राजनीति


गगन-विश्वलाई वीरबहादुरको प्रश्न: म्याद गुज्रिसकेका प्रतिनिधिको हस्ताक्षर ल्याएर विशेष महाधिवेशन गर्ने?

गगन-विश्वलाई वीरबहादुरको प्रश्न: म्याद गुज्रिसकेका प्रतिनिधिको हस्ताक्षर ल्याएर विशेष महाधिवेशन गर्ने?

वीरबहादुर बलायर। फाइल तस्बिर


नेपालखबर
असोज ३१, २०८२ शुक्रबार १६:२१, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय कार्यसमितिको बैठकमा नेता वीरबहादुर बलायरले पार्टीको विशेष महाधिवेशन माग गर्ने नेताहरूलाई प्रश्न गरेका छन्।  

शुक्रबारको बैठकलाई सम्बोधन गर्दै उनले यसबारे महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको प्रशंसा गरेको विषयमा प्रश्न गरेका हुन्।  

'हामी खण्डहरमा छौँ तर पनि हाम्रो बानी व्यहोरा सुधार्ने कुनै लक्षण छैन। हिजो शेरबहादुरले पार्टी सकाइसक्यो, यो पार्टी डुबाइसक्यो भन्नेहरू आज प्रशंसा गर्दै हुनुहुन्छ। हिजो शेरबहादुरले पार्टीमा बस्नुहुँदैन भन्नेहरूले आज प्रशंसा गर्दैमा चोखो हुँदैन, इतिहासमा यसको लेखाजोखा गर्नेछ' उनले भने।   

केन्द्रीय समिति बैठको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको विषयलाई महामन्त्रीद्वय थापा र शर्माले प्रशंसा गरेका थिए। त्यसअघि उनीहरूले देउवामाथि प्रश्न गरेका थिए। बलायरले यसैमा उनीहरूलाई नै प्रश्न गरेका हुन्।  

घरमै निर्घात कुटिएर अस्पतालमा भर्ना भएको र घर जलेर खरानी भएका बेला देउवाप्रति सद्भाव नदेखाउनेहरूले कार्यवाहक दिएपछि प्रशंसा गरेको नसुहाएको उनको भनाइ छ। 'पार्टीमा मान पाउन कि मर्नुपर्ने कि पार्टी छोड्नुपर्ने?,' बलायरले सोधे, 'म विशेष महाधिवेशनका अभियानकर्तालाई सोध्न चाहन्छु- विशेष महाधिवेशनको हस्ताक्षरको आवश्यकता किन पऱ्यो? पछिल्लो प्रदर्शनपछिको परिस्थितिपछि हामीले विशेष महाधिवेशनको परिकल्पना गरेको हौँ? शेरबहादुर देउवाले नियमित महाधिवेशन हुँदैन भनेका थिए? कि केन्द्रीय कार्यसमितिले नियमित महाधिवेशनको मिति तय गरेर सारेको थियो?'

महामन्त्री थापाले एजेन्डा प्रस्तुत गर्दा मंसिरभित्रै महाधिवेशन भनेको विषयमा प्रश्न गर्दै उनले कसले रोकेको छ भनेर उनले सोधे। 'महामन्त्रीले यहाँ मंसिरमै महाधिवेशन गर्ने भन्नुभयो। गर्नुस् न कसले रोकेको छ? शेरबहादुरले रोकेको हो? जसको म्याद गुज्रिसकेको छ। उसको हस्ताक्षर ल्याएर म्याद सकिएको कार्यसमितिको विशेष महाधिवेशन गर्ने?' उनले थापालाई प्रश्न गरे। 

उनले मंसिरमा महाधिवेशन गर्न कसले रोकेको छ? भन्दै थप प्रश्न पनि गरे। त्यस्तै उनले सरकारको संयन्त्रमा सहभागी भएको महामन्त्रीले नै सरकारप्रति प्रश्न उठाउनु अस्वभाविक भएको बताए। 

'हिजो सरकारमा संयन्त्रमा बसेर सरकार सञ्चालन गर्ने, त्यो सरकार अपदस्थ भएपछि अहिलेको सरकारलाई मान्यता दिन पुग्ने तपाईंहरू नै होइन? तपाईं संयन्त्रमा बसेर काम गर्ने अनि त्यसको दोष शेरबहादुरले मात्र लिनुपर्ने? उनले थापालाई नै सोधे।  

उनले अहिले निर्वाचनमा सहभागी हुनुपर्ने भन्ने मत राखिरहेका नेताहरूलाई निर्वाचनको वातावरण बन्नुपर्ने हो कि होइन भन्दै प्रश्न गरे। उनले सरकारको कार्यशैली, क्षमता र राजनीतिक वातावरणको मूल्यांकनसमेत नगरी चुनावमा भाग लिनुपर्छ भन्नु राजनीतिक अपरिपक्वता भएको उनको भनाइ छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad