नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आम निर्वाचन घोषित मितिमै हुने भन्दै कसैले आशंका नगर्न नहुने बताएका छन्।
शुक्रबार चितवनमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले यस्तो बताएका हुन्। उनले मुलुक जटिल र चुनौतिपूर्ण परिस्थितिमा रहेको भन्दै यसको समाधान निर्वाचन एकमात्र विकल्प भएको बताए।
संयोजक दाहालले गत भदौ २३ र २४ गतेको जेनजी विद्रोह र विध्वंसपछि देश असाधारण अवस्थाबाट गुज्रिरहेको भएपनि विस्तारै राजनीतिक प्रक्रिया अगाडि बढ्न थालेको बताए।
उनले आफूले बिहीबार काठमाडौंमा प्रत्यक्षतर्फको निर्वाचनको लागि टिकट समेत वितरण गरेर आइसकेको भन्दै निर्वाचन हुने नहुने भन्ने प्रश्नमा अल्झिनुभन्दा राम्रो तयारीका साथ अघि बढ्न अपिल गरे।
उनले भने, ‘मैले त आफ्नो दलको तर्फबाट हिजोदेखि टिकट बाँड्न सुरु पनि गरिसकेँ। हिजो काठमाडौंमा टिकट बाँडेर आएको। सरकारले जे गरिरहेको छ, राजनीति दलहरू पनि अगाडि बढिरहेका छन् र जनता पनि चुनावी मानसिकतातिर अगाडि बढिसकेको हुनाले चुनाव हुन्छ। म तपाईंहरुलाई पनि चुनाव हुन्छ कि हुन्न भन्ने प्रश्न मनमा ल्याउनुभन्दा चुनावको राम्रो तयारीका साथ अगाडि बढ्न अपिल गर्न चाहान्छु। चुनाव हुनैपर्छ, अर्को कुनै विकल्प छैन।’
मुलुक, संविधान र व्यवस्थाको रक्षाका लागि आफूहरुले ठूलो संघर्ष गर्नुपरेको स्मरण गर्दै उनले निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सहयोग गर्न समेत अपिल गरे।
Shares

प्रतिक्रिया