गर्ने कि नेतृत्वको ? नेतृत्व व्यक्ति हो की समग्र पार्टी कमिटी ? नेतृत्वको रक्षा विधिले गर्छ की वक्तव्यले ? पार्टी व्यक्तिले चलाउने की सचिवालयले ? अहिले यी प्रश्नहरूमा गम्भीर छलफल गर्नु होस् । जहाँसम्म अहिलेको एमाले छ। यो सिमीत घेराबन्दीबाट परिचालित छ । देशमा यत्रो वरवादी हुँदा कतै प्रतिरोध भएन। दरो नेतृत्व र राष्ट्रिय शक्तिको कुरा कता गयो। ज्यान जोगाउन हेलीकप्टर चढेर भाग्नु पर्‍यो। फेरि पनि उस्तै ढंगले पार्टी चलाएर हुन्छ ? अब त्यसरी अघि बढ्न पनि सकिँदैन! संसद पुनर्स्थापना जनताको एजेण्डा होइन। युवाहरूलाई गोलबन्द गर्ने योजना खोई?  आम कार्यकर्ता उत्साही हुने खुराकी खोई? नेता कार्यकर्तालाई एकतावध्द वनाउने आधार खोई? पार्टीमा लोकतान्त्रिकरणको दृष्टिकोण र योजना खोई? यी र यस्ता समग्र विषयमा गहन समिक्षा गर्नुहोस्। सामूहिक नेतृत्व प्रणालीमा विश्वास गर्नुहोस। निर्णयमा साझा अपनत्व कायम गर्नु होस ।
अनी दरिलो र एकताबद्ध एमाले बन्छ।

४, मत भन्छु ७० नाघेका कमरेडहरू! महाधिवेशन पछि कार्यकारी भूमिका छाडी दिनुहोस्।
तपाईँहरूले गर्न बाँकी के पो छ र ? भूमीगत जानु भो, जेलनेल खानु भो। लोकतन्त्र, गणतन्त्र ल्याइहाल्नु भयो। आफ्नो पूरा क्षमता देखाइसक्नु भो ।पटक पटक सरकार बनाउनु भयो। पालै पालो मन्त्री, प्रधानमन्त्री हुनुभयो। सबैसँग सरकारको प्रयोग गरि सक्नु भयो ।अन्तीममा काग्रेस संग मज्जाले फस्नु भयो। हामीलाई ताली बजाको बजायै बनाउनु भयो। सरकारको नेतृत्वमा बसेर खुब काम गर्नु भयो। सूचना हिनता र सुन्यतामा दौडिइ रहनु भयो। इतिहासको शक्तिशाली सरकार फुस्सै ढल्यो। हाम्रै पार्टी नेतृत्वको सरकार हुदा नरसंहार भयो। सत्तामा हुँदाहुँदै टाउको लुकाएर भाग्नु पर्यो। देश खरानी भयो, पार्टी कार्यालय भष्म भए। सयौ नेता कार्यकर्ताको घरमा डढेलो लाग्यो। चारैतीर शंका, अविश्वास र निराशा छायो। देशकै लोकप्रीय पार्टी पूरै चरी नंगा भयो। फेरि पनि कोही जिम्मा लिन तयार छैनौँ। बरू नेतृत्वमा कसरी वसि रहने। एउटै चिन्ता प्रकट गरी रहने। अब के गर्न बाँकी छ कमरेड। अब त मान्नोस है तपाईँहरू ! 
जरूरी परे हामी बोलाइहाल्छौँ नि।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad