समाज


एकै आमाको कोख, अधिकृत बनेर सँगसँगै परराष्ट्रमा

बुवाको बिरासत पछ्याउँदै विज्ञतारा र दीव्यदीप
एकै आमाको कोख, अधिकृत बनेर सँगसँगै परराष्ट्रमा

परराष्ट्र सेवाको अधिकृत उत्तीर्ण विज्ञतारा आचार्य (दायाँ) र दिव्यदीप आचार्य। फोटो: विशाल कार्की


सीताराम बराल
मंसिर २५, २०८२ बिहिबार १६:३९, काठमाडौँ

आइतबार परराष्ट्र सेवाको अधिकृतमा खुला र समावेशी क्षेत्रबाट उत्तीर्ण ६७  अधिकृतहरूलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतकुमार राईले मंगलबार (२३ मंसिर) मा नियुक्ति पत्र प्रदान गरे। यति ठूलो संख्यामा अधिकृतहरूको प्रवेश परराष्ट्र सेवाको इतिहासमा यो पहिलो घटना हो। 

संख्याका हिसाबले मात्र होइन, अर्काे एक कारणले पनि शाखा अधिकृतका रूपमा ‘फ्रेस’ अनुहारहरूको प्रवेश परराष्ट्र सेवाका लागि रोचक बनेको छ। एकै आमाको कोखबाट जन्मेका दुई दाजु–भाइ समेत एकै परीक्षामा सँगसँगै प्रतिस्पर्धा गरी परराष्ट्र सेवामा प्रवेश गरेका छन्। 

उनीहरू हुन्, दाजु विज्ञतारा आचार्य (२५ वर्ष) र भाइ दिव्यदीप आचार्य (२३ वर्ष)। 

नेपालको विदेश सम्बन्धको इतिहासमा एकै परिवारका बाबु-छोरा, दाजु-भाइ विभिन्न कालखण्डमा राजदूत बनेका छन्। एकै आमाको कोखबाट जन्मेका दाजु—भाइ परराष्ट्र सेवामा प्रवेश गरी विभिन्न कालखण्डमा विभिन्न जिम्मेवारीमा रही सेवा गरेका उदाहरण पनि छन्।

तर, एउटै कोखबाट जन्मेका दाजुभाइ सँगसँगै प्रतिस्पर्धा गरेर सँगसँगै परराष्ट्र सेवामा प्रवेश गरेको भने यो पहिलो उदाहरण हो। 

परराष्ट्र सविच अमृतबहादुर राई परराष्ट्र सेवामार्फत् राष्ट्रसेवा गर्न नयाँ पुस्ता आकर्षित छ भन्ने यो उदाहरणले प्रस्ट पारेको बताउँछन्। 

‘बाबुपुस्ता लामो समय निजामती सेवामा रहे पनि छोरा पुस्ता यो सेवातर्फ आकर्षित भएको विरलै देखिन्थ्यो,’ परराष्ट्रसचिव राई भन्छन्, ‘राष्ट्रसेवाको भावका साथ परराष्ट्र सेवामा दुई भाइको प्रवेशले मन्त्रालयलाई गौरवान्वित बनाएको छ।’ 

परराष्ट्र सचिवबाट अधिकृत पदको नियुक्ति पत्र ग्रहण गर्ने क्रममा विज्ञतारा आचार्य। फोटो : सीताराम बराल

परराष्ट्र मन्त्रालय अन्तर्गत सार्वजनिक कूटनीति महाशाखाको प्रमुखसमेत रहेका प्रवक्ता लोकबहादुर क्षेत्रीका भनाइमा फरक–फरक पदमा दाजु–भाइ परराष्ट्र सेवामा सेवारत रहने, श्रीमान्–श्रीमती प्रतिस्पर्धामा सँगै उत्तीर्ण हुने रोचक घटनाहरू परराष्ट्रमा यसअघि नै भइसकेको छ। 

