जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले देखिएका राष्ट्रिय समस्या समाधानका लागि संविधान संशोधन वा पुनर्लेखन गर्नुपर्ने बताएका छन्।
शुक्रबार सप्तरी-३ मा चुनावी अभियानका क्रममा यादवले देश र जनताको चाहना तथा आवश्यकता अनुसार संविधान संशोधन वा पुनर्लेखर गर्नुपर्ने बताएका हुन्।
‘आजको नेपाल पुरानै संवैधानिक संरचनामा अड्किएको छ, जसले न स्थायित्व दिएको छ न त न्याय। राजनीतिक अस्थिरता, कमजोर संघीयता र पहिचानको अभावले युवा पुस्ताको भविष्य अन्योलमा छ,’ यादवले भने, ‘शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीलाई परिवर्तनका साथै राष्ट्रिय समास्याहरूको समाधान गर्न संविधान संशोधन वा पुनर्लेखन गरेर देशलाई निकास दिन पर्दछ।’
राज्य पुनर्सरचना उच्चस्तरीय आयोग-२०६८ को प्रतिवेदनअनुसार, जातीय पहिचानसहित प्रदेश संरचना लागू गर्नुपर्ने बताए। त्यसका लागि जसपा नेपाल अडिग रहेको उनको भनाइ थियो।
उनले संघीयता र नयाँ पुस्ताको परिवर्तनको माग विरुद्ध कुनै सम्झौता गर्न नहुने बताए। ‘संघीयतालाई कागजको होइन, व्यवहारको बनाउने हाम्रो दृढ अडान हो,’ यादवले भने, ‘अबको यो परिवर्तन सत्ताको लागि होइन, नयाँ पुस्ताको सुन्दर भविष्यका लागि हो, त्यसमा जसपा नेपाल दृढ छ।’
Shares

प्रतिक्रिया