प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले जेनजी आन्दोलनका क्रममा देशभरका अदालत र हजारौँ मुद्दाका मिसिल जलाए पनि न्यायप्रतिको निष्ठा नजलेको बताएका छन्।
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा जनकपुरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।
उनले गत भदौ २४ गतेको आन्दोलनको क्रममा अदालत, बार एसोसिएसन सबै जलाइएको उल्लेख गरे। आन्दोलनमा नेपाली जनताको इतिहास र सम्पत्ति दुवै जलेको उनको भनाई छ।
प्रधानन्यायाधीश राउतले मानवअधिकारका विषयलाई राजनीतिबाट अलग राख्नुपर्ने स्पष्ट पारे।
मानव अधिकारको विषय पछिल्लो समयमा अत्यन्त जटिल, पेचिलो तथा संवेदनशील बन्दै गइरहेको उनले बताए।
मानवअधिकारमा राजननीति प्रवेश गरेमा त्यो विशाक्त हुने पनि उल्लेख गरे। राजनीतिको चक्रव्यूह र चंगुलबाट मानवअधिकारलाई अलग राख्नुपर्नेमा उनले जोड दिए।
उनले भने, ‘मानवअधिकारमा राजनिति प्रवेश भयो भने वातावरण विशाक्त हुन्छ। आ–आफ्नो विचारको चश्माबाट मानवअधिकारलाई हेर्न थालियो भने यसको विश्वव्यापी सार्वभौमिकता, यसको मान्यता, महत्व र यसको ओजमा निसन्देह असर पुग्ने नै हुन्छ। त्यसैले निजी विचार, व्यक्तिको आस्था भन्दा माथि उठेर मानवअधिकारलाई हेर्न खोजियो भने मात्र मानवअधिकारको सम्मान, संरक्षण र संवद्धन हुन सक्छ। विषाक्त राजनीतिको चक्रव्यूह र चंगुलबाट मानवअधिकारलाई तपाईंहरुले अलग्याउनुपर्छ।’
मानवअधिकार न्यायसँग जोडिएको विषय भएकाले पनि बढी संवेदनशील हुने प्रधानन्यायाधीश राउतको भनाई छ।
नेपाल बार एसोसिएसनको आयोजनामा जनकपुरमा दुई दिवसीय राष्ट्रिय मानव अधिकार गोष्ठी आयोजना गरिएको हो। गोष्ठीमा देशभरका कानुन व्यवसायीहरूको उपस्थिति रहेको छ।
बिहीबारसम्म चल्ने गोष्ठीले जनकपुरधाम घोषणापत्र जारी गर्ने जनाइएको छ।
Shares

प्रतिक्रिया