नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनमा तालमेलका लागि प्रमुख दलहरूबीच घनिभूत छलफल भइरहेको जानकारी दिएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति खड्काले निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे ब्रिफिङ गरेका हुन्। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस नेतृ सुजाता कोइरालाले पनि कांग्रेसले गठबन्धनमा आफ्नो तर्फबाट ८ सिटको दाबी प्रस्तुत गरेको बताइन्।
'राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन हुने निश्चित छ। कार्यवाहक सभापतिज्यूले कांग्रेसले गठबन्धनका तर्फबाट ८ सिट दाबी गरेको ब्रिफिङ बैठकमा गर्नुभएको छ,' कोइरालाले भनिन्।
राष्ट्रिय सभाका रिक्त १८ सिटका लागि हुने यस निर्वाचनमा मुख्यगरी नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी जसपाबीच संवाद चलिरहेको छ। यी दलहरूबीच तालमेल गर्ने विषयमा सैद्धान्तिक सहमति जुटे पनि कुन दलले कति सिट लिने भन्ने विषयमा भने अन्तिम टुङ्गो लाग्न बाँकी छ।
विशेषगरी एमाले र कांग्रेसबीच कति सिट आदानप्रदान गर्ने भन्नेमा पेचिलो छलफल भइरहेको अवस्थामा आफ्नो बलियो उपस्थितिका लागि कोइरालाले ८ सिटको विषय सार्वजनिक गरेकी हुन्।
यो पनि: गुण्डुमा ओलीसँग पूर्णबहादुर र लेखकको छलफल, राष्ट्रिय सभामा तालमेलको समझदारी
Shares

प्रतिक्रिया