राजनीति


जबसम्म सर्बसम्मत निर्णय गर्ने अवस्था बन्दैन, बैठक सारिरहन्छु: पूर्णबहादुर खड्का

जबसम्म सर्बसम्मत निर्णय गर्ने अवस्था बन्दैन, बैठक सारिरहन्छु: पूर्णबहादुर खड्का

नेपालखबर
मंसिर ११, २०८२ बिहिबार २२:४, काठमाडौँ

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा सर्वसम्मत निर्णय गर्ने अवस्था नआएसम्म केन्द्रीय कार्यसमितिको बैठक सारिरहने बताएका छन्। 

बिहीबार साँझ सामाजिक सञ्जालमार्फत उनले यस्तो सन्देश दिएका हुन्। 

शुक्रबार बस्ने भनिएको बैठक सार्नुपरेकोमा उनले माफी पनि मागेका छन्। 

‘माफ पाउँ सबैसँग बैठक सारेकोमा। गाली सबैले मलाई गर्नुस् जसले गाली गर्न डिजर्ब गर्नुहुन्छ’ उनले लेखेका छन्, ‘जबसम्म सर्वसम्मत निर्णय गर्ने अवस्था बन्दैन म बैठक सारिरहन्छु। म कार्यवाहक रहेसम्म।’

मंसिर १२ गते बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंसिर १४ गतेलाई सरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्। 

कांग्रेसले आज जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मंसिर १२ गते शुक्रबार दिनको २ बस्ने भनिएको बैठक २०८२ मंसिर १४ गते आइतबार दिनको २ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भएको छ।’

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंसिर ६ गते बसेको थियो। त्यसपछि स्थगित भएको बैठक मंसिर ११ गते बोलाइएको थियो। 

कांग्रेसभित्र नियमित महाधिवेशन कि विशेष महाधिवेशन र चुवनाअघि कि चुनावपछि महाधिवेशन गर्ने भन्ने विषयमा विवाद चलिरहेको छ। त्यसमा सहमति हुन नसक्दा केन्द्रीय कार्यसमितिको बैठक सारिँदै आएको छ। 

मंसिर १२ गते बस्ने भनिएको बैठक फेरि सारिएको हो। अर्को बैठक मंसिर १४ गते दिउँसो २ बजे बस्ने तय गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad