राजनीति


एमाले सचिव गोकर्ण विष्टको अपिल: पार्टी पुनर्गठन हुनेगरी महाधिवेशन प्रतिनिधि चयन गर्नू

एमाले सचिव गोकर्ण विष्टको अपिल: पार्टी पुनर्गठन हुनेगरी महाधिवेशन प्रतिनिधि चयन गर्नू

नेपालखबर
मंसिर १३, २०८२ शनिबार ९:१६, काठमाडौँ

आफ्नो एघारौँ महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न नेकपा एमालेले आज देशैभर निर्वाचन गरिरहेको छ।

त्यसका लागि अहिले बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदानको समय तोकिएको छ। 

यसैबीच एमाले सचिव  गोकर्ण विष्टले पार्टी पुनर्गठनमा मद्दत पुग्ने गरी प्रतिनिधि चयन गर्न नेता-कार्यकर्तालाई आह्वान गरेका छन्। 

‘आदरणीय कमरेडहरू, तपाईंहरू आज हाम्रो पार्टीको ११औँ महाधिवेशनका लागि प्रतिनिधि चयन गर्दै हुनुहुन्छ। हामीले यतिबेला देशमा देखापरेको विषम परिस्थितिलाई सम्बोधन गर्ने र पार्टीलाई थप गति, ऊर्जा, एकताका साथ जनताको विश्वास आर्जन गर्नेगरी बलियो बनाउनु पर्नेछ’, सचिव विष्टले शनिबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसका लागि समयको माग अनि आम जनता र कार्यकर्ताको चाहनाअनुसार पार्टीलाई पुनर्गठन गरेर अघि बढाउने गरी प्रतिनिधि चयनमा जिम्मेवारपूर्ण भूमिका खेल्नुहुनेछ भन्ने विश्वास राखेको छु।’

विष्ट एघारौँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र पूर्वराष्ट्रपति विद्या भण्डारीको समूहबाट महासचिव पदका एक इच्छुक उम्मेदवार हुन्।

यही मंसिर २७-२९ गते काठमाडौँमा हुने एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभर प्रतिनिधि छान्न लागेको हो। 

यसका लागि मंसिर ११ गते सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भइसकेको छ। कतिपय निर्वाचन क्षेत्रमा त्यही दिन सहमतिमा प्रतिनिधि छानिए पनि बाँकी क्षेत्रमा आज मतदान गरेर छनोट गर्न लागिएको हो। 

विभिन्न जिल्लाले अनुकूलताअनुसार मतदानको समय तय गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनका अनुसार संघीय निर्वाचन क्षेत्रबाट खुला, महिला, दलित तथा युवासहित करिब २ हजार प्रतिनिधि छानिँदै छन्।

यस्तै प्रवास, जनसंगठन र विभागहरूबाट करिब १ सय प्रतिनिधि छनोट हुनेछन्।

मनोनीतसमेत गरेर एमालेको एघारौँ महाधिवशेनमा करिब २२ सय प्रतिनिधि सहभागी हुनेछन्।

प्रतिनिधि छनोटका लागि केन्द्रीय संगठन विभागले सिफारिस गरेको प्रस्ताव पार्टी सचिवालयले यसअघि पास गरेर मातहतका कमिटीमा पठाइसकेको छ।

एमालेको कात्तिक १५ गते बसेको केन्द्रीय सचिवालय बैठकले गरेको निर्णय अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार मानी प्रति १२०० सदस्य खुला दुई र महिला एक निर्वाचित गर्नुपर्नेछ।

यसरी प्रतिनिधि छान्दा एक जना ४० वर्ष भन्दा कम उमेरका युवा अनिवार्य हुनुपर्ने छ। यस्तै प्रति ८ सय सदस्य एक प्रतिनिधि, जसमा महिला निर्वाचित गर्ने विधि तय गरिएको गौतमले जानकारी दिए।

दलितका लागि प्रति पाँच सय सदस्य एक प्रतिनिधि निर्वाचित गर्नुपर्ने विधि राखिएको छ। ट्रेड युनियनमा प्रदेशबाट सात जना प्रतिनिधि रहनेछन्।

जनसंगठनबाट प्रतिजनसंगठन पाँच जनाको प्रतिनिधित्व रहनेछ। महासङ्घीय ढाँचामा रहेका जनसंगठनबाट भने सात जनाको प्रतिनिधित्व रहनेछ।

विभाग र कार्यालयबाट एक एक जनाको प्रतिनिधित्व रहनेछ। प्रवासबाट महादेश अनुसार पाँच जनाको प्रतिनिधित्व रहनेछ। केन्द्रीय कमिटीबाट ३५४ जना स्वतः प्रतिनिधि हुनेछन्।

त्यस्तै अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, निर्वाचन आयोगबाट २५, सल्लाहकार परिषद् बाट २५ जना प्रतिनिधि रहनेछन्। यी कमिटीबाट जम्मा ४६४ जना स्वतः प्रतिनिधि हुनेछन्।

एमालेको कुल संगठित सदस्य संख्या ६ लाख ६७ हजार ६३० सदस्य मध्ये प्रदेशबाट ४५, प्रतिनिधि सभाको निर्वाचन क्षेत्रबाट करिब ९७०, विशेष जिल्लाबाट ४७, दलितबाट ८१, ट्रेड युनियनबाट ४९, यस्तै प्रवासबाट, केन्द्रीय विभाग र कार्यालयबाट, जनसंगठनबाट सहित गरी अनुमानित १९ सय भन्दा बढी प्रतिनिधि रहनेछन्।

पाँच प्रतिशत प्रतिनिधि केन्द्रीय कमिटीले मनोनयन गर्नेछ। यी सबै जोड्दा कुल २१ सय भन्दा बढी प्रतिनिधि रहने अनुमान गरिएको छ।

तर सचिवालयको पछिल्लो निर्णयले केही प्रतिनिधि थप हुने गरी पार्टी सदस्य संख्याको अनुपात घटाइएको गौतमले जानकारी दिए।

उनका अनुसार प्रतिनिधि छनोटको यो विधि सम्बन्धित कमिटीमा पठाइसकिएको छ।

यो पनिविद्या–ईश्वर समूहले प्यानलै उठाउँदा यस्तो बन्न सक्छ ओलीको पदाधिकारी टिम

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad