पार्टीको विशेष महाधिवेशनको माग गरी केन्द्रीय कार्यालयमा हस्ताक्षर बुझाएका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले प्रवक्ता प्रकाशशरण महतले आफूहरूलाई हेपेको आरोप लगाएका छन्।
आफ्नो धारणा सार्वजनिक गर्न आज बिहान नयाँ बानेश्वरस्थित थापा गाउँ ब्याङ्केटमा पत्रकार सम्मेलन गरी उनीहरूले विशेष महाधिवेशन माग गरी ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिले बुझाएको हस्ताक्षरलाई प्रवक्ता महतले अवमूल्यन गरेको आरोप लगाएका हुन्।
हस्ताक्षरकर्ताहरूका तर्फबाट आफ्नो धारणा राख्दै नेता सुवासकुमार पोखरेलले भने, ‘कताकता सुन्दैछु– प्रवक्ता प्रकाशरण महत दाइलाई म यहीँबाट कोट गरेर भन्न सक्छु। भन्छु म। उहाँले के भनिरहनुभएको छ भने यो रिफरेन्स प्रस्ताव हो भनिरहनुभएको छ, यो रिफरेन्स प्रस्ताव होइन, यो ५३ प्रतिशत मान्छेहरूको एजेन्डा हो। त्यसलाई तपाईं हेप्दै हुनुहुन्छ। महाभारतको जस्तो शकुनीको जस्तो कप्टी भाषा पस्किँदै हुनुहुन्छ। यो हामी ध्यानपूर्वक हेरिरहेका छौँ। देशभरका साथीहरूलाई भन्छौँ– षड्यन्त्र कप्टी पासा राजनीतिमा नफाल्न साथीहरूको मर्यादा राख्न, ५३ प्रतिशत साथीहरू भनेको, त्यसको मर्यादामा बस्न पनि म प्रकाशशरण महतलाई भन्दछु।’
Shares

प्रतिक्रिया