विवेकशील राजनीतिको खरानी टकटकाएर रास्वपासँग एकता गर्ने अवस्थामा पुगेको बताउँदै अध्यक्ष समीक्षा बास्कोटाले आफूलाई अध्यक्ष पद नचाहिने बताएकी छन्।
रास्वपा र विवेकशील साझा पार्टीबीचको एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले वैकल्पिक राजनीतिलाई बलियो बनाउन एकता गरिएको बताइन्। उज्ज्वल थापाले सुरुवात गरेको वैकिल्पक राजनीतिले अनेक ठक्कर खाएको उनले बताइन्।
आफूले अध्यक्ष हुँदा विवेकशील साझा कठिन मोडमा पुगेको बताइन्। त्यो अवस्थालाई स्मरण गर्दै बास्कोटाले भनिन्, ‘एक समय विवेकशील साझा खरानी भएको थियो। खरानी भएको ठाउँबाट धुलो टकटकाएर आएका हौं।’
रास्वपासँग पदका लागि नआएको उनको भनाइ थियो। ‘मलाई अध्यक्ष चाहिँदैन। पदको बार्गेनिङ गर्ने राजनीति गर्नुहुँदैन। खुला हृदयले स्वीकारौं,’ बास्कोटाले भनिन्, ‘उज्ज्वल थापाले रोपेको बिउ फुल्नुपर्यो, फक्रिनुपर्यो। मलाई केही चाहिँदैन।’
कतिपयले यसलाई विलय भने पनि त्यस्तो नभएको उनको भनाइ थियो। उज्ज्वल थापाले रोपोको विउ जोगाउन एकता गरिएको उनले बताइन्। ‘हामी पछाडि हट्न पनि तयार छौं, अगाडि बढ्न पनि तयार छौं,’ उनले भनिन्।
लामो दौडेको घोडा बनेर अघि बढ्नुपर्ने उनको भनाइ थियो। ‘हामी छोटो रेसको घोडा होइन, लामो रेसका हौं,’ बास्कोटाले भनिन्, ‘वैकिल्पक राजनीतिको उज्ज्वल थापाले ट्रयाक खनेका थिए, रवि लामिछानले राजमार्ग बनाए। अब ट्र्याक पनि हाम्रो, राजमार्ग पनि हाम्रो। अब गाडी होइन, रेल दौडाउनुपर्छ।’
उनले निःशर्त रास्वपासँग एकीकरण गरिएको बताइन्। अहिलेसम्म भइरहेको सर्तको राजनीतिलाई छोडेर निःशर्तमा रुपमा वैकिल्पक राजनीतिलाई अघि बढाउन एकता गरिएको उनको भनाइ थियो।
Shares

प्रतिक्रिया