पूर्वी नेपालमा जेनजीका दुई समूह एक-अर्काबीच आरोपप्रत्यारोपमा उत्रिएका छन्। राष्ट्रिय परिवर्तन पार्टीले उज्यालो नेपाल पार्टीसँग एकता गरेपछि यो विवाद चर्किएको छ।
काउन्सिल अफ जेनजीका कोशी प्रदेश संयोजक उपार्जुन चाम्लिङले राजेश पोर्तेल नेतृत्वको राष्ट्रिय परिवर्तन पार्टीमाथि प्रश्न उठाएका छन्। त्यसलाई लिएर अध्यक्ष राजेशले आपत्ति जनाउँदै प्रतिवाद गरेका हुन्।
परिवर्तन पार्टीको पूर्वमा राम्रो पकड भएकाले गिराउनलाई उपार्जुनले अनेक कुरा गरिरहेको राजेको आरोप छ। जेनजी आन्दोलनमा दाहिने खुट्टा गुमाएका राजेश आफ्नो पार्टीविरुद्ध गलत प्रचार गरिएको बताउँछन्।
‘उपार्जुनको हर्क साङपाङसँग एकदम राम्रो सम्बन्ध छ। उहाँ हर्क साङपाङको जेनजी हो नि त। अब हाम्रो पूर्वमा राम्रो पकड भइसकेपछि कासरी हुन्छ हामीलाई तल देखाउन भूमिका खेल्या हो,’ राजेश भन्छन्, ‘दमकमा हामीले एकदमै बृहत कार्यक्रम गर्यौँ, त्यो देखेर पनि उनीहरूलाई डर लागिरहेको छ। त्यहि भएर हाम्राविरुद्ध गलत प्रचार गरिराख्नु भएको छ।’
पूर्वी नेपालमा राष्ट्रिय परिवर्तन पार्टीको राम्रो पठक भएको राजेशको दाबी छ। त्यसैलाई देखेर खलबलाउने कोसिस भइरहेको उनको भनाइ छ। ‘अस्ति धरानमा कार्यक्रम गर्दा पनि उपार्जुनजीले विरोध गर्नुभयो। पछि बुझ्दा थाहा भयो- हाम्रो पूर्वमा राम्रो पकड देखेर उनीहरूलाई अप्ठ्यारो पर्ने भइसकेपछि विरोध गर्नुभएको रहेछ’ उनी भन्छन्।
आफ्नो समूहले विभिन्न कार्यक्रम गर्दा विदेशमा बस्ने नेपालीले थोरैथोरै रकम सहयोग गर्ने गरेको उनी सुनाउँछन्। कार्यक्रमका लागि विभिन्न ठाउँमा जाँदा पनि स्थानीय बासिन्दाले सहयोग गर्ने गरेको राजेश बताउँछन्।
राजेश नेतृत्वको राष्ट्रिय परिवर्तन पार्टीले माघ १ मा उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गरेको छ। आगामी चुनावका लागि तत्काल संगठन विस्तार गर्न नसकिने भएकाले एकताका लागि सहमति गरिएको उनको भनाइ छ। ‘संगठन विस्तार गर्दै जाँदा गाह्रो हुने भयो। हामीले त नधान्ने भइसकेपछि अलिकति बलियो मान्छेसँगै जोडिएर जानुपर्छ भन्नेमा पुग्यौँ,’ राजेश भन्छन्, ‘राम्रै नियतले कुलमान घिसिङसँगै एकता गरेर जानुपर्छ भनेर हामीले एकता गरेका हौँ।’
अर्का, एकतासँगै राष्ट्रिय स्तरमा पनि आफूहरूको चर्चा हुन थालेपछि उपार्जुनको समूहले बदनाम गर्न खोजेको राजेशको भनाइ छ। ‘कुलमान घिसिङसँग मिसिँदा राष्ट्रिय मिडियामा राम्रो कुरा चलेपछि चाहिँ उपार्जुनले बदनाम गर्न खोजेको हो,’ उनी भन्छन्।
२०८१ सालतिरै पार्टी बनाएको उपार्जुनको भनाइ छ। राजश भने परिवर्तन दल र राष्ट्रिय परिवर्तन पार्टी फरक भएको बताउँछन्।
राष्ट्रिय परिवर्तन पार्टी जेनजी आन्दोलनपछि गत कात्तिक ३० मा दर्ता भएको छ। पार्टी दर्ताको लागि अजय राईसहित २१ जना बसेर निर्णय गरिएको उनको भनाइ छ। त्यसको प्रमाण उपार्जुनलाई समेत पठाएको उनी सुनाउँछन्।
पार्टी गठन हुनुभन्दा अघि नै सामाजिक कार्य गरेको उनको भनाइ छ। त्यतिवेला जेनजी युनाइटेड समूहमार्फत इलाममा सहयोग गरेको उनी बताउँछन्।
अहिले आफ्नो पार्टीमा जेनजी युनाइटेड, पश्चिमको जेनजी २.०, जेनजी घाइते, सहिद परिवारलगायत जोडिएको उनी सुनाउँछन्। जेनजी आन्दोलनका घाइते राजेशका अनुसार, अहिले राष्ट्रिय परिवर्तन पार्टीमा सक्रियमध्ये ३६ जना घाइते, १२ जना सहिद परिवारका सदस्य छन्।
उपार्जुनले भने बिहीबार सामाजिक सञ्जालमार्फत कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँग एकता गरेको राष्ट्रिय परिवर्तन पार्टीलाई शंकास्पद भन्दै ध्यानाकर्षण गराएका छन्। राष्ट्रिय परिवर्तन पार्टीको पारदर्शिता, आर्थिक स्रोत र विदेशी शक्तिको प्रभाव रहेको भन्दै उपार्जुनले प्रश्न गरेका छन्।
उनले जेनजी घाइते र सहिदहरूको भावनालाई राजनीतिक स्वार्थका लागि प्रयोग नगर्न सचेत गराउँदै तीन मुख्य सर्तहरू अघि सारेका हुन्। एकता गरे पनि उनीहरूले आफ्नो उद्देश्य र सांस्कृतिक दृष्टिकोणबारे सार्वजनिक रुपमा प्रतिबद्धता नजनाएमा कोशी प्रदेश भरि सशक्त वहिस्कार गर्ने उपार्जुनले चेतावनी दिएका छन्।
पूर्वी नेपालमा देखिएको दुई समूहको विवादमा उज्यालो नेपाल पार्टीले भने कुनै प्रतिक्रिया दिएको छैन। उज्याको नेपालका प्रवक्ता राजु थापा भन्छन, ‘अहिले हाम्रो त्यसमा केहि कमेन्ट छैन।’
Shares

प्रतिक्रिया