गृह मन्त्रालयले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई प्रभावकारी रूपमा जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएको छ।
गृहले प्रेस विज्ञप्ति जारी गरी सबै सहायक प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको हो। निर्वाचन आयोगले सहायक प्रमुख जिल्ला अधिकारीलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकेत तोकेको छ।
प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी एवं विश्वसनीयरुपमा सम्पन्न गर्न निर्वाचन आयोगले माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ। गृह सचिव राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा सबै सहायक प्रमुख जिल्ला अधिकारीलाई आयोगले प्रदान गरेको निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी प्रभावकारी ढङ्गमा निर्वाह गर्न भनिएको छ।
‘आयोगद्वारा प्रदान यस जिम्मेवारीलाई कार्यान्वयन गर्न गराउन निष्पक्ष र निर्भीक भई कार्य गर्नुहुनेछ भन्ने विश्वास गृह मन्त्रालयले लिएको छ र सबै निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको रूपमा सम्पादित कार्यहरूको प्रतिवेदन मन्त्रलायमा समेत उपलब्ध गराउन अनुरोध गर्दछ,’ गृहले भनेको छ।
जिल्लास्तरमा आचारसंहिता पालना गर्न गराउन आयोगले सहायक प्रमुख जिल्ला अधिकारीलाई जिल्लाको आर्थिक विषय क्षेत्रबाहेकका अन्य विषयमा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेको छ।
Shares

प्रतिक्रिया