गृहमन्त्री ओमप्रकाश अर्यालले देशमा सुशासन कायम गर्दै तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सरकार माहोल तयार गरिसकेको बताएका छन्।
बुधबार जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री अर्यालले भने, ‘यो नागरिक सरकार भएकैले पनि नागरिक र युवा पुस्ताको जनभावना अनुरूप सहकार्य र समन्वयमा अघि बढिरहेको छ त्यसैले पनि यो सरकार निष्ठा र इमानदारिताबाट किञ्चित पछि हट्दैन।’
त्यस्तै, मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आजको गोष्ठीले मधेश प्रदेशको समग्र सुरक्षा अवस्था र आगामी निर्वाचनका लागि तय गरिनु पर्ने सुरक्षा रणनीति र निर्वाचन सफल पार्न फलदायी हुने विश्वास व्यक्त गरे।
मुख्यमन्त्री यादवले हालै तराईका केही क्षेत्रमा देखिन खोजेको धार्मिक साम्प्रदायिकता र जेनजी आदोलनपछि भएका भौतिक पूर्वाधारमा क्षति, लुटिएका हतियार र फरार कैदी बन्दी जस्ता सुरक्षा चुनौतीलाई गोष्ठीले सम्बोधन गरी समान धारणा बनाउने बताए।
मधेश प्रदेशका गृह, कानुन तथा सञ्चारमन्त्री फकिर महतोले प्रदेश प्रहरी ऐनको आवश्यकता औँल्याउँदै प्रदेश प्रहरी समायोजनको कार्य अघि बढ्न नसक्दा प्रदेश संरचनामा नदेखिने रूपले सुरक्षा चुनौती थपिँदै गएको बताए।
स्वच्छ नियमनका लागि खुला सिमाना चुनौतीको रूपमा देखा परेको बताउँदै मन्त्री महतोले जिल्ला प्रहरी, प्रदेश प्रहरीर सशस्त्र प्रहरीबीच समन्वयको आवश्यकता रहेको बताए।
Shares

प्रतिक्रिया