दलित अभियन्ता खगेन्द्र सुनार मन्त्री बन्ने भएका छन्।
उनीनिकट स्रोतले नेपालखबरलाई दिएको जानकारीअनुसार उनी सुशीला कार्की नेतृत्वको सरकारमा मन्त्री बन्ने भएका हुन्।
‘उहाँ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने हुनुभएको हो’, स्रोतले भन्यो।
सुनार केही समयदेखि काठमाडौँमा दलित अभियान सञ्चालन गरेर चर्चामा छन्।
खासगरी उनले शरीरभरि नेल लगाएर दलितलाई खै अभियान सञ्चालन गरेपछि धेरैको ध्यान तानिएको थियो।
२०४७ जेठ २ गते दैलेखको नारायण नगरपालिका-५ छातीकोटमा जन्मिएका खगेन्द्रले कर्णालीमा पनि दलित अधिकारका क्षेत्रमा काम गरिरहेका छन्।
विद्रोही स्वभावका खगेन्द्रले काठमाडौँको आरआर क्याम्पसबाट राजनीतिशास्त्र र इतिहासमा स्नातक गरेका छन्।
उनी पूर्व कलाकार तथा पत्रकार हुन्।
२०६६ सालदेखि कलाकारितामा लागेका उनले रेडियो पञ्चकोसीबाट पत्रकारिता थालेका थिए।
२०६८ सालमा काठमाडौँ आएका उनले यहाँ पनि केही समय रेडियो सगरमाथालगायत सञ्चारमाध्यममा काम गरेका थिए।
Shares

प्रतिक्रिया