महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आइतबार (पुस २७) भृकुटीमण्डपमा नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन हुँदै छ। आइतबारबाट दुई दिनसम्म चल्ने विशेष महाधिवेशनका लागि देशभरबाट विशेष महाधिवेशन पक्षधर महाधिवेशन प्रतिनिधि काठमाडौँ आइपुगेका छन्।
विशेष महाविधेशनको माग गर्दै गत मंसिरमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले कांग्रेस केन्द्रीय कार्यालयमा हस्ताक्षर बुझाएका थिए। उनीहरुमध्ये अधिकांश काठमाडौँ आइपुगेको आयोजकको भनाइ छ।
विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाएका महाधिवेशन प्रतिनिधिमा केही जेनजी र युवा पनि छन्। कांग्रेसको विधानले ३० वर्षमूनिका १५ प्रतिशत युवा सहभागिता हुनुपर्ने व्यवस्था गरेको भए पनि त्यसअनुसार युवा महाधिवेशन प्रतिनिधि छैनन्। विशेष महाधिवेशनमा पनि जेनजी र युवा कमै देखिनेछन्।
किनकि, अहिले विशेष महाविधेशनमा आउने प्रतिनिधि पुरानै अर्थात २०७८ सालको १४औँ महाधिवेशनका लागि छानिएका प्रतिनिधि नै हुन्। त्यसले विशेष महाधिवेशन आउने महाधिवेशन प्रतिनिधिमा जेनजी त्यति धेरै नभएको तर केही संख्या रहेको विशेष महाधिवेशनका लागि जेनजी युवा परिचालन उपसमितिका संयोजक सचिन तिमल्सिना बताउँछन्।
कांग्रेसको विशेष महाधिवेशनमा सहभागी हुन देशका विभिन्न भागबाट आएका तिनै केही जेनजी र युवा प्रतिनिधिसँग नेपालखरबले कुराकानी गरेको छ। जेनजी प्रतिनिधि के सोचिरहेका छन्? कांग्रेसको विशेष महाधिवेशनले के गरोस् भन्ने चाहन्छन्?
देशलाई निकास दिने नेतृत्व आउनुपर्छ : करुणा कटुवाल
कांग्रेस विशेष महाधिवेशनका लागि धनकुटा जिल्लाबाट काठमाडौँ आइपुगेकी करुणा कटुवाल विशेष महाधिवेशनको हस्ताक्षरकर्ता पनि हुन। विशेष महाधिवेशनमा जेनजीलाई पनि निर्णायक तहमा समावेश गर्नुपर्ने करुणा बताउँछिन्।
‘यो विशेष महाधिवेशनमा विधान संशोधन गर्ने कुराहरूमा हाम्रो जेनजी पुस्ताको उमेर समूहलाई पनि निर्णय गर्ने स्थानमा समावेश गर्नुपर्छ’, उनी भन्छिन्।
पार्टीभित्र सबै कुरा एकद्वार प्रणालीबाट हुनुपर्ने उनी बताउँछिन्। यसले बढ्दो भ्रष्टचारलाई कम गर्न र राजनीतिक नियुक्ति भागबन्डाको आधारमा नभइ योग्यताको आधारमा गर्ने परिपाटी बसाल्न सहयोग पुग्ने उनको भनाइ छ।
त्यस्तै, अबको दिनमा पनि कांग्रेसमा जेनजीको प्रतिनिधित्व हुने गरी नीति तय गर्नुपर्ने उनको भनाइ छ। ‘हिजो पनि हामी लडेरै प्रतिनिधित्व गर्नै भनेर आएको हौँ। म २१ वर्षको उमेरमा धनकुटा जिल्लाबाट महाधिवेशन प्रतिनिधि चुनाव लडेरै जितेर आएको हो, अवसरै नपाको भन्ने त छैन’, करुणा भन्छिन्, ‘तथापि जुन हिसाबले जेनजीको प्रतिनिधित्व हुनुपर्ने थियो, त्यो चाहीँ हुन नसकेको हो। यो पुस्ताको मर्म र भावना बुझेर अगाडि बढ्ने कुरामा झकझक्याउँछौँ, विशेष महाधिवेशनबाट पनि निर्णय हुनुपर्छ।’
आफूले पनि विशेष महाधिवेशनमा जतिसक्दो धेरै जेनजीलाई पार्टीमा समावेश गरेर लग्ने कुरालाई एजेन्डाको रुपमा अगाडि बढाउने उनी सुनाउँछिन्।
विशेष महाधिवेशनले आउने चुनावमा कांग्रेस कुनै पनि दलसँग गठबन्धन नगरी अगाडि बढ्ने निर्णय गर्नुपर्ने उनी बताउँछन्। नीतिसँगै विशेष महाधिवेशनले कांग्रेसको नेतृत्व पनि फेर्नुपर्ने उनको भनाइ छ।
नेतृत्व परिवर्तनको अपेक्षा राखेकी करुणा भन्छिन्, ‘जुन नेतृत्वले नेपाली कांग्रेसलाई मात्र नभएर सिङ्गो देशलाई निकास दिओस्।’
अब अग्रजलाई सम्मान युवालाई प्रोत्साहन गर्ने नीति आउँनुपर्छ : पर्शुराम भट्ट
जेनजी पुस्ताका गोरखा क्षेत्र नम्बर १ का महाधिवेश प्रतिनिधि पर्शुराम भट्ट विशेष महाधिवेशनको पक्षमा उभिएर काठमाडौँ आइपुगेका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता समेत रहेका उनी जेनजी आन्दोलनमा उठाइएका सुशासन, पारदर्शिता र भ्रष्टचारको अन्त्य जस्ता मुख्य मुद्दाहरू कांग्रेसको विशेष महाधिवेशनमा पनि उठाउने बताउँछन्।
‘विशेष महाधिवेशनमा यी मागलाई हाम्रा नेताहरूले पनि सम्बोधन गर्नुहुन्छ भन्ने जेनजी साथीहरू लगायत नेपाली कांग्रेसमा आबद्ध धेरैको विश्वास छ’, पर्शुराम भन्छन्।
पुराना सबै जसो राजनीतिक दलमा सधै बुढो नेतृत्व रहँदै आएको उल्लेख गर्दै अब युवा आउनुपर्ने उनको भनाइ छ।
‘विशेषगरी हाम्रो दलमा अलिकति बुढाले मात्रै पार्टी सञ्चालन गरिरहेको भएर अब चाहीँ अग्रजलाई सम्मान युवालाई प्रोत्साहन भन्ने नीति आउँनुपर्छ’, उनी भन्छन्।
विशेष महाधिवेशनबाट कांग्रेसमा जेनजीको प्रतिनिधित्व हुनुपर्ने र गराउनु पर्ने उनी बताउँछन्।
‘महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा दाजुहरू लागिरहनु भएको छ, त्यसमा जेनजीको मर्म र भावना अनुसार नेपाली कांग्रेसलाई पनि गतिशील, परिवर्तनशील बनाउनुपर्छ’, पर्शुराम भन्छन्, ‘जेनजीले उठाएका जायज मागहरू अर्थपूर्ण ढङ्गले पार्टीमा उठाउनको लागि जेनजी पुस्ता र अरु युवा साथीहरूको प्रस्तुति हुनुपर्छ र गराउनै पर्छ।’
जेनजीको मर्म र भावना अनुसार विशेष महाधिवेशनमा पनि प्रतिनिधित्व गराउनुपर्ने उनी बताउँछन्। यससँगै जेनजीले उठाएका माग र मुद्दालाई पनि समेटेर लग्नुपर्ने बताउँदै उनी भन्छन्, ‘विशेष महाधिवेशनबाट कांग्रेस नेतृत्व सच्चिनुपर्छ।’
पुस्तान्तरण र नेतृत्व हस्तान्तरण आवश्यक छ : अर्चना लुइटेल
ओखलढुंगाकी युवा प्रतिनिधि अर्चना लुइटेल राजनीतिमा व्याप्त भ्रष्टचार, सुशासनको अभाव र बेरोजगारी जस्ता मुद्दाले युवामा असन्तुष्टि बढाएको बताउँछिन्। त्यसलाई सम्बोधन गर्न कांग्रेसले पुस्तान्तरण र नेतृत्व हस्तान्तरण गर्नुपर्ने उनको मत छ।
विशेष महाधिवेशनले पार्टीभित्र पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको परिपाटी बसाल्नुपर्ने उनको भनाइ छ। ‘सभापति शेरबहादुर देउवाले यो विशेष महाधिवेशनमा सामेल भएर स्वस्फुर्त रुपमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरण गर्नुभयो भने आगामी चुनावमा हामी शसक्त रुपमा जान सक्थौँ’, अर्चना भन्छिन्।
