जेनजी आन्दोलनकी अगुवा तनुजा पाण्डेले आफ्नो अयोग्यता स्वीकार्न नसक्नेहरूले असफलताको दोष विदेशी हस्तक्षेपलाई दिने गरेको जिकिर गरेकी छन्।
सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो विचार राख्दै पाण्डेले भनेकी छन्, ‘आफ्नै अयोग्यता स्वीकार्ने साहस नभएकाहरूका लागि हरेक असफलताको दोष विदेशी हस्तक्षेपलाई दिनु सजिलो डिफेन्स हो।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले विदेशी हस्तक्षेपका कारण काठमाडौँको फोहोर व्यवस्था गर्न नसकेको अभिव्यक्ति दिएका थिए। त्यसमा आफ्नो भनाइ राख्दै पाण्डेले कटाक्ष गरेकी हुन्।
फोहोर व्यवस्थान गर्न नसक्नले देश बनाउने आश नगर्न उनले आग्रह गरेकी छन्। ‘विदेशी हस्तक्षेपको बहानामा एउटा फोहर व्यवस्थापन समेत गर्न नसक्नेहरूले भोलि देश बनाइदिन्छन् भनेर धेरै विश्वास नगरौँ,’ पाण्डेले भनेकी छन्।
काम गर्न नसकेर विदेशी हस्तक्षेप भन्नेहरूमाथि विश्वास गर्न नहुने उनको तर्क छ। ‘अनि, यदि तपाईंले काम गर्न नपाउनुको कारण विदेशी हस्तक्षेप हो भने, अरूले पनि काम गर्न नपाउनुको कारण त विदेशी हस्तक्षेप नै होला नि’, पाण्डेले भनेकी छन्, ‘बोल्नेहरूभन्दा पनि पत्याइदिनेहरू देखेर झन् अचम्म लाग्छ।’
विदेशी रुचीलाई नेपालको हित अनुकूल प्रयोग गर्न सकिने नेतृत्व चाहिएको उनको भनाइ छ। ‘नेपाललाई यस्ता नेतृत्व चाहिएको छ, जो फरिजन इन्टेरेस्टलाई हाम्रो राष्ट्रिय हित अनुकूल प्रयोग गर्न सकून्,’ उनले भनेकी छन्।
Shares

प्रतिक्रिया