राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पर्सा जिल्ला अधिवेशनमा प्रतिनिधिको सहभागितालाई लिएर विवाद उत्पन्न भएपछि मतदाता प्रक्रिया अवरुद्ध भएको छ।
रास्वपा जिल्ला नेतृत्वमा सहमति जुटाउन खोजिएको थियो। सर्वसम्मत रुपमा नेतृत्व चयन नभएपछि निर्वाचन प्रक्रिया थालिएको छ।
उम्मेदवारको अन्तिम नामावली जारीपछि मतदानको सुरु भएको थियो। तर, प्रतिनिधिलाई लिएर विवाद भएपछि मतदान अवरुद्ध भएको छ।
निर्वाचन अधिकृत डा. नन्दन यादवले प्रतिनिधिलाई लिएर विवाद भएको बताए। केही प्रतिनिधिले लेबी नतिरेको विवादले मतदान प्रक्रिया अवरुद्ध भएको जानकारी दिए।
जिल्ला सहसचिव कृष्ण पासवानका अनुसार मतदानमा जाने सहमतिपछि बन्द सत्रमा मतदान प्रक्रिया अघि बढाइएको थियो। तर समायोजन भएर आएका प्रतिनिधिमध्ये केहीले लेबी रकम नतिरेको भनी विवाद उठेपछि अहिले मतदान प्रक्रिया अवरुद्ध भएको पासवानको भनाइ छ।
सुरुवातमा सर्वसम्मति गर्न खोजेको जिल्ला सभापति बुद्धिप्रसाद पन्तले बताए। ‘सहमतिको प्रयास सफल हुन नसकेपछि उम्मेदवारको मनोयन पत्र दर्ता भई मतदान प्रक्रिया पनि अघि बढायौँ,’ पन्तले भने, ‘मतदानको सबै प्रक्रिया पूरा भइसकेपछि मतदान सुरु हुनै लाग्दा प्रतिनिधिले लेबी नतिरेको भन्ने कुरा उठेपछि विवाद भएर अहिले मतदान अवरुद्ध भएको हो।’
पर्सामा सभापतिका लागि सुशिल साह कानु र बुद्धिप्रसाद पन्त उम्मेदवार छन्। पन्त निवर्तमान सभापति पनि हुन्।
जिल्लाका १४ पालिकामध्ये ६ वटामा मात्रै नगर अधिवेशन भएका छन्। केन्द्रीय निर्वाचन समितिले ३० प्रतिशत नगर अधिवेशन सम्पन्न भएमा जिल्ला अधिवेशन गर्न पाउने परिपत्र गरेको थियो। त्यसकै आधारमा पर्सामा अधिवेशन सुरु भएको हो।
पन्तका अनुसार, वीरगञ्ज महानगरपालिका, सुखवा प्रसौनी गाउँपालिका, धोबिनी गाउँपालिका, जिराभवानी गाउँपालिका, पोखरिया नगरपालिका र बहादुरमाई नगरपालिकासहितका ६ वटामा मात्रै नगर अधिवेशन सम्पन्न भएको छ। कालिकामाई र पकहामैनपुर गाउँपालिकामा विवाद मिल्न नसकेपछि तदर्थ समिति गठन गरिएको हो।
त्यस्तै, जगरनाथ गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका, ठोरी गाउँपालिका, बिन्दवासिनी गाउँपालिका, छिपहरमाई गाउँपालिका र पर्सागढी नगरपालिकामा अधिवेशन हुन बाँकी छ।
Shares

प्रतिक्रिया