यतिबेला जेनजी प्रतिनिधिहरूको एउटा समूह इलाम पुगेको छ। वीरगन्जबाट यात्रा सुरु गर्दा उनीहरू सात जना थिए। अहिले एघार जना भएका छन्।
‘नेपाललाई बुझ्ने, नेपाललाई सुन्ने र नेपाललाई जोड्ने अभियानका साथ हामी वीरगन्ज हुँदै आज इलाम आइपुगेका छौँ,’ जेनजी प्रतिनिधि टासी ल्हान्जोमले भनिन्।
सो समूहमा उनका अलावा सागर ढकाल, पुरुषोत्तम यादव, टीकाराम लिम्बू, प्रकृति ढकाल, सोम शर्मा, सचिन वैद्य लगायतका जेनजी प्रतिनिधिहरू छन्।
कुनै बन्द कोठामा बसेर दूरदराजका समस्याको बारेमा बुझ्न नसकिने भएकाले यसपालि आफूहरू सुन्ने अभियानमा लागेको टासीको भनाइ छ।
उनीहरूले धनुषा, झापा, इलाम, भोजपुर लगायतका ठाउँमा पुगेर जेनजीप्रति सर्वसाधारणको धारणा पनि बुझिसकेका छन्।

‘देश बनाउनलाई काठमाडौँमा बसेर ठूलोठूलो भाषण दिएर मात्र हुँदैन। त्यही भएर म पश्चिमकी छोरी पूर्व पुगेकी छु। नेपाललाई बुझ्ने र बनाउने तरिका दुवैमा परिवर्तन आएमा मात्र नयाँ ढङ्गले देश बनाउन सकिन्छ,’ टासीले नेपालखबरसँग भनिन्।
जेनजी विद्रोह र यसका प्रभाव बुझ्ने भन्दै सुरु भएको यात्रामा नेपाललाई सुन्ने, बुझ्ने र जोड्ने उद्देश्य रहेको उनीहरूको भनाइ छ।
सर्वसाधारण स्थानीयको घरको ढोका ढक्ढक्याउँदै मधेसदेखि कोसीसम्म पुग्दा आफूहरू होटेल वा लजमा नभई स्थानीयकै घरमा बसेको र खाना खाएको टासीले सुनाइन्।
‘स्थानीय बासिन्दाहरूसँगै बसेर उहाँहरूले जे खानुहुन्छ, त्यही खाएर उहाँहरूको दुःखसुखका कथाहरू अनि आशाहरूलाई सुन्दै हिँडिरहेका छौँ,’ उनले भनिन्।
उत्तरी हुम्लाकी टासी यसअघि मन्त्री बन्ने चर्चामा आएकी थिइन्। मधेस र पूर्वी पहाड घुम्ने क्रममा हरेक ठाउँमा नागरिकहरूले नयाँ दलहरूलाई एकजुट हुन आग्रह गरेको टासीको भनाइ छ।
‘प्रायजसोले नयाँ शक्ति र नयाँ दलहरू एकजुट भएर आउनु पर्छ र तपाईंहरू जसरी भए पनि मिल्नुस् र मिलाउनुस् भन्नुहुन्छ,’ टासी भन्छिन्, ‘नयाँ दलहरूलाई मिलाउन हामीले कोसिस गरिराखेका छौँ।’
पूर्वको यात्रा सकिएपछि पश्चिमतर्फ यस्तै यात्रा गर्ने टासीले जानकारी दिइन्।

उनीहरूलाई आआफ्नो ठाउँमा पुगेर केके समस्या छ बुझ्न भनिएको जेनजी अगुवा सुदन गुरुङले बताए।
‘मैले सबै जनालाई आआफ्नो ठाउँमा जाऊ, के छ समस्याहरू बुझ भनेको छु,’ सुदनले भने।
सुदन आफैँ पनि पोखरा, गोरखा, सिमरा, जनकपुर, वीरगन्ज लगायतको ठाउँमा पुगिसकेका छन्। जहाँ जे समस्या छ, त्यहीँ समाधानको पहल गरिरहेको सुदनको भनाइ छ।
‘वीरगन्जमा अस्पतालको समस्या थियो त्यसलाई समाधान गर्यौँ,’ सुदनले नेपालखबरसँग भने, ‘मेरो लागि नेपालको हरेक ठाउँ आफ्नै क्षेत्र हो र त्यस्तो समस्या भएको क्षेत्रको लागि मैले पहल गरिरहेको छु।’
जहाँसुकै पुगे पनि आफूहरूले माया पाएको र जेनजीहरूलाई मान्छेले विश्वास गरेको उनले दाबी गरे।

‘जेनजीको विरोध त ठूला नेताहरूले मात्रै गर्ने हो। आम जनता हामीप्रति सकारात्मक हुनुहुन्छ,’ सुदन भन्छन्, ‘राम्रो काम गरिरहनुभएको छ भनेर हामीलाई स्वागत गर्नुभयो। मासुभात, पेट्रोलका कारण भेला हुनुभएको थिएन उहाँहरू। पोखरामा पनि जेनजीप्रति धेरै सकारात्मक धारणा पाइयो। बरु हामी दल छोड्दिन्छम् तर बच्चाहरूलाई चाहिँ छोड्दैनौँ समेत भन्नु भयो।’
पहिलाका नेतामा र आफूहरूमा फरक रहेको उनको तर्क छ।
‘हामी स्थानीय स्तरमा नै गएर त्यहाँको समस्या बुझ्दै र त्यसलाई समाधान गर्दैछौँ। फरक त्यही नै हो। बाटो नबनेको ठाउँमा टेन्डर रद्द गर्नेदेखि लिएर पहल गर्ने लगायत, उखु किसानको समस्या, अस्पतालको मिस्म्यानेजमेन्टको समस्या, स्वास्थ्य बिमामा पैसा अड्किएकोमा जनताले दु:ख पाइराखेकाजस्ता समस्या समाधानको लागि पहल गरेका छौँ,’ सुदनले भने।
अझै पनि आफुचाहिँ राजनीतिक रूपमा अगाडि बढ्ने कि नबढ्ने भन्ने विषयमा निर्णय लिइनसकेको सुदनले सुनाए।
‘अहिले राजनीतिक हिसाबले अगाडि बढ्ने या नबढ्ने भनेर सोचेका छैनौँ। मुख्य कुरा हाम्रो बालेन र कुलमानको कुराकानी भइहाल्यो, अरु साथीहरू पनि दलमा ज्वइन गर्नु पर्ने छ। यदि दलमा सामूहिक रूपमा मिलेर गएमा नयाँ शक्तिलाई सहज र राम्रै हुन्छ। तर, मिलेन भने गाह्रो पर्छ,’ सुदनले भने।

सुदनको गाउँ चुमनुब्रीका बासिन्दाको अपेक्षा
सुदन हालै आफ्नो गाउँ गोरखाको चुमनुब्री ३ पुगेका थिए। सुदनका अनुसार उनी त्यहाँ पुग्नुको कारण थियो– आफैँविरुद्ध उजुरी हाल्नु।
चुमनुब्री गोखरा जिल्लाको उत्तारी भेग चीनको सीमा नजिक पर्छ, जहाँ तिब्बती मूलका नेपालीहरूको बसोबास छ। सुदन आफै पनि तिब्बती मूलका हुन्, जसको नागरिकताको विषयमा विभिन्न प्रश्नहरू पनि उठिरहेको छ।
आफु नेपाली नागरिक भएपनि बारम्बार प्रश्न उठाइएको भन्दै उनले नागरिकताको आधिकारिकता छानविन गर्न आफैले निवेदन दिएका हुन्।
एमाले नेताहरूले आफ्नो नागरिकतामाथि प्रश्न उठाएको भन्दै त्यसमाथि छानबिनका लागि उनले स्थानीय तहमा निवेदन दिएका छन्।
फरक उद्देश्यले गाउँ पुगेको भए तापनि त्यहाँ पुग्दा गाउँका सबै मान्छेहरू बाटोमै आएर स्वागत गरेको देखेर आफू दङ्ग परेको उनले सुनाए।
गाउँका बासिन्दामा आफूप्रति धेरै अपेक्षा रहेको पनि उनले महसुस गरे। धेरैपछि गाउँ पुग्दा अनेकौँ समस्या देखिएको सुदनले बताए।
‘गाउँमा विभिन्न समस्या देखेँ। बाटोघाटोको समस्या, यातायातको समस्या। यातायातकै समस्याका कारण कति महिलाहरूको प्रसूतिको समयमा मृत्यु समेत हुने गरेको रहेछ,’ सुदनले सुनाए, ‘अनि विभिन्न निकायमा समस्या समाधानको लागि पहल पनि गरेको छु।’
Shares

प्रतिक्रिया