‘परराष्ट्र सेवामा जनशक्तिको आकारवृद्धिसँगै विगतमा पनि विभिन्न रोचक उदाहरण स्थापित भइसकेका छन्,’ प्रवक्ता क्षेत्री भन्छन्, ‘यसपटक एकै आमाको कोखबाट जन्मेका दुई दाजुभाइ परराष्ट्र सेवामा सँगै अधिकृत पदमा उत्तीर्ण भएर आउनु भएको छ। यो घटनाबाट परराष्ट्र सेवाको इतिहासमा अर्काे रोचक आयाम थपिएको छ।’  

बाबुको विरासत, आमाको प्रोत्साहन 
विज्ञतारा र दीव्यदीपका आमा सीता भट्टराई आचार्य भैरहवास्थित एक सरकारी विद्यालयमा शिक्षिका छिन्। बाबु तारा आचार्य सरकारी सेवामा अवकाशपछि भैरहवामै वकालत गर्छन्। 

पुत्रद्वय विज्ञतारा र दीव्यदीपले खासमा परराष्ट्र सेवामा प्रवेश गरेर पिता तारा आचार्यको विरासतलाई निरन्तरता दिएका हुन्। किनभने, वकालत पेसा सुरु गर्नुभन्दा ११ वर्षअघि पिता तारा आचार्य पनि पनि परराष्ट्र सेवामै थिए। 

२२ पुस २०७१ मा परराष्ट्र सेवाको अधिकृतबाट अवकाश प्राप्त गरेका तारा त्यसअघि यांगुन (म्यानमार, बर्मा) स्थित नेपाली राजदूतावासको उपनियोग प्रमुख एवं कार्यवाहक राजदूतसम्म भए। 

परराष्ट्र सचिवबाट अधिकृत पदको नियुक्ति पत्र ग्रहण गर्ने क्रममा दीव्यदीप आचार्य

२०४२ मा परराष्ट्र सेवामा प्रवेश गरेका ताराले आफ्नो २९ वर्ष लामो कूटनीतिक करिअरका  क्रममा विदेशस्थित विभिन्न नेपाली नियोगहरूमा विभिन्न पदमा रही परराष्ट्र सेवाको अनुभव सँगाले। त्यसक्रममा कायरो (इजिप्ट) स्थित नेपाली राजदूतावासमा तृतीय सचिवका रूपमा कार्यरत छँदा २०५७ मा जेष्ठ पुत्रका रूपमा विज्ञताराको जन्म भयो। कान्छा दिव्यदीप भने २०५९ मा नयाँदिल्ली (भारत) स्थित नेपाली राजदूतावासमा कार्यरत छँदा जन्मे। 

कायरो र नयाँदिल्लीपछि पनि ताराको सरुवा ब्यांकक (थाइल्यान्ड) र रंगुन (म्यानमार) स्थित नेपाली राजदूतावासहरूमा भयो। 

कूटनीतिक सेवाका क्रममा सरुवा भएर तारा जहाँ–जहाँ पुग्थे, विज्ञतारा र दिव्यदीपलाई पनि त्यहीँ लैजान्थे। यस हिसाबले दाजुभाइ कूटनीतिक माहोलमै हुर्के। सानैदेखि उनीहरूले विभिन्न मुलुकका कूटनीतिज्ञहरूदेखि राजनीतिज्ञहरूसँग भेट्ने र उनीहरूको कुरा सुन्ने अवसर प्राप्त गरे।  

तारा  आचार्य (बायाँबाट दोस्रो) बर्मामा कार्यवाहक राजदूत रहेका बेला नोबेल पुरस्कार विजेता  लोकतन्त्रवादी बर्मेली नेतृ आङ सान सुचीसँग विज्ञतारा (बायाँबाट पहिलो) दिव्यदीप (दायाँबाट दोस्रो) र आमा सीता भट्टराई आचार्य (दायाँबाट पहिलो)

आफूले कूटनीतिक कार्यमा लामो समय बिताए पनि तारालाई न सेवामा रहँदा आफ्ना दुवै छोरा सँगसँगै परराष्ट्र सेवामा प्रवेश गर्लान् भन्ने लाग्थ्यो, न त अवकाश प्राप्त गरेपछि नै।  

‘खासमा जेठोबाबु (विज्ञतारा) ले मेडिकल साइन्स (चिकित्साशास्त्र) अन्तर्गत छात्रवृत्तिमा नाम निकालेको थियो, तर त्यो अवसर छाडेर उसले कृषि तथा वनविज्ञान विश्वविद्यालय अन्तर्गत कृषि विषय रोज्यो,’ ताराले भने, ‘गत साल उसले कृषिमा बीएस्सी उत्तीर्ण गरे पनि पढाइ अनुसारको करिअर रोजेन, बरु परराष्ट्र सेवातर्फ आकर्षित भयो।’ 

ताराका भनाइमा, विज्ञतारालाई परराष्ट्र सेवामा उत्प्रेरित गर्नमा आमा सीता भट्टराई आचार्यको भूमिका थियो। कृषिमा स्नातक उत्तीर्ण गरेलगत्तै आमा सीताले नै विज्ञतारालाई परराष्ट्र सेवाका लागि लोकसेवाको परीक्षामा प्रतिस्पर्धा गर्न सुझाव दिएकी थिइन्। 

आमाको सुझाव अनुसार विज्ञताराले गत साल परराष्ट्र सेवाको नायब सुब्बा पदमा प्रतिस्पर्धा गरेका थिए। पहिलो प्रतिस्पर्धामै उनी सफल भए। यसपटक अधिकृत तह उत्तीर्ण हुनुअघिसम्म उनी परराष्ट्र मन्त्रालय अन्तर्गतको मध्य एसिया, पश्चिम एसिया र अफ्रिका महाशाखामा कार्यरत थिए। 

दीव्यदीप आचार्य

‘रामपुर (चितवन) स्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयबाट बीएस्सी एजी (कृषिमा स्नातक) उत्तीर्ण गरेलगत्तै मैले उसलाई लोकसेवामा प्रतिस्पर्धा गर भनेर सुझाव दिएको थिएँ, किनकि परराष्ट्र उसको बुबाले लामो समय काम गरेको मन्त्रालय हो,’ सीताले भनिन्, ‘उसले मेरो सुझाव मान्यो, लोकसेवाको तयारी गर्‍यो। करिब ६ हप्ताको तयारीमा उसले परराष्ट्र सेवाको नायब सुब्बा पदमा नाम निकाल्न सफल भयो।’ 

पिता परराष्ट्र सेवामा भएकाले कान्छा दिव्यदीपलाई भने सानैदेखि अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति र परराष्ट्र मामिलामा रुचि थियो। यस्तै रुचिको परिणामस्वरूप जब उनले विज्ञानमा ‘प्लस टु’ अध्ययन पूरा गरे, त्यसपछि त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बध विभागमा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा स्नातक तहमा भर्ना भए। गतसाल स्नातक उत्तीर्ण गरेपछि उनी हाल त्यहीँ अन्तर्राष्ट्रिय सम्बन्ध विषयमै स्नातकोत्तर गरिरहेका छन्। 

‘बुबाले कूटनीतिक कर्मचारीका रूपमा सरकारी जीवन बिताउनुभयो, दाजु पनि पोहोर साल कुटनीतिक सेवामा प्रवेश गर्नुभयो,’ दिव्यदीपले भने, ‘त्यहीकारण घरमा विज्ञान, कानुन, राजनीति, भूराजनीति र कूटनीति लगायतका विषयमा बौद्धिक छलफल भइरहन्थ्यो। त्यसैक्रममा परराष्ट्र सेवामा आकर्षित हुँदै गएँ। र, पहिलो प्रयासमा नै परराष्ट्र सेवामा प्रवेश गर्ने अवसर प्राप्त भयो।’ 

सिनियर दाजुलाई पछ्याउँदै अब्बल भाइ
एकै आमा–बाबुका सन्तान सँगै प्रतिस्पर्धा गरेर परराष्ट्र सेवाको अधिकृत बन्ने यो दुर्लभ संयोग गतसाल परराष्ट्र सेवा अन्तर्गत ठूलो संख्यामा अधिकृतहरूको दरबन्दी सिर्जना भएपछि सम्भव भएको हो।

