राजनीति


चर्चित अनुहार जसले बदले निर्वाचन क्षेत्र

चर्चित अनुहार जसले बदले निर्वाचन क्षेत्र

नेपालखबर
माघ ४, २०८२ आइतबार १९:४८, काठमाडौँ

प्रतिनिधि सभाको आगामी फागुन २१ गते तय भएको चुनावका लागि उम्मेदवार चयन प्रक्रियामा दलहरू केन्द्रित छन्। यदि समय हेरफेर नभएमा माघ ६ गते उम्मेदवारी दर्ता गर्ने निर्वाचन आयोगले कार्यतालिका प्रकाशित गरिसकेको छ। 

यसैलाई आधार मानेर दलहरू उम्मेदवार टुंगो लगाउन आन्तरिक छलफलमा छन्। केही दलले उम्मेदवार चयन गरिसकेका छन्। 

नेकपा (एमाले) ले शनिबार सचिवालय बैठक राखेर उम्मेदवार टुंगो लगाएको छ। प्रतिनिधि सभाको १६५ मध्ये २३ वटा क्षेत्रमा अध्यक्ष केपी शर्मा ओलीले निर्णय गर्नेगरी बाँकी १४२ क्षेत्रमा एमालेले उम्मेदवार छानिसकेको सचिव महेश बस्नेतले जानकारी दिए। ओलीलाई प्रधानमन्त्री घोषणा गरेर चुनावमा जान लागेको उनले बताए। 

आन्तरिक विवादका कारणले कांग्रेसले सोमबार मात्र उम्मेदवार चयन गर्ने भएको छ। सभापति गगन थापासहितका नेताहरू उम्मेदवार टुंगो लगाउन छलफलमा छन्। 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले अधिकांस निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाइसकेको छ। नेताहरूका अनुसार सोमबारसम्म सबै क्षेत्रका उम्मेदवार तय गर्ने प्रयास भइरहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि उम्मेदवार टुंगो लगाउन आइतबार दिनभर छलफल गरेको छ। राप्रपा, जसपा नेपाल र नयाँ दलले पनि उम्मेदवारबारे निर्णय गर्दै छन्। 

एमाले, नेकपा, रास्वपालगायत दलका केही चर्चित नेताले निर्वाचन क्षेत्र बदलेर उम्मेदवारी दिँदै छन्। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले यसपटक गोरखा-२ छोडेर रुकुम पूर्व रोजेका छन्। माओवादी आन्दोलनको उद्गम थलो मानिने यो क्षेत्र प्रचण्डका लागि तुलनात्मक रूपमा सुरक्षित मानिन्छ। २०७४ सालमा चितवन-३ बाट चुनाव जितेका प्रचण्ड २०७९ सालमा गोरखा पुगेका थिए।

नेकपाकै वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ सर्लाही-३ पुगेका छन्। गण्डकीबाट राष्ट्रिय सभा सदस्य जितेका उनी कार्यकाल सकिएपछि प्रतिनिधि सभाको चुनाव लड्न सर्लाही झरेका हुन्। 

नेकपाका अर्का नेता देवेन्द्र पौडेल पनि यसपटक निर्वाचन क्षेत्र परिवर्तन गरेर नवलपरासी पश्चिम झरेका छन्। यसअघि उनी बागलुङ-२ बाट निर्वाचित भएका थिए।

एमालेका सचिव भानुभक्त ढकाल मोरङ-३ छोडेर तेह्रथुम जाने भएका छन्। एमालेको सचिवालय बैठकले उनको निर्वाचन क्षेत्र परिवर्तन गर्ने निर्णय गरेको हो।  

त्यसो त एमाले उपाध्यक्ष विष्णु पौडेलको पनि निर्वाचन क्षेत्र परिवर्तन गरी रुपन्देही-२ बाट पाल्पा २ मा चुनाव लड्ने निर्णय भएको थियो। तर, कार्यकर्ताको दबाबका कारण रोकिएको छ।

निर्वाचन क्षेत्र बदल्ने अर्की नेतृ हुन रास्वपाकी सोविता गौतम। २०७९ सालमा काठमाडौँ-२ बाट चुनाव जितेकी उनी चितवन-३  झरेकी छन्।

यो क्षेत्रमा भरतपुर महानगरपालिकाकी मेयर रहेकी रेनु दाहाल पनि उठ्ने भएकी छन्। गौतमले किन क्षेत्र बदलेकी हुन् भन्ने प्रष्ट छैन। पार्टीले नै उनलाई क्षेत्र परिवर्तन गरेर चितवन लगेको रास्वपाका नेताहरू बताउँछन्।

गौतमले जितेको काठमाडौँ-२ मा रास्वपाकै सहमहामन्त्री विपीन आचार्य उम्मेदवार बन्ने भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad