प्रधानमन्त्री सुशील कार्कीले वर्तमान सरकारको प्रमुख प्राथमिकता तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनु रहेको बताएकी छन्।
शुक्रबार अपरान्ह सिंहदरबारमा नेपालस्थित विभिन्न देशका राजदूत तथा कुटनीतिक नियोग प्रमुखहरुसँग पहिलो पटक सामुहिक भेटगरी उनले आफू नेतृत्वको अन्तरिम सरकारको कामको प्राथमिकताबारे ब्रिफिङ गरेकी हुन्।
परराष्ट्रमन्त्रीको समेत कार्यभार सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले नेपालको विदेश सम्बन्ध र त्यसका नीतिका बारेमा पनि आफ्नो धारणा राखेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए। त्यस अवसरमा प्रधानमन्त्री कार्कीले निर्वाचनमा सहयोगको अपेक्षा गरिएको पनि बताइन्।

उनले निर्वाचनमा अन्तर्राष्ट्रिय पर्यवेक्षक परिचालन र विदेशमा रहेका सबै नेपालीहरुलाई पनि मतदानमा सहभागी गराउने विषयमा पनि छलफल भइरहेको बताएकी थिइन्। फागुन २१ गतेको निर्वाचनमा विदेशमा रहेका सबै नेपाली नागरिकलाई मतदानमा भाग लिन लगाउने विषयमा पनि आफूले छलफल गरिरहेको कुरा पनि प्रधानमन्त्री कार्कीले राजदूतहरुसँग गरेकी परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रवक्ता क्षेत्रीले भने, ‘एक किसिमले परराष्ट्रमन्त्रीको हैसियतले उहाँले यो ब्रिफिङ गर्नुभएको हो। चुनावको विषयमा यहाँहरुलाई थाहा नै छ। चुनाव महत्वपूर्ण प्राथमिकता भएको हुनाले चुनावसँग सम्बन्धित मूलतः ३ वटा विषयहरु एउटा सहयोग, सद्भावको विषय। दोस्रो यो चुनावमा जुन विदेशी पर्यवेक्षकहरु मोविलाईज गर्ने कुरा हुन्छ। त्यो विषयमा पनि कुरा भयो। र तेस्रो सम्भावनाको हिसावले विदेशमा रहेका नेपालीहरुलाई पनि यो चुनावमा सहभागी गराउन सकिने विषयमा सम्भावना अध्ययन भइरहेको विषयमा पनि उहाँले जानकारी गराउनु भयो।’
प्रधानमन्त्री कार्कीसँगको भेटमा नेपालस्थित विभिन्न देशका राजदूत र कूटनीतिक नियोगका प्रतिनिधिहरु सहभागी भएका थिए।
Shares

प्रतिक्रिया