नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा डिला संग्रौलाले पार्टीभित्र ‘आन्तरिक सुशासन आयोग’ गठन गर्न माग गरेकी छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा डा.संग्रौलाले आयोगलाई पार्टीका जनप्रतिनिधिहरूको विगतको प्रवृत्ति समीक्षा गर्दै, निश्चित मापदण्डका आधारमा अनुगमन गरी प्रोत्साहन, चेतावनी र कारबाही सिफारिस गर्ने अधिकार दिनुपर्ने बताएकी हुन्।
त्यसो गर्न सकेमा पार्टीभित्र स्वच्छ छवि र जबाफदेहिता स्थापित गर्न मद्दत पुर्याउने तथा भ्रष्टाचारका हरेक प्रकरणको गहिराइमा गएर निष्पक्ष छानबिन गर्न नेपाली कांग्रेसको प्रस्ट प्रतिबद्धता र पूर्ण सहयोग रहनुपर्ने संग्रौलालले बताइन्।
‘सुशासनको स्थापना हाम्रो राजनीतिक एजेन्डाको केन्द्रबिन्दु हुनुपर्छ। पार्टीको यौवन फर्काउन, हामीले विधानमा संशोधनको ढोका खोल्नै पर्छ,’ संग्रौलाले भनिन्, ‘बैठकले पार्टीको सबै तहमा प्रतिस्पर्धा मार्फत जेनजी उमेर समूहको प्रतिनिधित्व सुनिश्चित गराउने प्रावधान व्यवस्था गर्नुपर्दछ। युवाहरूको ऊर्जा र दृष्टिकोणलाई पार्टी सञ्चालनमा समावेश नगरी कांग्रेस आधुनिक बन्न सक्दैन।’
पार्टीलाई आधुनिक, जीवन्त र युवामैत्री बनाउन दृढ सङ्कल्प गर्नुपर्ने बताउँदै संग्रौलाले २००७ सालदेखि अहिलेसम्म मुलुकको हरेक राजनीतिक परिवर्तनको नेतृत्व गरेको कांग्रेसले मुलुकमा शान्ति, स्थिरता र विकासको बाटोमा डोर्याउन नेतृत्व लिनुपर्ने बताइन्।
उनले भदौ २४ गते देशभरि कांग्रेस नेतृत्व र कार्यालयहरू नेताहरूका घरमा कसले आगो लगायो? छानबिन गरेर दोषी जो कोही पाइए पनि तिनलाई कडा कारबाही गर्नुपर्ने बताइन्।
प्रतिनिधिसभा निर्वाचनलाई सुनिश्चित बनाउँदै लोकतान्त्रिक संविधानलाई सहज मार्गमा अघि बढाउने कार्यमा कांग्रेस अग्रसर हुनुपर्ने उनको भनाइ थियो।
Shares

प्रतिक्रिया