प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेसमा उम्मेदवार सिफारिस गर्ने क्रममा मात्रै बढेको छैन, चुनावबाट टाढा हुने घोषणा गर्ने नेताको संख्या पनि बढ्दै गएको छ।
धादिङबेंसीस्थित बीपी स्मृति भवनमा मंसिर २३ गते बसेको नेपाली कांग्रेसको धादिङ क्षेत्र नंं. १ को संयुक्त बैठकमा पूर्वमन्त्री रामनाथ अधिकारीले सुरुवातमै बोल्न समय मागे। कांग्रेस जिल्ला सभापति समेत रहेका अधिकारीले बोल्न समय मागेपछि धेरैलाई लागेको थियो, कतै जान हतार होला। तर, उनले गरेको घोषणाले सबै चकित भए।
संयुक्त बैठकमा बोल्दै पूर्वसांसद अधिकारीले भने, ‘जुन फारम दिनुभएको छ, अघिसम्म मैले लिने विचार गरेको थिए र अब लिन्न।’
बैठकमा प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि दाबी गर्ने नेतालाई फारम वितरण गर्न लागिएको थियो। उनले थपे, ‘आज उम्मेदवारी प्रस्ताव आउँदै छ, त्यो उम्मेदवारी प्रस्तावमाथि म आफूलाई जिम्मेवारी बोध गरेर कांग्रेसबाट भाग्दिँनँ, प्रजातन्त्रबाट बाहिरिनका लागि होइन, यो उम्मेदवारीबाट म सहभागिता नजनाउने।’
गत निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य अधिकारीले थप स्पष्ट पार्दै भने, ‘अनेक सन्दर्भ उठेका छन्। ति सन्दर्भलाई ध्यानमा राखेर यो उम्मेदवारीबाट बाहिरै रहने प्रण मैले गरेको छु।’
उनले यति बोलिसक्दा सबैले ताली बजाए। बैठकमा सहभागी कांग्रेस नेताहरूलाई हौसला दिँदै उनले भने, ‘यति कुरा भनिरहँदा यो निर्वाचन जिताउने जिम्मेवारी पनि मसँग छ। अहिले विवाद गर्ने समय होइन, आगामी दिनमा विद्रोही उम्मेदवार उठ्ने अवस्था नआवस्, त्यो परिस्थित आउन दिनुहुन्न।’

यसरी एकाएक कांग्रेसको उम्मेदवारको दौडबाट बाहिरिएका अधिकारीले जिम्मेवारी बोध गरेरै उम्मेदवार नबन्ने निर्णय गरेको सुनाए। त्यसका लागि उनले मन्त्रीबाट राजीनामा दिएको प्रसंग पनि स्मरण गराए।
गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा काठमाडौँको बानेश्वरमा १९ प्रदर्शनकारीको मृत्यु भएपछि उनले मन्त्रीबाट राजीनामा दिएका थिए। त्यतिवेला उनी कृषि तथा पछुपन्छी विकासमन्त्री थिए।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष र समानुपातिकको उम्मेदवार सिफारिसका लागि कांग्रेस क्षेत्रीय समितिको बैठक बसेको थियो। प्रबल दाबेदार रहेका अधिकारीले उम्मेदवार नहुने घोषणा गरेसँगै प्रशंसा बटुलिरहेका छन्।
६४ वर्षीय अधिकारी कांग्रेसका केन्द्रीय सदस्य पनि हुन्। २०७९ सालको निर्वाचनमा उनी धादिङ-२ बाट निर्वाचित भएका थिए। त्यतिवेला कांग्रेस र माओवादीको गठबन्धन रहेको थियो। नयाँ पुस्ताको भावनालाई सम्मान गर्दै चुनाव नलड्ने निर्णय गरेको उनको भनाइ छ।
धादिङबाट सुरु भएको कांग्रेसको नेताको चुनाव नलड्ने घोषणा अन्यत्र पनि फैलिँदै गएको छ। त्यसका दुई दिनपछि मंसिर २५ मा कांग्रेस केन्द्रीय सदस्य राजेन्द्रकुमार केसी ‘रञ्जन’ले पनि चुनाव नलड्ने घोषणा गरे। ‘नयाँ पुस्तालाई अवसर दिनका लागि म चुनावबाट ब्याक भएको छु’, केसीले भनेका छन्।
६७ वर्षीय केसी गत निर्वाचनमा काठमाडौँ-१० बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। यो क्षेत्रबाट तीन पटक निर्वाचित भइसकेका छन्।
२०७० सालको संविधान सभा निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पराजित गरेपछि उनी चर्चामा आएका थिए। त्यसपछि २०७४ र २०७९ सालको निर्वाचनमा लगातार सांसद बने।
कीर्तिपुर रहेको यो क्षेत्रमा कांग्रेसले जित्न सकेको थिएन। यो क्षेत्रमा कम्युनिस्ट पार्टीकै दबदबा रहेको थियो। प्रचण्डलाई हराएपछि उनले ‘लालकिल्ला भत्काएको’ प्रतिक्रिया दिएका थिए।
उनी पूर्वमन्त्री पनि हुन्। युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका केसीले नयाँ पुस्ताका लागि आफूले बाटो छोडेको बताएका छन्।
दुई पूर्वमन्त्रीले चुनाव नलड्ने घोषणा गरेसँगै अर्का पूर्वमन्त्री पनि थपिएका छन्। मंसिर २५ मा गृह जिल्ला बाजुरा पुगेर पूर्वमन्त्री बद्री पाण्डेले चुनाव नलड्ने घोषणा गरेका छन्। उनले पनि नयाँ पुस्ताको भावनाको कदर गर्दै चुनाव नलड्ने निश्कर्षमा पुगेको स्थानीय नेता तथा कार्यकर्तालाई बताएका छन्।
कांग्रेसका सहमहामन्त्री समेत रहेका पाण्डे जेनजी आन्दोलनअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री थिए। जेनजी आन्दोलनका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै उनी पनि पदमुक्त भएका थिए।
जेनजी आन्दोलनको क्रममा युवाको माग सम्बोधन गर्न नसकिएको उनले बताएका छन्। मन्त्रिपरिषद्को सदस्यको हैसियतले त्यसको जिम्मेवारी लिँदै यो चुनावमा लड्ने घोषणा गरेका हुन्।
५५ वर्षीय पाण्डे गत निर्वाचनमा बाजुराबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। त्यति वेला कांग्रेस र माओवादीको गठनबन्धन रहेको थियो।
उन तीन पटक सांसद बनिसकेका छन्। २०७० सालमा संविधान सभा सदस्य बनेका थिए। त्यसपछि राष्ट्रिय सभाका सदस्य पनि भएका थिए।
चुनाव नलड्ने घोषणा गर्ने कांग्रेस नेताको सूचीमा अर्का केन्द्रीय सदस्य जिपछिरिङ लामा पनि थपिएका छन्। मंसिर २६ मा गृह जिल्ला दोलखामा नेता तथा कार्यकर्तासँग लामाले भने, ‘यदि म लड्ने भएँ भने यो सिट पक्कै पनि गयो। त्यसैले मैले तपाईंहरूलाई मौका दिएको हो। तपाईंहरू मिलेर अघि बढ्नुहोस् भनेर यो अवसर दिएको हुँ।’
नयाँ पुस्तालाई अवसर दिनका लागि आफूले चुनाव नलड्ने निर्णय गरेको उनको भनाइ छ। गृह जिल्लाका नेता तथा कार्यकर्तासँगको भेटमा लामाले भने, ‘नेता आफैँ मात्र लड्दा दुःख पाएका कार्यकर्ताको कहिल्यै पालो आएन। नेता नहुँदा नेताकी श्रीमती आउँदा झन् धेरै कार्यकर्ताले अवसर पाएनन्। त्यसकारण म चुनाव लड्दिनँ, तपाईंहरू लड्नुहोस्।’
७० वर्षीय लामा दुई पटक सांसद भइसकेका छन्। २०६४ सालमा संविधा सभा सदस्य बनेका थिए। त्यस्तै, उनी २०७९ सालको निर्वाचनमा दोलखाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। उनी तीन पटक कांग्रेसको केन्द्रीय सदस्य भइसकेका छन्।
Shares

प्रतिक्रिया