यससँगै भ्रष्टचारलाई लिएर कांग्रेसमाथि औला उठिरहेको हुँदा नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने र कसैले भ्रष्टचार गरेर कमाएको सम्पत्ति छ भने सरकारको नाममा आउनुपर्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। यसका लागि विशेष महाधिवेशनले नीतिगत निर्णय गर्नुपर्ने बताउँदै अर्चना भन्छिन्, ‘हाम्रो पार्टीका जनप्रतिनिधि र मन्त्री हुनु भएका सबै जनाको सम्पत्ति छानबिन हुनुपर्छ, आफैले सार्वजनिक गर्नुपर्छ।’
अब हुने नियमित महाधिवेशनमा जेनजी र युवाको प्रतिनिधि ६० प्रतिशन हुने गरी विशेष महाधिवेशनले व्यवस्था गर्नुपर्ने उनको तर्क छ।
नेतृत्वले समयको गतिलाई बुझ्नुपर्छ : मुकेश घिमिरे
सिन्धुली क्षेत्र नम्बर १ का युवा प्रतिनिधि मुकेश घिमिरे देशमा व्याप्त भ्रष्टचार र कुशासनविरुद्ध युवा पुस्ताले सडकमा उठाएका आवाजलाई पार्टीले आत्मसाथ गर्नुपर्ने बताउँछन्। त्यसका लागि विधान संशोधन गरेर नयाँ पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ।
‘जेनजी आन्दोलन जुन आवाज उठाएर भएको थियो, त्यो आवाज र भावनालाई विशेष महाधिवेशनले सम्बोधन गर्नुपर्छ भनेर हामी जेनजी उमेर समूहका साथीहरूले पनि यो मुद्दा बोकेर पार्टीको रुपान्तरण अभियानमा हस्ताक्षर गरेका छौँ, आवाज उठाएका छौँ। विशेष महाधिवेसनले त्यो भावनालाई बोक्नुपर्छ’, मुकेश भन्छन्।
विशेष महाधिवेशनले अन्तरिम नेतृत्व चयन गरी नियमित महाधिवेशनका लागि मार्गदर्शन गर्ने र कांग्रेसलाई नयाँ ढंगले रुपान्तरण गर्ने उनको अपेक्षा छ। त्यसका लागि नेतृत्व परिवर्तन हुनुपर्ने बताउँदै मुकेश भन्छन्, ‘नेतृत्वमा गगन थापा र विश्वप्रकाश शर्मा जस्ता युवा नेताहरूको सान्दर्भिकता बढ्दै गएको छ। नेतृत्वले समयको गतिलाई बुझ्नुपर्छ।’
विशेष महाधिवेशनले जेनजीको प्रतिनिधित्व बढाउने गरी निर्णय गर्नुपर्ने उनी बताउँछन्। कांग्रेसको विधानले ३० वर्षमूनिका १५ प्रतिशत प्रतिनिधिको सहभागिता हुनुपर्ने व्यवस्था गरेको भए पनि कम उमेरको मान्छेले के राजनीति गर्ला भनेर उपेक्षा हुँदै आएको उनको अनुभव छ।
‘जेनजी आन्दोलनले त्यो पुस्ता पनि राजनीतिक चेतका साथ समाज, राज्य र राजनीतिमा आफ्नो भूमिका खोज्न आउँदोरहेछ भन्ने कुरा देखाएको कारणले विशेष महाधिवेशनले जनसंख्याको अनुपातमा जेनजी पुस्ताको प्रतिनिधित्व गराउन उन्मुख हुनुपर्छ र त्यहि नै नेपाली कांग्रेसको आजको रुपान्तरणको लागि सबैभन्दा ठूलो सन्देश पनि हुन्छ,’ उनी भन्छन्।
उनी पार्टीभित्रको परम्परागत कार्यशैली पनि सुधार्नुपर्ने बाउँछन्। युवाले स्वदेशमै भविष्य सुनिश्चित भएको विश्वास हुने गरी राजनीतिक संस्कार विकास गर्नुपर्ने उनको भनाइ छ।
‘हिजो हामी गलत बाटो हिड्यौँ, हिजो हाम्रो कारणले जति बेथिति भयो, अब त्यसलाई निरन्तरता दिने होइन, रोक्नुपर्छ। नयाँ पुस्ताले देशमै सपना देख्न पाउनुपर्छ, भविष्य छ भन्ने कुराको सुनिश्चित्तता हुने गरी हाम्रो शासन प्रशासन चल्नुपर्छ। त्यसका लागि राजनीतिक नेतृत्वमा इमान र निष्ठा हुनुपर्छ,’ मुकेश भन्छन्, ‘यो भयो भने चाहीँ जेनजी आन्दोलनले उठाएको आवाजको पनि सम्बोधन हुन्छ। यसले देश र कांग्रेस दुइटैको भविष्यलाई सकारात्मक ढङ्गले योगदान गर्छ।’
Shares

प्रतिक्रिया