नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले विधानको व्यवस्था उल्टाउने निर्णयलाई मनपरीतन्त्र भन्दै त्यस विरुद्धको लडाइँ जारी रहेको बताएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार महाधिवेशनको बन्द सत्र सुरु हुनअघि केन्द्रीय कमिटीबाट पदाधिकारी संख्या बढाउने निर्णय गरेका थिए। त्यसप्रति इंगित गर्दै उपाध्यक्ष पाण्डेले मनपरीतन्त्र भनेका हुन्।
उपाध्यक्ष पाण्डेले फेसबुकमा लेखेका छन्, ‘के हाम्रा विधानहरू अस्थायी हुन् र? हिजो विधान अधिवेशनअगाडि संख्या घटाऔँ भन्ने, अनि आज फेरि कोटाका नाममा त्यही संख्या बढाऔँ भन्ने- यो सरासर मनपरी होइन भने के हो?’
अध्यक्ष ओलीले गरेको निर्णयले विधानको औचित्य समाप्त पारेको पाण्डेको भनाइ छ। ‘अहिले आएर दाँया-बाँया गर्ने हो भने विधान अधिवेशनको औचित्य नै समाप्त हुन्छ,’ पाण्डेले लेखेका छन्, ‘यो मनपरीतन्त्रको विरुद्धको लडाइँ जारी छ। पार्टी विधान, विधि र प्रक्रिया अनुसार चल्नु अनिवार्य छ।’
Shares

प्रतिक्रिया