राजनीति


तीनै समूहबीच तारन्तार छलफल, अब के गर्न खोज्दै छन् जेनजी?

‘जेनजी आन्दोलनले वैधानिकता पाएन भने चुनाव हुन सक्दैन’
तीनै समूहबीच तारन्तार छलफल, अब के गर्न खोज्दै छन् जेनजी?

आयुषा ढकाल
कात्तिक २९, २०८२ शनिबार ७:४३, काठमाडौँ

कात्तिक २४ गते राति सवा एघार बजे नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले ‘ताजा अपडेट : सँगै छैनौ भन्नेहरूको लागि उपहार’ भन्दै फेसबुकमा एउटा सेल्फी पोस्ट गरेकी थिइन्।

हामीले यो रिपोर्टको आवरण तस्बिर बनाएको सो फोटोमा जेनजी प्रतिनिधि रक्षा बमका साथ उपार्जुन चाम्लिङ र रिजन रानामगर पनि देखिन्छन्।

अलगअलग समूह र कित्तामा छिन्नभिन्न भएका जेनजीहरू त्यो दिन (कात्तिक २४ गते) आपसी वार्तामा बसेका थिए। जसमा सुदन गुरुङको समूहबाट उपार्जुन, नेपाल जेनजी फ्रन्टको तर्फबाट रक्षा र अलायन्सको तर्फबाट रिजन रानामगरबीच साढे दुई घण्टा छलफल भएको थियो।

जेनजी आन्दोलनको बलमा बनेको सरकारप्रति केही असन्तुष्टि र नयाँ दल गठन वा भइरहेका दलमा संलग्न हुने भन्ने अलमलका बीच भएको एकीकृत वार्तामा अब के गर्ने भन्ने विषयमा छलफल हुँदा रक्षा र रिजन सडकमै रहनुपर्छ भन्ने पक्षमा उभिए। तर, उपार्जुनले सडकले दिनुपर्ने कुरा दिइसकेको हुनाले अब राजनीतिक रूपमा अगाडि बढ्नु पर्ने तर्क गरे।

राजनीतिक वैधानिकताको लागि दल चाहिने भन्दै उपार्जुनले अन्य दुई जनालाई मनाए।

त्यसको भोलिपल्ट कात्तिक २५ गते जेनजी मुभमेन्ट अलायन्स, काउन्सिल अफ जेनजी र नेपाल जेनजी फ्रन्टबाट विभिन्न प्रतिनिधिहरूबीच छलफल भयो। सो छलफलमा रक्षा बम, युजन राजभण्डारी, जनक पोख्रेल, सामना लावती, अनुसा खनाल, मोनिका निरौला, रिजन रानामगर, अमित खनाल ऊर्जा, सान्केन राई, कमल थापामगर, उपार्जुन चाम्लिङ, प्रदीप पाण्डे, शिव यादव, अफ्साना बानु, आदित्य अर्याल, खेमराज साउद र प्रकाश खड्का थिए। 

जेनजी आन्दोलनपछि युवाहरूबीच अब के गर्ने भन्नेबारे डिस्कर्डमा होइन, भौतिक रुपमै पहिलो पटक यति ठूलो भेला भएर छलफल भएको हो। 

कहिले वसन्तपुरको चिया अड्डामा त कहिले अन्यत्र, समूहगत र छुट्टाछुट्टै उनीहरूबीच शुक्रबार (२८ गते) सम्मै छलफल जारी रह्यो।

त्यसैको फलस्वरूप, शुक्रबार विभिन्न जेनजी समूहले एकमतले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रस्तावित सम्झौता पत्र बुझाए। यसको उदेश्य जेनजी आन्दोलनलाई वैधानिकता दिनु रहेको उनीहरूको भनाइ छ।

हस्तान्तरण समारोहमा हामी नेपालका संयोजक सुदन गुरुङ, पुरुषोत्तम यादव, रक्षा बमलगायत सहभागी थिए। प्रस्तावित सम्झौता पत्रमा जेनजी आन्दोलनका दोषीहरूलाई कारबाही गर्नेदेखि संविधान संशोधनसम्मका कुरा समेटिएका छन्।

जेनजीहरूबीच सघन छलफल भएको अर्को विषय हो– अब के गर्ने? थुप्रै जेनजी दल खोलेर वा अस्तित्वमा रहेकै दलमा संलग्न भएर राजनीतिमा होमिन चाहन्छन्। तर, कतिपयको आवाज आन्दोलनलाई वैधानिकता नदिऊञ्जेल र जुनसुकै बेला आन्दोलनकारीमाथि कारबाहीको जोखिम रहुञ्जेल चुनाव गर्न नहुने मत पनि उल्लेख्य मात्रामा छ।

‘हाम्रो आन्दोलनले अहिलेसम्म कागजी हिसाबले वैधानिकता पाएको छैन। यदि आन्दोलनले वैधानिकता पाएन भने चुनाव हुन सक्दैन,’ एक जेनजी प्रतिनिधि भन्छन्।

आन्दोलनले वैधानिकता नपाई दल खोले आफूहरू दलको प्रतिनिधि हुन पुग्ने उनको भनाइ छ। बरु दल दर्ताको म्याद पछि सार्नुपर्ने उनको भनाइ छ।

‘जेनजीकै कारण मुलुक चुनाव हुने वातावरणमा पुगेको हो, जेनजीकै दल नबनिसकेको अवस्था छ, जेनजी नै चुनावमा जाने परिस्थिति छैन। त्यस्तोमा कानुनी अफ्ठ्याराहरू छैनन् भने दल दर्ताको समयलाई सार्नुपर्ने पनि हुन्छ,’ उनले भने।

जेनजीहरूले सबैलाई समेटेर लैजाने भने तापनि आफूहरूलाई कसैले केही प्रस्ताव नगरेको सहिद श्रीयम चौलागाइँका बुवा गणेश बताउँछन्।

‘हामीलाई जेनजीले समेट्नै सक्दैनन्,’ उनी भन्छन्।

घाइते जेनजी बिजेस गोले भने आफूहरूसँग छुट्टा–छुट्टै जेनजी प्रतिनिधिहरूले भेटेको र कुराकानी भइरहेको बताउँछन्।

कुलमान घिसिङको उज्यालो नेपाल पार्टीमा रहेकी भनिएकी टासी ल्हाजोमले पनि आफू जेनजीकै साथमा रहेको बताइन्।

टासी भन्छिन्, ‘म पार्टीमा गएँ भने जेनजीको टिमसँगै जान्छु, नत्र जादिनँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad