नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ। सोमबार बिहान ९ बजेदेखि ११ बजेसम्म ओलीनिवास गुन्डुमा भएको भेटमा राष्ट्रिय सभाको निर्वाचनबारे छलफल भएको हो।
ओलीसँग छलफल गर्न कार्यवाहक सभापति खड्का नेता रमेश लेखकसँगै गुण्डु पुगेका थिए। दुई दलले ओलीसँग राष्ट्रिय सभामा नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीबीच तालमेल गर्ने समझदारी भएको छ।
दुई दलले सिट बाँडफाँडबारे पनि मोटामोटी समझदारी गरेको गुण्डु स्रोतले जानकारी दिएको छ। माघ ११ गते राष्ट्रिय सभाका १८ सिटमा निर्वाचन हुँदै छ। जसमा कांग्रेसले ७ सिट, एमालेले ६ सिट, नेकपाले ४ सिट र उपेन्द्र यादव नेतृत्वको जसपाले १ सिट पाउने समझदारी बनेको छ।
छलफलमा कांग्रेसले भने ७ सिटमा सहमत भए पनि हरेक प्रदेशबाट एक-एक जना उम्मेदवार पाउनु पर्ने शर्त राखेको छ।
ओलीसँग सोमबारको छलफलमा भएको समझदारीबारे कार्यवाहक सभापति खड्काले सानेपास्थित पार्टी कार्यालयमा जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पनि ब्रिफिङ गरेका छन्।
स्रोतका अनुसार बैठकमा खड्काले आफूहरूले ८ सिट मागेको भए पनि ७ सिटमा सहमति गर्नु पर्ने हुनसक्ने बताएका छन्। उनले पनि आफ्नो पार्टीको माग हरेक प्रदेश समेट्ने गरी नै भएको बताएका छन्। यद्यपि यसबारेमा तीनै दलबीच मंगलबारसम्म समझदारी जुटाउने प्रयास भइरहेको छ।
यसअघि लेखकले नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राष्ट्रिय सभामा मिलेर जाने प्रस्ताव गरेका थिए। सो प्रस्तावप्रति प्रचण्ड सकारात्मक भएपछि कांग्रेसले सीट बाँडफाँटको प्रस्ताव अघि सारेको हो।
आइतबार एमाले अध्यक्ष ओली र प्रचण्डबीच ललितपुरमा छलफल भएको थियो। त्यसक्रममा पनि राष्ट्रिय सभामा मिलेर जाने विषयमा सहमझदारी जुटाउने प्रयास भएको नेताहरूले बताएका छन्।
अहिले पार्टी कार्यालयमा खड्काकै अध्यक्षतामा कांग्रेसको कार्यसम्पादन समितिको बैठक चलिरहेको छ। बैठकमा राष्ट्रिय सभाको निर्वाचन र पार्टी महाधिवेसनलाई लिएर उत्पन्न परिस्थितिबारे छलफल भइरहेको छ।
Shares

प्रतिक्रिया