गतसाल गरिएको संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण अन्तर्गत परराष्ट्र सेवा अन्तर्गत ११ सहसचिव, ३३ उपसचिव, ६७ शाखा अधिकृतको दरबन्दी सिर्जना गरिएको थियो। शाखा अधिकृततर्फ थप दरबन्दीमध्ये ३७ खुल्ला र बाँकी समावेशीतर्फ थिए। 

थप गरिएका दरबन्दीमा पदपूर्तिका लागि लोकसेवा आयोगले अघिल्लो मंसिरदेखि परीक्षा सुरु गरेको थियो। परराष्ट्र सेवाप्रति आकर्षणका कारण यसपटक ५ हजार बढी प्रतिस्पर्धी सहभागी थिए। 

सहभागी ५ हजारमध्ये लिखित परीक्षामा झण्डै १ हजार दुई सयजना प्रतिस्पर्धी उत्तीर्ण भए। अन्तिम ढोकाको रूपमा रहेको मौखिक परीक्षा (अन्तर्वार्ता) सम्म आइपुग्दा खुलातर्फ ५४ जना प्रतिस्पर्धी कायम रहे। अन्तिम खुड्किलोको रूपमा रहेको अन्तर्वार्ताको लागि योग्य मानिएका ५४ जनामा विज्ञतारा आचार्य र दीव्यदीप आचार्य पनि थिए। 

परराष्ट्र सेवामा उत्तीर्ण अधिकृतहरू नियुक्तिपत्र प्राप्त गरेपछि परराष्ट्र सचिव लगायत अन्य अधिकारीहरूसँग

तर आफ्ना दुवै छोरा अन्तर्वार्तामा समेत उत्तीर्ण भएर सँगसँगै परराष्ट्र सेवाको अधिकृतका रूपमा परराष्ट्र सेवामा प्रवेशको अवसर प्राप्त गर्लान् भन्ने कल्पना र विश्वास सुरुमा बाबु तारा र आमा सीता भट्टराई आचार्य दुवैलाई थिएन। 

विज्ञतारा र दिव्यदीप भने सफलता प्राप्त गर्नेमा सुरुदेखि नै विश्वस्त थिए। 

अन्तर्वार्तामा सहभागी प्रतिस्पर्धीहरूको अन्तिम नतिजा लोकसेवा आयोगले अघिल्लो हप्ताको अन्त्यमा सार्वजनिक गर्दै थियो। आफूहरू दुवै जना उत्तीर्ण हुने विश्वासकै कारण कान्छा दिव्यदीपले आमा सीतालाई फोन गरेर बुबासँगै काठमाडौँ आउन अनुरोध गरे। 

सीताले जवाफ दिइन्, ‘पहिले रिजल्ट त आओस्, अधिकृत बन्ने भएछौ भने आउँला नि, रिजल्ट नै नआई त किन काठमाडौँ आउनु?’ 

‘हामीलाई उनीहरूको क्षमतामा विश्वास थियो तर सँगै उत्तीर्ण होलान् भन्ने चाहिँ लागेको थिएन,’ सीताले भनिन्, ‘तर कान्छोबाबु आफू भने सफलता प्राप्त गर्नेमा विश्वस्त रहेछ। त्यसैले ‘दादाले राम्रो गरेको छु भनेको छ, मैले पनि राम्रो गरेको छु’ भन्दै जसरी पनि काठमाडौँ आउन जोड गर्‍यो।’ 

छोराको आग्रहअनुसार तारा र सीता दुबै काठमाडौँ आइपुगे। शनिबार (२० मंसिर) विज्ञतारा र दिव्यदीप दुवैको मोबाइलमा लोकसेवाले समान बेहोराको सन्देश पठायो, ‘तपाईं (परराष्ट्र सेवाको अधिकृतमा) छनोट हुनुभएकोमा बधाई छ। सेवामा नैतिक आचरण कायम राख्दै उत्कृष्ट कार्यको प्रदर्शन गर्नुहुनेछ भन्नेमा लोकसेवा आयोग आशावादी छ।’ 

रोचक पक्ष चाहिँ के भने, खुलातर्फका ३७ अधिकृतका लागि अन्तिम नतिजामा भाइ दिव्यदीपले दाजु विज्ञतारालाई उछिने। लोकसेवा आयोगले प्रकाशित गरेको ‘मेरिट लिस्ट’ मा दिव्यदीप आठौँ र विज्ञतारा ३० औँ नम्बरमा परेका छन्। विज्ञतारा आचार्य

‘मेरिट लिस्ट’मा आफ्नो नाम अघि रहे पनि यो सफलतामा दाजु विज्ञतारालाई श्रेय दिन रुचाउँछन्, भाइ दिव्यदीप। दाजुभन्दा आफ्नो नाम अघि परेकोमा उनलाई कताकता अप्ठेरो पनि लागेको छ। 

यस सन्दर्भमा उनी लेखक रोबर्ट ग्रिनलाई सम्झन चाहन्छन्, जसले आफ्नो प्रसिद्ध कृति ‘द फोर्टी एट ल अफ पावर’ मा भनेका छन्– यु नेभर आउटस्मार्ट योर मास्टर। (तिमीले आफ्नो शिक्षकलाई कहिल्यै जित्ने कोसिस गर्नुहुँदैन।)      

अर्थात्, आफ्नो नाम अगाडि भए पनि दाजुभन्दा आफू अगाडि हुँ भन्ने घमण्ड दिव्यदीपमा छैन। दाजुको साथ र सहयोगका कारण सफलता सम्भव भए पनि ‘मेरिट लिस्ट’ ले निर्धारण गरेको रोलक्रम स्वीकार गर्नुबाहेक अर्काे विकल्प नभएको बनाउँछन् उनी।  

‘पहिल्यै परराष्ट्र सेवामा प्रवेश गरेकाले दाजु (विज्ञतारा) लाई लोकसेवाको परीक्षा र परराष्ट्र मामिलाको ज्ञान÷अनुभव दुवै थियो, प्रत्येक परीक्षाअगाडि उहाँले मलाई सल्लाह र ज्ञान दिनुहुन्थ्यो,’ दीव्यदीप भन्छन्, ‘लिस्टमा मेरो नाम अघि पर्नु संयोग मात्र हो, दाजुको सहयोगबिना मेरो सफलता सम्भव हुने थिएन।’ 

विज्ञतारा–दिव्यदीपको सँगै परराष्ट्र सेवामा प्रवेशले परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीलाई पनि रोमान्चित बनाएको छ। यसर्थ कि, क्षेत्री र विज्ञतारा–दीव्यदीपका पिता तारा आचार्य २० वर्षअघि परराष्ट्र मन्त्रालयको एउटा शाखामा सँगै कार्यरत थिए। 

त्यो बेला परराष्ट्र मन्त्रालय शीतल निवास (हाल राष्ट्रपति भवन) मा थियो। छोराहरूको स्कुल छुट्टी भएका बेला तारा दुवै छोरालाई मन्त्रालय लैजान्थे। प्रवक्ता क्षेत्री बालक विज्ञतारा र दीव्यदीपलाई काखमा लिन्थे, मायाका साथ मुसार्थे। 

परराष्ट्र मन्त्रालयमा दिव्यदीप आचार्य (बायाँ) र विज्ञतारा आचार्य

पहिला थोरै समय संगत गरेका तिनै विज्ञतारा र दिव्यदीपसँगै परराष्ट्र सेवाको अधिकृत प्रतिस्पर्धामा उत्तीर्ण भई सहकर्मी बन्न आइपुग्नु उनको आफ्नै ‘करिअर’ मा पनि अनुपम घटना बन्न पुगेको छ।    

‘तारा सर मेरो मिल्ने साथी हुनुहुन्छ। साथी भएकाले विज्ञतारा र दिव्यदीप मेरा लागि पनि छोरा समान थिए, २० वर्षअघि बुबा (तारा) सँगै उनीहरू बेलाबेला परराष्ट्र मन्त्रालय आउँथे, भेट हुन्थ्यो,’ क्षेत्री भन्छन्, ‘त्यो बेलाका ‘बालक साथी’हरू सहकर्मी बन्न आइपुगेका छन्। त्यसैले, हामी रोमान्चित पनि भएका छौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad