राजनीति


म त जहाजै उडाउन सक्छु भन्दै यात्रुले पाइलट सिटमा बस्न मिल्दैन: केपी ओली

काठमाडौँमा बसेका कार्यकर्तालाई निर्वाचन क्षेत्रमा गएर चुनाव प्रचारमा लाग्न निर्देशन
म त जहाजै उडाउन सक्छु भन्दै यात्रुले पाइलट सिटमा बस्न मिल्दैन: केपी ओली

नेपालखबर
माघ २२, २०८२ बिहिबार ७:२४, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यात्रीको रूपमा चढेको व्यक्तिले जहाज चलाउछु भन्ने कुरा असान्दर्भिक मात्र होइन जोखिमपूर्ण हुने बताएका छन्। 

प्रतिनिधिसभा निर्वाचनमा आफूसँग झापा ५ मा प्रतिस्पर्धा गर्ने तयारीमा रहेका काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह (बालेन)प्रति लक्षित गर्दै ओलीले यस्तो अभिव्यक्त दिएका हुन्।

पार्टीको झापा-काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले बालेनको नाम नदिइ विभिन्न व्यक्तिहरूले आफूलाई प्रधानमन्त्रीको उम्मेदबार भन्दै प्रचार गरेको बताए। अनुभव नभएका र देश चलाउने सोचै नभएका व्यक्तिहरूबाट देश नचल्ने उनको तर्क थियाे।

‘जहाजमा यात्रुको रूपमा रहेको व्यक्तिले म त जहाजै उडाउन सक्छु  भनेर पाइलट सिटमा बस्यो भने के हुन्छ?’ अध्यक्ष ओलीले प्रश्न गरे, ‘त्यस्तो जहाजमा कोही चढ्लान् त? झुक्किएर कोही चढीहाले भने पनि उसको अवस्था के होला? त्यसकारण अहिले सबैले सोचबिचार गरेर निर्णय गर्नुपर्ने समय आएको छ।’

उनले काठमाडौँ बाहिर मतदाता नामावली भएका नेता कार्यकर्तालाई निर्वाचन प्रचार प्रसारका लागि आआफ्नो निर्वाचन क्षेत्र फर्कन निर्देशन दिए। ‘तपाईंहरु विभिन्न पेशा व्यावशाय गर्न काठमाडौं आउनु भएको छ। अहिले निर्वाचनको माहोल छ’ अध्यक्ष ओलीले भने,  ‘समय निकालेर निर्वाचन क्षेत्र जानुहोस्। पार्टीको पक्षमा माहोल बनाउनुहोस । आफन्त भेट्नुहोस । साथीभाइसँग बस्नुहोस । पार्टी र नेतृत्व विरुद्धका भ्रमहरू चिर्नुहोस।’

अध्यक्ष ओलीले निर्वाचन दुई चरणमा गर्ने कुरा कुनै हालतमा पनि स्विकार नगर्ने बताए।  ‘प्रधानमन्त्रीले हिमालमा हिंउ पर्यो भने निर्वाचन दुई चरणमा हुन्छ भनेको सुनें। यो कुनै हालतमा पनि स्विकार्य हुदैन’ उनले भने,  ‘पोहोर हिएँद भन्दाअघि जन्मेको बच्चालाई हिउँदमा हिउँ पर्छ भन्ने कुरा थाहा हुन्छ। अनि निर्वाचनको मिति तोक्ने बेलामा थाहा थिएन हिउँदमा चिसोले निर्वाचन हुँदैन भन्ने कुरा?’

अध्यक्ष ओलीले निर्वाचन शतप्रतिशत निष्पक्ष र धाँधली रहित हुनु पर्नेमा जोड दिए। ‘निर्वाचनको तयारी निष्पक्ष,मतदान विना डर त्रास र प्रलोभनमा हुनुपर्दछ’ अध्यक्ष ओलीले भने, ‘मतपेटिका एक सेकेण्ड पनि पार्टीका प्रतिनिधीको अनदेखा हुँनुहुदैन। त्यसमा सबै चनाखो हुनुहोस्।’
 
अध्यक्ष ओलीले एमालेले निर्वाचन शानदार ढंगले जित्ने भएको सबै कार्यकर्तालाई उच्च मनोबलका साथ प्रचारमा लाग्नुपर्ने बताए।  ‘विभिन्न फिरंगीहरु आउन सक्छन्। त्यस्तालाई चिन्नुहोस।’ अध्यक्ष ओलीले भने, ‘हामीले गरेका विकास निर्माणका काम,सुशासनका काम,जनचेतनाका काम जनतालाई भन्नुहोस । मतदाताको मन जित्ने गरी काम गर्नुहोस।’

कार्यक्रममा पार्टीका सचिव एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमन्त्री अग्नी खरेल लगायतले पनि कार्यकर्तालाई निर्वाचन क्षेत्र केन्द्रित हुन आग्रह गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad