राजनीति


जनसम्पर्क समितिका १७ सभापति विशेष महाधिवेशनको विपक्षमा

जनसम्पर्क समितिका १७ सभापति विशेष महाधिवेशनको विपक्षमा

नेपालखबर
पुस २६, २०८२ शनिबार १९:३५, काठमाडौँ

नेपाली कांग्रेसका विभिन्न देशमा रहेका जनसम्पर्क समितिले नियमित महाधिवेशनका माध्यमबाट पार्टीलाई बलियो र एकतावद्ध बनाउन आग्रह गरेका छन्। शनिबार १७ देशका जनसम्पर्क समितिका सभापतिले एक संयुक्त अपिल जारी गर्दै विधानअनुसार १५ औं नियमित महाधिवेशन प्रक्रियालाई निरन्तरता दिनुपर्ने बताएका हुन्। 

‘कांग्रेसको आन्तरिक जीवनमा हामी अहिले अप्ठ्यारो परिस्थितिमा छौं। मुलुकमा फागुन २१ गते निर्वाचन घोषणा भैसकेको अवस्था छ। यस्तो बेला तपाईं हाम्रो आन्तरिक बेमेललाई थाँति राखेर मुलुक र पार्टी बलियो बनाउने दिशामा हामी अग्रसर हुनुपर्छ,’ जारी विज्ञप्तिमा भनिएको छ।

यो अझ बढी संगठित, एकताबद्ध र आपसी भाइचारा तथा हार्दिकता बढाएर अघि बढ्नुपर्ने समय भएकाले यस मर्मलाई बुझ्न उनीहरूले पार्टी नेतृत्वलाई आग्रह गरे। ‘आम निर्वाचनको प्रक्रिया सुरु भैसकेको वर्तमान अवस्थामा एकढीक्का भएर हामी चुनावी संग्राममा होमिनु पर्दछ। हामी अहिले १५औं महाधिवेशनको प्रक्रियामा जुटेका छौं। आगामी बैशाख २८ गतेदेखि ३१ गतेसम्म हुने नियमित महाधिवेशनले पार्टीलाई नयाँ जीवन र ऊर्जा प्रदान गर्नेछ। यसका लागि हालै मात्र नेपाली जनसम्पर्क समितिका कतिपय देशबाट नयाँ महाधिवेशन प्रतिनिधिहरू समेत चयन भैसक्नु भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

पार्टीको पुस १८ गते सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको निर्णयको सम्मान गर्दै अघि बढ्ने प्रतिवद्धतासमेत उनीहरूले जाहेर गरे। ‘नेपाली जनसम्पर्क समितिका सबै देशका सदस्य र प्रतिनिधि साथीहरू एकबद्ध भई पार्टी एकतालाई अक्षुण राख्दै आम निर्वाचनमा जुट्ने र आगामी बैशाख २८ गतेदेखि ३१ गतेसम्म हुने नियमित महाधिवेशनलाई सफल बनाउन सक्रियतापूर्वक लागिपर्ने विश्वाससहित पुनः एकपटक पार्टी हितका पक्षमा दृढतापूर्वक उभिन हार्दिक अपील गर्दछौं,’ उनीहरूले भनेका छन्।

नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूलाई संयमित भएर जिम्मेवारपूर्वक आफ्नो भूमिका निर्वाह गर्न र एक अर्काबीचको सम्मान भावलाई स्वीकार गरी अघि बढ्नसमेत विज्ञप्तिमार्फत अनुरोध गरिएको छ।

विशेष महाधिवेशनको विपक्षमा उभिनेमा जनसम्पर्क समिति भारतका सभापति बालकृष्ण पाण्डे, अमेरिकाका सभापति आनन्द विष्ट ,  बेलायतका सभापति युवराज गुरुङ, जापानका सभापति रोशन केसी, अस्ट्रेलियाका सभापति सुरेश गुरुङ, मलेसीयाका सभापति चोलाकान्त पंगेनी युएईका सभापति भुवानी प्रसाद तिमिल्सिना र साउदी अरबकाका सभापति अर्जुन थापा रहेका छन् ।

यस्तै बहराइनका सभापति शेरबहादुर रावत, बेल्जिएमका सभापति सुभाष गुरुङ, नेदरल्याण्डका सभापति शालिक गौतम, जर्मनीका सभापति शिखर खड्का, डेनमार्कका सभापति यादव बस्नेत, स्वीडेनका सभापति नवीन थपलिया, इजरायलका सभापति दिपिका भुसाल, क्यानडाका सभापति बुद्धिप्रकाश ओली र न्यूजल्याण्डका सभापति बुद्धिसागर घिमिरे पनि विशेष महाधिवेशनको विपक्षमा उभिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad