राजनीति


शंकर पोखरेलको दाबी: एमाले पहिलो पार्टी बन्छ, मुख्य प्रतिस्पर्धी कांग्रेस

शंकर पोखरेलको दाबी: एमाले पहिलो पार्टी बन्छ, मुख्य प्रतिस्पर्धी कांग्रेस

एमाले महासचिव शंकर पोखरेल। तस्बिर: सरोज शाही/नेपालखबर


नेपालखबर
माघ १६, २०८२ शुक्रबार १४:२२, काठमाडौँ

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आगामी प्रतिनिधि सभाको निर्वाचनबाट एमाले पहिलो पार्टी बन्ने दाबी गरेका छन्। 

शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले एमाले पहिलो स्थानमा आउने दाबी गरेका हुन्। भदौ २३ र २४ को घटनालाई हेर्ने दृष्टिकोणमा एमाले एक्लो तर बलियो रहेको जिकिर गर्दै उनले भने, ‘विगतमा २७ प्रतिशत लोकप्रिय मत थियो, यसपटक ३०–३४ प्रतिशत पुग्ने अनुमान छ। मत विभाजनले बहुमत वा लार्जेस्ट पार्टी बन्ने सम्भावना उच्च छ।’

आगामी चुनावमा मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस रहेको आकलन छ। प्रचार कम भएकै कारण कांग्रेसलाई कमजोर ठान्नु नहुने बताउँदै उनले भने, ‘यो देशको सबैभन्दा पुरानो पार्टी हो, जसको तल्लो तहका कमिटीहरूमा बलियो आधार छ। साइलेन्ट मतदाता (चुपचाप मत दिने, प्रचारमा नदेखिने तर निर्णायक हुने) को ठूलो हिस्सा कांग्रेसकै पक्षमा रहन्छन्।’

हालका राष्ट्रिय सभा निर्वाचनको परिणामले पनि कांग्रेसको आधार बलियो रहेको प्रमाणित गरेको उनको भनाइ छ। ‘शहरी क्षेत्रमा रास्वपा कमजोर हुँदा कांग्रेसले फाइदा लिनसक्छ, ग्रामीणमा त यसको जरा पहिल्यै गहिरो छ। प्रचार कम गरे पनि संगठन र मतदाता आधारले कांग्रेसलाई मजबुत बनाइराख्छ,’ उनले भने। 

शहरी क्षेत्रमा रास्वपाको प्रभाव घट्दै भएको उनको अनुमान छ। काठमाडौँ जस्ता प्रमुख शहरहरूमा रास्वपाको शुरुवाती जोश अब कमजोर हुँदै गएको बताउँदै पोखरेलले भने, ‘रास्वपाको जन्म र उदय मुख्यतः शहरी युवा, शिक्षित तथा मध्यम वर्गको असन्तुष्टिबाट भएको थियो। बालेन शाहको मेयर जित र रवि लामिछानेको लोकप्रियताले ठूलो प्रभाव पारेको थियो। तर हाल सहकारी ठगी जस्ता मुद्दा, संगठनात्मक कमजोरी र युवा मत फरक दिशामा जाने सम्भावनाले गर्दा शहरी मत घट्छ।’

ग्रामिण क्षेत्रमा भने रास्वपाको प्रभाव पहिलेको तुलनामा बढेको देखिएको उनले बताए। ‘पार्टीले गाउँगाउँमा संगठन विस्तार गरेको छ। युवा तथा स्थानीय असन्तुष्टिमा ध्यान दिएको छ र जागरण फैलाएको छ। मत प्रतिशतमा सुधार आउने सम्भावना छ। तर यो प्रभाव चुनाव जित्ने तहसम्म पुगेको छैन,’ पोखरेलले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad