सुदन गुरुङको ‘द काउन्सिल अफ जेनजी’का ६ जना प्रदेश संयोजकसहितका जेनजी अगुवा ऊर्जामन्त्री कुलमान घिसिङले खोल्ने दलमा सहभागी भएका छन्।
बागमती प्रदेशकी संयोजक अफसाना बानु, मधेसका शिव यादव, गण्डकीबाट प्रदीप पाण्डे, लुम्बिनीका आदित्य अर्याल, सुदूरपश्चिमबाट खेमराज साउद र कर्णालीबाट प्रकाश खड्का उक्त दलमा संलग्न भएका हुन्। अन्य केही अगुवा पनि सो पार्टीमा जाने उनीहरूको भनाइ छ।
उनीहरूलाई केन्द्रीय सदस्य बनाइने छ।
कुलमानले उज्यालो नेपाल नामक दल दर्ताका लागि निवेदन दिने अन्तिम तयारी गरेका छन्। उनीहरूले चुनाव चिह्नमा बिजुलीको चिम माग्ने भएका छन्। यद्यपि, हाललाई यो पार्टीको संयोजकमा पूर्वसचिव अनुपकुमार उपाध्यायको नाम हुनेछ।
कुलमान चुनावको मुखमा मात्रै मन्त्रीबाट राजीनामा दिएर पार्टी नेतृत्वमा आउने छन्।
कुलमानको पार्टीलाई काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह र सुदन गुरुङको समर्थन रहने चर्चा छ। यद्यपि, सुदन आफैँ नभई उनीनिकट जेनजी युवा यो दलमा आबद्ध हुने भएका छन्।
‘हामी कुलमान घिसिङलाई नै नेतृत्व मानेर अगाडि बढ्न खोजिरहेका छौँ,’ काउन्सिलका मधेस प्रदेश संयोजक शिव यादव भन्छन्, ‘अब त्यसमा जति पनि वैकल्पिक शक्तिहरू, संस्थागत रुपमा राजनीतिमा आउँछु भन्ने साथीहरू सबैलाई जोडेर कुलमानजीको नेतृत्वमा नयाँ राजनीतिक हिसाबले अगाडि बढ्न खोजिरहेका छौँ।’
कुलमानले तीन वटा मन्त्रालयको भार बेहोरिरहेको हुनाले उनले तत्काल पार्टीको नेतृत्व नसम्हाल्ने यादवको भनाइ छ।
६ प्रदेशका संयोजकहरू संलग्न भए पनि कोसी प्रदेशका संयोजक उपार्जुन चाम्लिङ भने हालसम्म उक्त दलमा जोडिएका छैनन्। आत्माले नमानेकाले आफू नगएको उनको भनाइ छ।
‘केही कुराहरू स्पष्ट नभएकोले हाल दलमा जान नैतिक हिसाबले मेरो आत्माले स्वीकार गरेन,’ उपार्जुनले भने।
तर, गण्डकी प्रदेशका प्रदेश संयोजक प्रदीप पाण्डेले मंगलबार उपार्जुन पनि आउने बताए।
‘हामी जेनजीका प्रदेश संयोजकहरू सबै छौँ दलमा, उपार्जुनजी पनि भोलि आउँछु भन्नु भएको छ,’ पाण्डेले भने, ‘भोलि एउटा निष्कर्ष आउँछ। सायद भोलि नै दल दर्ताका लागि निर्वाचन आयोगमा जान्छौँ।’
आफूहरू कुलमान घिसिङसँग धेरै पटक छलफलमा बसेको र हरेक पटक आफूहरूले दल जेनजीको स्पिरिटभन्दा बाहिर नजाओस् भन्ने कुरा राखेको पाण्डेले बताए।
पाण्डे भन्छन्, ‘सबैलाई समेटेर जानु पर्छ, यो एउटा नयाँ लडाइँ हो। चुनाव भनेको त्यति सजिलो हुँदैन म एक्लै गर्छु भनेर पनि सम्भव छैन। उहाँहरूको हृदय महान छ, उहाँहरूले त्याग गर्नुहुन्छ।’
केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन भइसकेको छ। यो दल ‘सेन्टर टु लेफ्ट’ हुने उपार्जुनको भनाइ छ।
रास्वपामा मिसिने प्रयास असफल भएपछि कुलमानले अलग पार्टी गठन गर्न लागेका हुन्। अन्तिम समयमा आएर पार्टी नाममा विचार नमिल्दा सुमना श्रेष्ठ पनि कुलमानबाट अलग भएकी छन्।
Shares

प्रतिक्रिया