राजनीति


समानुपातिक निर्वाचन प्रक्रिया सुरु, ‘फर्स्ट आवर’मै दलहरूले लगे १३५ निस्सा

समानुपातिक निर्वाचन प्रक्रिया सुरु, ‘फर्स्ट आवर’मै दलहरूले लगे १३५ निस्सा

नेपालखबर
पुस १३, २०८२ आइतबार १४:९, काठमाडौँ

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको औपचारिक प्रक्रिया सुरु भएको छ। निर्वाचन कार्यतालिका अनुसार आज र भोलि (पुस १३ र १४) गते राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको बन्दसूची पेश गर्नुपर्नेछ।

आइतबार आयोगको कार्यालय खुल्नासाथ कान्तिपथस्थित निर्वाचन आयोगमा दलका प्रतिनिधिहरू पुग्ने क्रम सुरु भएको छ। आयोगका सहप्रवक्ता एवं उपसचिव कुलबहादुर जीसीका अनुसार कार्यालय खुलेको केही समयभित्रै (फर्स्ट आवर) मा १३५ वटा निस्सा दलहरूले लगिसकेका छन्।

‘अहिलेसम्म १३५ वटा निस्सा दलका प्रतिनिधिले लगिसक्नुभएको छ र आउने क्रम जारी छ’, आयोगका सहप्रवक्ता जीसीले नेपालखबरलाई भने। निस्सा लैजानेमा नेपाल मजदूर किसान पार्टीलगायतका दलहरू रहेको उनले बताए।

के हो निस्सा र अबको प्रक्रिया?

आयोगबाट प्राप्त गरेको निस्सा (फोर्म्याट) मा दलहरूले आफ्ना सम्भावित उम्मेदवारहरूको पहिचान र विवरण यकीन गरी आयोगले तोकेको ढाँचामा अन्तिम नामावली पेस गर्नुपर्छ। यसरी प्राप्त नामावलीलाई आयोगले पछि प्रमाणीकरण गर्नेछ।

यसपटकको निर्वाचनका लागि कुल १०० वटा राजनीतिक दलले ९३ वटा चुनाव चिह्नमार्फत समानुपातिकतर्फ प्रतिस्पर्धा गर्न आयोगमा दर्ता गराएका छन्।

निर्वाचन कार्यतालिका र प्रक्रिया

आयोगले सार्वजनिक गरेको तालिका अनुसार समानुपातिकतर्फ आज र भोलि बन्दसूची पेश गर्ने समय हो। पेश भएका नामावली माथि पुस १५ देखि २० गतेसम्म आयोगले छानबिन गर्नेछ।

त्रुटि देखिएमा पुस २१ देखि २७ गतेसम्म दलहरूलाई सच्याउन वा मिलाउन समय हुनेछ। माघ ४ गतेमा  बन्दसूची प्रकाशन हुनेछ। आयोगले माघ २० गते उम्मेदवारको अन्तिम सूची प्रकाशन गर्नेछ। 

निर्वाचन प्रक्रिया सुरु भए पनि केही दलहरूले भने कार्यतालिका केही दिन पर सार्न सरकारलाई दबाब दिइरहेका छन्। शनिबार मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी निर्वाचन तालिका केही दिन पछि सार्न आग्रह गरेका थिए।

यद्यपि, आयोगले भने पूर्वनिर्धारित कार्यतालिका अनुसार नै आफ्नो काम अघि बढाइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad