राजनीति


खुसी हुँदै बाबुल भेट्न पुगेकी नितुले जब आफैँलाई आगो लगाइन्

‘म मर्ने बेला तिमी चैँ आउनु’ भन्दै एक हप्ताअगाडि भिडिओ पोस्ट गरेकी थिइन्
खुसी हुँदै बाबुल भेट्न पुगेकी नितुले जब आफैँलाई आगो लगाइन्

आयुषा ढकाल
कात्तिक ७, २०८२ शुक्रबार १९:२३, काठमाडौँ

‘म मर्ने बेला तिमी चैँ आउनु...’  भन्दै एक हप्ताअगाडि गायिका नितु पौडेलले एउटा टिकटक भिडिओ पोस्ट गरेकि थिइन्। अन्तत: त्यो नै उनको अन्तिम टिकटक भिडिओ बन्न पुग्यो। 

गायिका नितु पौडेल र संगितकार बाबुल गिरी (धनबहादुर) ७–८ वर्षदेखि प्रेम सम्बन्धमा थिए। छिट्टैनै बाबुलसँग विवाह गर्ने नितुको चाहना थियो। 

बाबुलका बुवाको मृत्यु भएको हुनाले एक वर्षपछि मात्र हामी विवाह गर्ने भनेर उनले नितुलाई अल्झाइराखेको नितुको दाई गणेश पौडेल बताउँछन्। 

आफ्नो सम्बन्धको बारेमा नितुले आफ्नी बहिनी र परिवारका अन्य सदस्यलाई पनि भनेकि थिइन्। उनको परिवारमा उनको दाई, बहिनी र आमाबुवा छन्।

नितुको परिवारले बाबुलले प्रेम सम्बन्धको नाममा नितुसँग शारीरिक शोषण मात्र गरेको दाबी गर्दै जाहेरी दिएका छन्।   

बाबुलका दिदी तथा परिवारका अन्य सदस्यले पनि विगत एक वर्षदेखि नितुलाई धाकधम्की र मानसिक यातना दिँदै आएको दाइ गणेशको आरोप छ।  

नितुले केहि समय अघिदेखि आफू पिडामा भएको झल्किने किसिमका टिकटक भिडिओ बनाउने र फेसबुकमा लेखेर पोस्ट गर्ने गर्दै आएकी थिइन्।

नितुको परिवारले बाबुल गिरीको नाममा जाहेरी दिएका छन्। शनिबार बाबुलले नितुलाई अनामनगरस्थित स्टुडियोमा ‘हाम्रो विवाहको बारेमा आज टुङ्गो लगाउनु छ’ भनेर बोलाएको परिवारको भनाई छ। 

जुन कुरा उनले आफ्नो परिवारलाई बताउँदै ‘म बाबुलको स्टुडियो जाँदैछु’ भनेको पनि परिवारले जनाएको छ। उक्त समयमा स्टुडियोमा बाबुल र नितुबाहेक कोहि पनि थिएन। 

यो घटना शनिबार दिउँसो २:४५ बजे घटेको गणेश बताउँछन्। अचानक स्टुडियोबाट चिच्याएको आवाज आएसँगै आगो बलेको देखेपछि मान्छेहरू जम्मा भएका थिए। नितुलाई तत्कालै कीर्तिपुरस्थित वर्न हस्पिटल लगिएको थियो। 

बर्न हस्पिटलमा उपचाररत नितुको ६० प्रतिशत शरीर अस्पताल ल्याउँदासम्म जलिसकेको बर्न हस्पिटलका निर्देशक किरण नकर्मीले बताए। 

डाक्टरका अनुसार श्वासनली जलेको थियो।

‘श्वासनली डिप वर्न थियो। त्यसै कारणले गर्दा उहाँलाई बचाउन सम्भव भएन। एक हप्ता अस्पताल राख्दा पनि कुनै सुधार आएन,’ निर्देशक नकर्मीले भने, ‘उहाँमा सुधार नदेखिने भएपछि हामीले उहाँको परिवारसँग पनि त्यो अनुसारको कुरा गरेका थियौँ।’  

शनिबार आफैँमाथि पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेकी नितुको एक हप्तापछि आज शुक्रबार बिहान ८:२० बजे मृत्यु भएको चिकित्सकले जनाएका छन्।  

बाबुल अहिले काठमाडौँ प्रहरी परिसरमा रहेको गणेशले नेपालखबरलाई जानकारी दिए।  

नितुका दाई गणेश बहिनीको न्यायको लागि आफूहरू लड्ने र कानुनी उपचार खोज्ने बताउँछन्। उनले यस घटनालाई आत्मदाह नभई हत्या भएको आरोप लगाएका छन्। नितुको शव हाल पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको छ।  

आत्महत्या दुरुत्साहनको जाहेरी
नितुको निधनपछि उनको परिवारले गिरीविरुद्ध प्रहरीमा जाहेरी दिएको छ। नितुका बाबु रमेशप्रसाद पौडेलले छोरीको हत्या भएको दाबी गर्दै आत्महत्या दुरुत्साहनमा प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ। 

‘रमेश प्रसाद पौडेलको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी धनबहादुर भन्ने बाबुल गिरी भएको आत्महत्या दुरुत्साहन भएको मुद्दामा जाहेरी दरखास्त वा सूचना प्राप्त भई मुलुकी फौजदारी कार्यविधि संहिता ऐन ०७४ को उपदफा ३ बमोजिम यस प्रहरी कार्यालयको दर्ता किताममा ०८२/०७/०७ मा दर्ता भयो,’ प्रहरी वृत्त सिंहदरबारका प्रहरी निरीक्षक सुनिल कार्कीले भने।

प्रहरीले गिरीलाई यसअघि नै नियन्त्रणमा लिएर घटनाबारे सोधपुछ पनि गरेको थियो। यस घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

यस्तो छ नितुको परिवारले दिएको जाहेरी पत्र :

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad